
मंसिर १६ गते स्थानीय तहका ४४ पदमा हुन लागेको उपनिर्वाचनमा केही ठाउँमा रोचकता देखिएको छ ।
आइतबार उम्मेदवारी दर्ता हुँदा एमालेका उम्मेदवार कांग्रेसको चुनाव चिह्नबाट लड्नेदेखि प्रमुख उम्मेदवारको पृष्ठभूमि एउटै पार्टी हुनेसम्मका रोचकता देखिएका हुन् । निर्वाचनमा दलबाट २८६ र १२१ गरी ४०७ जनाको उम्मेदवारी दर्ता भएको छ ।
मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा कांग्रेसले बलराम सरदार, एमालेले तुलसीराम विश्वास, माओवादीले नमोनारायण माझीलाई उम्मेदवार बनाएको छ । उम्मेदवार विश्वास २०७९ को निर्वाचनअगाडि कांग्रेसबाट एमालेमा प्रवेश गरेका थिए ।
त्यस्तै, माझी पनि तीन महिना अघि मात्रै कांग्रेस छोडेर माओवादीमा पुगेका हुन् ।
अध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट नवीनकुमार खवासको उम्मेदवारी परेको छ । प्रमुख तीन पार्टीकै उम्मेदवारको पृष्ठभूमि कांग्रेस भएकाले पनि ग्रामथानको प्रतिस्पर्धा रोचक हुने देखिएको छ ।
२०७९ वैशाखमा भएको निर्वाचनमा कांग्रेसबाट जितेका जयप्रकाश गच्छदारको निधन भएपछि ग्रामथानमा उपनिर्वाचन हुन लागेको हो । गच्छदार ७६०५ मत ल्याएर विजयी भएका थिए ।
एमालेका शिवनारायण माझीले ६०९३, माओवादीका विजयकुमार सरदारले २७२७ र राप्रपाका पखुला विश्वासले ४४६ मत प्राप्त गरेका थिए ।
एमाले उम्मेदवार, चुनाव चिह्न रूख !
कीर्तिपुर नगरपालिकाको मेयर, मोरङको ग्रामथान, दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा सत्तारुढ दल कांग्रेस र एमालेले छुट्टाछुट्टै उम्मेदवारी दिएका छन् । तर, माओवादीको प्रभाव रहेको रुकुम पूर्वको पुथा उत्तरगंगामा पनि रोचक समीकरण देखिएको छ । अन्यत्र प्रतिस्पर्धा गरे पनि उत्तरगंगामा भने सत्तारुढ कांग्रेस र एमालेले मोर्चाबन्दी गरेका छन् । उपाध्यक्षमा एमाले उम्मेदवार केशकुमारी तुलाचन संयुक्त उम्मेदवार बनेकी छिन् । तर, उनको चुनाव चिह्न एमालेको सूर्य हुने छैन ।
२०७९ को स्थानीय तह निर्वाचनमा उत्तरगंगामा माओवादी केन्द्रका पुनीराज घर्ती अध्यक्षमा निर्वाचित भएका थिए । उपाध्यक्षमा माओवादी केन्द्रकै भूपेन्द्रा बुढा विजयी भएकी थिइन् । उनै बुढाको बस दुर्घटनामा निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।
माओवादीकी बुढा ४०५९ मतान्तरले विजयी हुँदा कांग्रेसकी कमलाकुमारी मल्लले २०१० मत प्राप्त गरेकी थिइन् । एमालेकी धर्म घर्ती बुढाले १८१२ मत ल्याएकी थिइन् ।
कांग्रेस र एमालेका उम्मेदवारको कूल मतभन्दा पनि माओवादीकी भूपेन्द्राले २३७ बढी मत प्राप्त गरेकी थिइन् ।
यसैले माओवादीको बलियो प्रभाव रहेको उत्तरगंगामा कांग्रेस र एमालेले मिलेर उम्मेदवार उठाएका हुन् ।
कांग्रेस निर्वाचन समितिका सदस्य मधु आचार्यले स्थानीय आवश्यकताको आधारमा उत्तरगंगामा एमालेसँग चुनाव चिह्नमा सहमति भएर उम्मेदवार टुंग्याएको बताए ।
‘केन्द्रबाट डा. प्रकाशरण महतले टुंग्याउनुभएको हो, तर भागबण्डा भएको होइन । यस्तो हुन्थ्यो भने समग्रतामा यतिवटा गाउँपालिका र उपाध्यक्ष अनि वडा भन्ने हुन्थ्यो,’ आचार्यले भने, ‘स्थानीय वस्तुस्थितिको आधारमा तालमेल भएको हो ।’
तर, यसपटक उम्मेदवारबारे पार्टीमा कुनै विवाद र फरक मत नरहेको आचार्यले बताए ।
‘यसपटक कांग्रेसभित्र उम्मेदवारको विषयमा कुनै फरक मत र विवाद देखिएन,’ आचार्यले भने, ‘सहमतिमै सबै कुरा टुंगियो ।’ एमाले उम्मेदवार कांग्रेसको रूख चिह्नबाट उठ्दा व्यावहारिक रूपमा समस्या नहुने आचार्य बताउँछन् ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले एमाले उम्मेदवार कांग्रेसको चुनाव चिह्नबाट उठ्ने विषय प्राविधिक भएको बताए ।
