
जगतमाया तामाङको टहरोमा ६ दिनपछि बिहीबार बल्ल खाना पाक्यो ।
त्यसअघि अघिल्लो शुक्रबार मात्रै खाना बनाएको उनलाई सम्झना छ । आफन्तहरूले दिएको केही किलो चामल र दालको भरमा उनको चुल्हो बल्यो ।
सूर्यविनायक नगरपालिका वडा नम्बर २ मा पर्ने गोदावरी खोला छेउमा जगतमायाको सानो टहरो थियो । जग्गासहित १३ हजार मासिक भाडा तिर्ने गरी ४ लाख रुपैयाँमा प्लास्टरसहितको टहरो बनाएकी थिइन् ।
टहरोकै पासमा गोठ बनाएर २ वटा पाडी, १२ वटा बाख्रा र केही कुखुरा पाल्दै आएकी थिइन् ।

गत शुक्रबार राति आएको बाढीले जगतमायाको टहरोसहित उनको आम्दानीको स्रोत पनि बगाएर लग्यो । अहिले उनलाई एउटा मिर्गौला फेल भएका श्रीमान् किताबसिंह गुरुङको चिन्ताले सताएको छ ।
‘सबै बढीले बगाएर लग्यो । अब यही श्रीमान् छन् । त्यो पनि एउटा मिर्गौला फेल भएका,’ उनले सुनाइन्, ‘काम गर्न सक्दैनन् । अब कसरी बस्ने यो ठाउँमा ?’
बाढीले १० वटा खसी/बाख्रा र ११ वटा कुखुरा बगाएको उनले बताइन् । यसका साथै जसोतसो जोहो गरेको अन्नपात र लत्ताकपडा पनि बाढीले बगाएर लग्यो ।

राति १ बजे बाढी पस्दा बुढाबुढीले बल्लतल्ल ज्यान जोगएका थिए । एक्कासि बाढी आइसकेकाले कुखुरा/बाख्राको खोरतिर जानै भ्याएनन् । अहिले यही कुराले उनलाई पिरोलिरहेको छ ।
‘राति अचानक पानी भित्र छिर्न थाल्यो । बुढालाई ब्युँझाएर रोडतर्फ भाग्यौं । खोरमा बाख्रा त्यत्तिकै बाँधेकै थिए । फेरि जान पनि सकिएन । पानी घाटीभन्दा माथि पुगिसकेको थियो’, उनले सुनाइन्, ‘रातभरि सुतेनौं । शनिबार बाढीले छाडेपछि मरेका बाख्रा देखेर रुनुबाहेक विकल्प रहेन ।’
भएका खसी बेचेर दशैं मान्ने योजना थियो । दशैंको मुखमा सपना चकनाचुर भयो । अहिले जसोतसो बाँच्न सफल २ भैँसी र २ वटा बाख्रा मात्र उनीहरूको साथमा छन् । ४ वर्षदेखि गोदावरी खोला छेउमै जग्गा भाडामा लिएर बस्दै आएका गजतमाया र किताबसिंहले यस्तो भयावह अवस्था देखेका थिएनन् ।
***
खोला छेउमै एक रोपनी १२ आना जग्गा भाडामा लिएर बसेकी वविता श्रेष्ठका पनि ५ वटा बाख्रा बाढीले बगायो । १३ वटा कुखुरा खोरभित्रै मरे । बचे त केवल उनका ३६ वटा हाँस ।
गत बिहीबार नै श्रेष्ठ आफ्ना दुई छोराहरूलाई लिएर जडिबुटीस्थित आफन्तकोमा बस्न गएकी थिइन् ।
अघिल्लो दिनदेखि निरन्तर पानी परिरहेकाले उनका पति मात्र पशुपन्छीको रेखदेखका लागि टहरोमा बसेका थिए । शुक्रबार मध्यरातमा उनको टहरोभित्र पानी छिर्यो । बुढाले सुरक्षित स्थानमा गएर ज्यान जोगाए ।

शनिबार बिहान टहरोमा आइपुग्दा बाढी कुदिरहेको थियो । खोरमा बाँधिएका बाख्रा र थुनिएका कुखुरा त्यहीँ मरे । बाढीले पुर्याएको अकल्पनीय क्षति हेरेर रुनुशिवाय उनीसामु कुनै विकल्प बाँकी रहेन ।
‘एक दिनअघि नै छोरालाई आफन्तकोमा लगेर बसको थिएँ । भोलिपल्ट सबै डुबाइसकेको थियो’, वविताले भनिन्, ‘त्यो माथिको पुलबाट हेरेर बसें । सबै बगाइसकेको थियो । त्यत्रो बाख्रा मरे । कुखुरा पनि मरे ।’
जगतमाया र वविता प्रतिनिधि पात्र मात्र हुन् । खोला आसपासका बस्तीमा बाढीले पुर्याएको क्षति निकै भयावह छ ।



