०९ साउन २०८३, शनिबार
माओवादीको खबरदारी सभा

काठमाडौं केन्द्रित प्रदर्शनको तयारीमा माओवादी– रवि पक्राउसँग छ कुनै साइनो ?

कात्तिक ९, २०८१
काठमाडौं
काठमाडौं केन्द्रित प्रदर्शनको तयारीमा माओवादी– रवि पक्राउसँग छ कुनै साइनो ?

नेकपा (माओवादी केन्द्र)ले सरकार उल्टो दिशामा जान लागेको भन्दै शनिबार काठमाडौंमा खबरदारी सभा गर्न लागेको छ ।

सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछाने पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विरोध प्रदर्शन गरिरहेका बेला माओवादीले खबरदारी सभा आयोजना गरेको हो ।

‘कतै रवि पक्राउको विरोधमा सभा आयोजना गरिएको होइन ?’ भनेर आशंका पनि व्यक्त भइरहेको छ  । तर, माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकारले जनताको इस्युमा काम नगरेपछि खबरदारी गर्न लागेको जानकारी दिए । 

रास्वपा सभापति पक्राउसँग आफूहरूको प्रदर्शनको कुनै साइनो नरहेको सापकोटाको दाबी छ ।

‘राजनीतिमा सामान्य प्रचलन हुन्छ, कम्तीमा १ सय दिनसम्मको हनिमुन अवधिमा सरकारको विरोध र प्रदर्शन नगर्ने । हामीले पनि सय दिनसम्म सरकारलाई काम गर्न दियौं,’ सापकोटाले लोकान्तरसँग भने, ‘तर, सय दिन नपुग्दैदेखि जनताले दुःख पाए । विपत्तिको भुमरीमा जनता फसे । उद्धार, राहत,  पुनःस्थापना र पुनःनिर्माणमा सरकार खरो उत्रिएन । त्यसैले प्रमुख प्रतिपक्षी दलको हैसियतले खबरदारी गर्नैपर्ने भएकाले हामीले शनिबार काठमाडौं उपत्यकाकेन्द्रित खबरदारी सभा गर्न लागेका हौं ।’

गणितको हिसाबले दुईतिहाइ भए पनि सरकार उल्टो बाटोमा हिँडेपछि खबरदारी गर्नु प्रमुख प्रतिपक्षीको धर्म रहेको सापकोटा बताउँछन् । ‘कतिपयले हामीलाई सत्ताबाट बाहिरिनुपरेको छटपटी पनि भनेका छन् । तर, त्यस्तो बिलकुल होइन । सरकारले उल्टो काम गर्न खोजेपछिको खबरदारी गर्न लागेका हौं,’ सापकोटाले भने, ‘लोकतन्त्रको मूल्यमान्यता खण्डित हुँदै जाने र जनताको दैनिकी कष्टकर हुने भएपछि खबरदारीको विकल्प नभएको हो ।’

शनिबार बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय गरी तीन प्रदेश कमिटीले काठमाडौंकेन्द्रित खबरदारी गर्न लागेको उनले बताए ।

‘हामीले अहिले उपत्यकाकेन्द्रित विरोध कार्यक्रमलाई खबरदारी सभा भनेका छौं । यसले पनि सरकार सच्चिनेतिर नगए अभियान देशव्यापी रूपमा जान्छ । कार्यकर्ता थप परिचालन गर्छौं,’ सापकोटाले भने, ‘पहिलो चरणको विरोधपछि समीक्षा गर्छौं । सरकारको रवैया हेर्छौं, अनि थप कार्यक्रम ल्याउँछौं ।’

प्रमुख प्रतिपक्षीका रूपमा माओवादीले खबरदारी नगरे सरकारले नागरिकलाई झन् निराश बनाउने उनी बताउँछन् ।

‘बलियो सरकारले गर्नुपर्ने काम थुप्रै छन् । जनताको आशा र अपेक्षा पनि धेरै छन् । तर, राज्य नभएको जस्तो, अल्मलिएको जस्तो स्थिति देखिएको छ,’ सापकोटाले भने, ‘जनताको निराशाबाट पैदा हुने स्थितिले मुलुकलाई थप अराजकतातिर लान्छ । यसैले सरकारलाई सत्कर्मतिर लान पनि हाम्रो खबरदारी आवश्यक छ ।’ 

रवि पक्राउसँग साइनो नभएको प्रस्टोक्ति

माओवादीले राष्ट्रिय स्वतन्त्र पार्टीको विरोध प्रदर्शनसँग आफूहरूको आन्दोलनको कुनै साइनो नरहेको प्रस्ट्याएको छ ।

सहकारी ठगी प्रकरणमा रवि लामिछाने पक्राउ परेपछि रास्वपाले गरेको विरोधसँग माओवादी प्रदर्शनको कुनै साइनो नभएको प्रवक्ता सापकोटाले बताए ।