‘स्थानीय पार्टी पंक्तिको व्यवस्थापन र सिफारिसमा उत्तरगंगामा कांग्रेस र हामी यस्तो निर्णयमा पुगेका हौं,’ गौतमले लोकान्तरसँग भने, ‘यो प्राविधिक कुरा हो । यसले निर्वाचनमा कुनै व्यावहारिक कठिनाइ पार्दैन ।’
निर्विरोध निर्वाचित
एमालेसहित अन्य दलले समर्थन गरेपछि ओखलढुंगा जिल्ला समन्वय समितिको प्रमुखमा कांग्रेसका टेकराज भट्टराई निर्विरोध भएका छन् । एकल उम्मेदवारी परेपछि भट्टराई निर्विरोध भएको कांग्रेसले जनाएको छ । ओखलढुंगाका ८ वटा पालिकाको १६ भोटमा कांग्रेस एक्लैको ९ भोट रहेको निर्वाचन समितिका सदस्य मधु आचार्यले बताए । यसैले कांग्रेसको पक्का जीत हुने भएपछि अरूको उम्मेदवारी नपरेको उनको भनाइ छ ।
जिससका दुवै ठाउँमा कांग्रेसले जित्ने भएपछि उम्मेदवारी दिएको उनी बताउँछन् । देशका अन्य पालिका र वडामा आ–आफ्नो हिसाबले निर्वाचनमा होमिने भएकाले कुनै समस्या नहुने गौतम बताउँछन् ।
कीर्तिपुरमा ठूला दल भिड्ने, रास्वपा ‘ब्याक’
कीर्तिपुर नगरपालिकाको मेयरका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट जयराम कार्कीको मात्रै नाम आएको थियो । तर, रास्वपाले उपनिर्वाचनकै सबैभन्दा चर्चित कीर्तिपुर नगरपालिकाको मेयरमा उम्मेदवारी दिएन । स्वतन्त्रबाट परेकै उम्मेदवारलाई साझा मान्ने निर्णय भएको जानकारी कार्यवाहक प्रवक्ता मनिष झाले दिए ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन, धरानका मेयर हर्क साम्पाङ र रास्वपाको साझा उम्मेदवार हुने दाबी झाले गरेका छन् । तर, बालेन र उनको टीमले आफ्नो उम्मेदवार पनि नहुने र अरूसँग पनि नमिल्ने निर्णय लिएको छ ।
कीर्तिपुरको प्रमुखमा एमालेबाट डा. सुरेन्द्र मानन्धर, कांग्रेसबाट कृष्णमान डंगोल, माओवादीबाट प्रा.डा. शिवशरण महर्जनसहित प्रमुख दलबाट ८ जनाको उम्मेदवारी परेको छ ।
राप्रपाबाट ध्रुव महर्जन, जनमत पार्टीबाट केशव श्रेष्ठ, जसपा नेपालबाट दीपक महर्जन, नेपाल समाजवादी पार्टीबाट दिलकुमार महर्जन र नेकपा एसबाट भानु रिजालको उम्मेदवारी परेको छ ।
मेयरमा स्वतन्त्रबाट १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । स्वतन्त्रबाट राजमान महर्जन, दिनेशकुमार अधिकारी, नवरथ बानियाँ, आनन्द महर्जन, कविकुमार महर्जन, दीपक महर्जन, रामकृष्ण महर्जन, नरेशराज पाण्डे, नरेश श्रेष्ठ, मीम महर्जन, प्रेमकुमार महर्जन र धर्मराज मानन्धरको उम्मेदवारी परेको छ । उपेन्द्र यादव नेतृत्वको जसपाबाट तेस्रोलिंगी (यौनिक अल्पसंख्यक) दीपक महर्जन (हनी)को उम्मेदवारी परेको छ ।
कीर्तिपुरमा माओवादी उम्मेदवारलाई माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले समर्थन गर्ने जनाएको छ । गत स्थानीय तहको निर्वाचनमा कीर्तिपुरमा कांग्रेसका राजकुमार नकर्मी ९०४३ मत ल्याएर विजयी भएका थिए । एमालेका केशरत्न बज्राचार्यले ५५०७ मत प्राप्त गरेका थिए । माओवादीका शिवशरण महर्जन ४०९० मत प्राप्त गर्दा एकीकृत समाजवादीका बटुकृष्ण थापाले ११५३ मत प्राप्त गरेका छन् ।
बाउका ठाउँमा उम्मेदवार बने छोरा
वडाध्यक्ष जितेका बाबुको निधनपछि कपिलवस्तुको शुद्धोधन गाउँपालिका– १ मा छोरा उम्मेदवार बनेका छन् । कांग्रेसबाट जितेका तिलकराम यादवको निधनपछि पार्टीले उनकै छोरा दिनेश यादवलाई उम्मेदवार बनेका छन् ।