पश्चिम नवलपरासीको क्षेत्र नम्बर १ (२) बाट निर्वाचित नेपाली कांग्रेसका देवकरणप्रसाद कलवार लुम्बिनी प्रदेशको वन तथा वातावरण मन्त्री बनेका छन् ।
निर्मला कुर्मीको अपहरण र हत्याको आरोप लागेका कांग्रेस सांसद बादशाह कुर्मीले राजीनामा दिएपछि उक्त मन्त्रालयको नेतृत्व गर्ने अवसर कलवारले पाएका हुन् ।
संसदमा कमै उपस्थित हुने ७२ वर्षका कलवार कांग्रेसको संस्थापन समूहबाट मन्त्री बनेका हुन् ।
कलवार प्रदेशसभाको चारवटा अधिवेशनका ६१ बैठकमध्ये ३१ वटामा मात्र उपस्थित भएको प्रदेशसभा सचिवालयको तथ्यांकमा देखिन्छ ।
प्रदेशसभामा कम उपस्थित हुने सांसदमध्ये उनी दोस्रो नम्बरमा पर्छन् । उनी पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकास्थित गुठी प्रसौनीका हुन् ।
बाँके क्षेत्र नम्बर ३ (२) बाट निर्वाचित कुर्मीले चौतर्फी विरोध र केन्द्रको दबाबपछि भदौ २५ गते पदबाट राजीनामा दिएका थिए ।
मुख्यमन्त्री चेतनारायण आचार्यले लामो रस्साकस्सीपछि कांग्रेसका कलवार र जन्मजय तिमिल्सेना (बर्दिया) तथा जसपाका आदेश अग्रवाल (बाँके)लाई मन्त्री बनाए पनि सरकारले अझै पूर्णता पाउन सकेको छैन ।
तिमिल्सेना पहिलो चरणमै मन्त्री हुने निश्चितजस्तै भए पनि अन्तिम चरणमा आएर रोकिएको थियो ।
पदभार ग्रहण गर्दै मन्त्री कलवारले वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेका परिवारलाई १० लाख र घाइतेलाई अवस्था हेरेर उपचार र राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको उनका स्वकीय सचिव रवीन्द्र जैसवालले जानकारी दिए ।
त्यस्तै, उनले वन क्षेत्रको विकास र वातावरण सन्तुलनमा योगदान पुर्याउने गरी किसानलाई प्रोत्साहन गर्ने पनि बताएका छन् ।
वि.सं. २०३७ देखि कांग्रेसको राजनीति गरेका कलवार २०४९ र २०५६ मा दुईपटक तत्कालीन गाविस अध्यक्ष भए । २०६४ को पहिलो संविधानसभामा झिनो मतले पराजित भए भने २०७० को दोस्रो संविधानसभा निर्वाचित भए ।
फेरि २०७४ मा पराजित भएका उनी २०७९ मा प्रदेशसभामा जितेर पहिलोपटक मन्त्री बनेका हुन् । जिल्लामा उनी किसान नेताका रूपमा परिचित छन् ।
उनी संविधानसभा सदस्य हुँदा उखुलाई राष्ट्रिय बाली बनाउनुपर्छ भनेर संसदमा पटक–पटक आवाज पनि उठाएको कांग्रेस पश्चिम नवलपरासीका नेताहरू बताउँछन् ।
कांग्रेस लुम्बिनी प्रदेशका सभापति अम्मरसिंह पुनले कांग्रेसबाट बिहीबार मन्त्री बनेका दुवैजना उपयुक्त पात्र भए पनि आफूहरूसँग कुनै समन्वय नभएको बताए । पुन संस्थापनइतर पक्षका हुन् ।