०४ साउन २०८३, सोमबार
सहकारी ठगी प्रकरण

रुपन्देहीमा रविको दोस्रो दिन : ९ घण्टा बयान, ५० प्रश्न

कात्तिक २८, २०८१
बुटवल
रुपन्देहीमा रविको दोस्रो दिन : ९ घण्टा बयान, ५० प्रश्न

सहकारीको बचत रकम अपचलनको आरोपमा पक्राउ गरी रुपन्देही ल्याइएका गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्धक तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग बुधबार पनि सरकारी वकिल कार्यालयमा बयान लिइएको छ । 

बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचत रकम दुरूपयोग गरेको आरोपमा बयानका लागि मंगलबार पोखराबाट जहाजमार्फत रूपन्देही ल्याइएका लामिछानेलाई बुधबार ९ घण्टा लगाएर विभिन्न ५० भन्दा बढी प्रश्नमा सवाल-जवाफ गरिएको छ । 

भैरहवास्थित जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख प्रेमराज पौडेल, इलाका प्रहरी कार्यालय, बुटवलका डीएसपी विजयराज पण्डित लगायत ६ जना प्रहरी अनुसन्धान अधिकारीहरूले रविको बयान लिएका थिए । बिहान १० बजेदेखि शुरू भएको बयान साँझ ७ बजेसम्म चलेको थियो । 

रुपन्देही प्रहरी प्रवक्ता, डीएसपी लक्ष्मी खनालले रविमाथि भोलि पनि बयान जारी रहने बताइन् । उनका अनुसार बिहान कार्यालय खुल्नेबित्तिकै बयान शुरू हुनेछ । ‘अहिलेसम्मको बयानबाट मोटामोटी खाका तयार भइसकेको छ । सम्भवतः भोलि बिहीबार बयान सकेर पोखरा पठाउँछौँ होला’, डीएसपी खनालले लोकान्तरसँग भनिन्। 

दुवै दिन रविले इन्कारी बयान दिएका छन् । मंगलबार बयान दिएर बाहिरिने क्रममा सञ्चारकर्मी र समर्थकहरू देखेपछि रविले हात हल्लाउँदै भनेका थिए, ‘खोरमा थुनिने बित्तिकै बाघ स्याल हुँदैन ।’ त्यसलगत्तै प्रहरीले हस्तक्षेप गरेर उनलाई अगाडि बढाएको थियो । 

गोर्खा मिडिया नेटवर्कमा रविको १५ प्रतिशत सेयर रहेको अनुसन्धानबाट खुलेको छ । रवि राजनीतिमा आउनुअघि गोर्खा मिडिया नेटवर्कले सञ्चालन गरेको ग्यालेक्सी टेलिभिजनका प्रबन्ध निर्देशक एवं सञ्चालक थिए । सोही बेला देशका विभिन्न सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा गैरकानूनी रूपमा रकम गएको संसदीय छानबिन समितिले निष्कर्ष निकालेको थियो । सोही आधारमा रवि लगायत यसमा संलग्न विभिन्न व्यक्तिमाथि अनुसन्धान जारी छ । तर, रविले टेलिभिजन छोडेका बेला नै आफूले सेयर बिक्री गरिसकेको र आफ्नो कुनै दायित्व नहुने बयान दिइरहेका छन् ।

बुटवलको सुप्रिम सहकारी र पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन गरेको आरोपमा लामिछानेसँगै गोर्खा मिडिया नेटर्वकका तत्कालीन सञ्चालक तथा पूर्व डीआईजी छविलाल जोशीलाई पनि यसअघि पोखराबाट रूपन्देही झिकाएर सरकारी वकिलको कार्यालयमा बयान लिइएको थियो । अहिले कास्की प्रहरी हिरासतमै रहेका जोशीलाई कात्तिक ६ गते सात घण्टामा ५७ वटा प्रश्न सोधिएको थियो । 