‘हामीले सरकारको सय दिन पुगेपछि विरोध प्रदर्शन गर्ने पहिले नै तय गरेका थियौं । अहिले संयोगले उनीहरूले पनि विरोध गरेका बेला हाम्रो कार्यक्रम परेको हो,’ सापकोटाले भने, ‘संसद्मा रहेका दलसँग सुशासन र जनताका मुद्दामा सहकार्य हुनसक्छ, हुन्छ । तर, अहिले रविको पार्टीसँग कुनै तादम्यता छैन । उनीहरूको विरोधसँग माओवादीको कुनै सम्बन्ध छैन ।’ 

माओवादीले सहकारी ठगीमा मुछिएका कांग्रेस उपसभापति धनराज गुरुङ र एमाले नेता ऋषिकेश पोखरेललाई पनि छानबिनको दायरामा ल्याउन माग गर्दै आएको छ । यसपटक पनि सहकारी प्रकरणको छानबिनमा पक्षधरता नदेखाई अनुसन्धान अगाडि बढाउन माओवादीले सरकारको ध्यानाकर्षण गराएको छ ।

माओवादीभित्रै पनि विरोध सभा सहकारी ठगीमा समातिएका रविको बचाउका लागि हुन लागेको त होइन ? भनेर आशंका व्यक्त गरिएको छ । युवा नेता लेखनाथ न्यौपानेले सामाजिक सञ्जालमा लेख्दै सरकारको विरोध गर्ने नाममा रविको बचाउ गरेर अर्को गल्ती नगर्न सुझाएका छन् । 

‘ओली नेतृत्वको कांग्रेससहितको सरकारको रंगढंगको तथ्यगत विरोध गरौं, तर हामी माओवादीले घण्टी अध्यक्ष (सभापति)को बचाउमा लागेर अर्काे गल्ती नगरौं,’ न्यौपानेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विगतमा उनीबारे हामीले गम्भीर गल्ती गरिसकेका छौं ।’

प्रवक्ता सापकोटाका अनुसार भोलि ११ बजे काठमाडौं मलमा जम्मा भएर विरोध प्रदर्शन शुरू हुनेछ । त्यसपछि रत्नपार्क, बागबजार, पुतलीसडक हुँदै प्रदर्शनीमार्गमा साउन्ड सिस्टमसहितको सभा हुनेछ । प्रदर्शनी मार्गमा पुगेपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मात्रै सभाको मुख्य वक्ता हुनेछन् । माओवादीले विरोध प्रदर्शनपछिको सभालाई संक्षिप्त कार्यक्रम भनेको छ । ३० हजार हाराहारी मानिस उतार्ने उसको दाबी छ ।

प्रमुख प्रतिपक्षीको उपस्थिति देखाउने प्रयास

पछिल्लो केही वर्ष कहिले कांग्रेस त कहिले एमालेसँग मिलेर सरकार चलाउने वा सहभागी हुने अवस्थाका कारण माओवादी सबैभन्दा बढी आलोचित भएको छ । 

गत असार ३० गते कांग्रेस र एमाले मिलेर सरकार बनाएपछि प्रमुख प्रतिपक्षी बन्न पाउँदा माओवादीले यसलाई अवसर भन्दै आएको छ । यसैले २०६४ यता निरन्तर खस्कँदो साख पुनः उठाउन पनि माओवादीले यसपटक प्रमुख प्रतिपक्षमा बसेर नागरिक सरोकारका विषयलाई उठाउने तयारी गरेको देखिन्छ । 

उसले खबरदारी सभाका लागि भन्दै अगाडि सारेका नारा र विषय पनि नागरिक सरोकारसँग सम्बन्धित छन् । असोज दोस्रो साता आएको बाढी, पहिरो र डुबानपछिको उद्धार, राहत, पुनःस्थापना र पुनःनिर्माणमा चुकेको, सुशासनको अभियानलाई कमजोर बनाएको र भ्रष्टाचारजन्य गतिविधिलाई निस्तेज पार्न नसकेको आरोप माओवादीको छ । 

ठूला भ्रष्टाचार काण्डमा जोडिएकालाई छानबिनको दायरामा नल्याएको, राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर साना दललाई कमजोर पार्न खोजेको र शिक्षा, स्वास्थ्य, रोजगारी तथा सामाजिक न्यायका मुद्दाप्रति सरकार गम्भीर नबनेको विषयलाई पनि माओवादीले प्राथमिकतामा राखेको छ । 

विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक (कुलमान घिसिङ)लाई हटाउन खोजेको, महंगी र कालोबजारी नियन्त्रण गर्न नसकेको, सहकारी, मिटरब्याज र लघुवित्तपीडितका समस्या समाधान र ठगीमा संलग्नहरूलाई विनाभेदभाव कारबाही गर्ने अग्रसरता नदेखाएको माओवादी आरोप छ ।

त्यस्तै, माओवादीले राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय हितको रक्षा एवं प्रवर्द्धनका लागि समेत सरकारलाई खबरदारी गर्न लागेको बताएको छ ।  

salt training

कमेन्ट गर्नुहोस्