रविलाई बयानका लागि रुपन्देही ल्याइरहेका बेला गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बाहिर रास्वपाका कार्यकर्ताले उनको पक्षमा नाराबाजी गरेका थिए । बुधबार पनि उनीहरूले भैरहवामा प्रदर्शन र नाराबाजी गरे । बुद्धचोकमा जम्मा उनीहरूले भैरहवाको सिद्धार्थनगर नगरपालिका परिक्रमा गर्दै विरोध जनाएका थिए ।​

पोखराको सूर्यदर्शन सहकारी, बुटवलको सुप्रिमसहित अन्य सहकारीको रकम अपचलनमा समेत लामिछाने मुछिएका छन् । सांसद सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले रविसहितका व्यक्तिलाई सहकारी ठगी प्रकरणमा कारबाही गर्न सिफारिस गरेको थियो । उनीहरूमाथि सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर हिनामिना गरेको आरोप छ ।  

सुप्रिमबाट २०७७ चैत १८ मा रविका नाममा मात्रै दुई करोड रूपैयाँ गएको देखिन्छ । तर,रविले आफ्नो नाममा त्यसरी रकम आएको कुरालाई इन्कार गर्दै आएका छन् । रवि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा कात्तिक २ गते साँझ काठमाडौंस्थित रास्वपाकै कार्यालयबाट पक्राउ परेका थिए । सोही राति पोखरा लगिएका उनी प्रहरी हिरासतमै रहेका बेला बयानका लागि भैरहवा ल्याइएको हो ।

कास्की जिल्ला अदालतले आइतबार रविलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइसकेको छ ।
त्यसअघि प्रहरीले सुप्रिम सहकारीको १४ करोड २९ लाख रूपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा रवि, छवि र जीबी राईसहित १२ जनाविरुद्ध पक्राउ गरी अनुसन्धान गर्न जिल्ला अदालतबाट अनुमति लिएको थियो । 

सुप्रिमबाट छविको नाममा पनि दुई करोड ५० लाख रूपैयाँ गएको देखिएको छ । उनले २०७७ माघ २९ गते २ करोड ५० लाखमध्ये ५ लाख सेवा शुल्क कटाएर २ करोड ४५ लाख रूपैयाँ ऋण लिएको देखिएको छ । 

रवि र छवि दुवैको नाममा गोर्खा मिडिया नेटवर्कको ग्लोबल आईएमई बैंकको खातामा रकम जम्मा भएको प्रहरी अनुसन्धानले देखाएको छ । यस प्रकरणमा प्रहरीले शुरूमै २८ जनालाई प्रतिवादी बनाए पनि गृहमन्त्री भएका बेला रविले प्रहरीलाई दबाब दिएर आफ्नो नाम हटाएका थिए । अदालतमा मुद्दा दर्ता गर्दा रवि गृहमन्त्री नै थिए । 

गुल्मीको मालिका गाउँपालिका–८ घर भएका ३० वर्षीय सागर केसीले भौचर सदर गरेर रोशनी गुरुङले गोर्खा मिडिया नेटवर्कको नाममा रहेको बैंक खातामा रकम जम्मा गरेकी थिइन् । रोशनी यसअघि नै अदालतबाट धरौटीमा रिहा भइसकेकी छन्  भने केसी अझै फरार छन् । 

रुपन्देहीका प्रहरी प्रमुख, एसपी रञ्जितसिंह राठौरका अनुसार सहकारीका १ हजार ८३१ जनाले आफूहरूको ८६ करोड बढी बचत अपचलन गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए । सहकारीका १० हजार ३९१ बचतकर्ताले जम्मा गरेको १ अर्ब ७ करोड रकममध्ये ८६ करोड १८ लाख २३ हजार अपचलन भएको देखिएपछि अनुसन्धान अघि बढाइएको हो। 

मुद्दा दायर भएका २८ जनामध्ये ८ जना पक्राउ परिसकेका छन् । गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गीतेन्द्रबाबु राई (जीबी) सहित अन्य व्यक्तिहरू भने फरार छन् । 

salt training

कमेन्ट गर्नुहोस्