
स्याङ्जाका कृषक मीनप्रसाद कोइराला अघिल्लो वर्षको तुलनामा यसवर्ष सुन्तलाको बोटले बढी फल दिने आशामा थिए । गत वर्ष २१ टन सुन्तला उत्पादन भएको बारीमा अहिले २५ टन फल्ने उनको आँकलन थियो । तर, सुन्तलामा लागेको पतेरोले उनको आँकलन तुहाइदियो ।
‘पतेरोले क्षति गरायो । अहिले २५ टन फल्नुपर्ने हो । तर, पतेरोले नोक्सान गर्यो । ५० प्रतिशत झरिसक्यो,’ कोइराला भन्छन्, ‘औंसा देखिँदै छन् । त्यसले कति झर्ने हो ।’
पछिल्लो समय कृषकलाई सुन्तलामा लाग्ने रोगले सताउने गरेको छ । सबैभन्दा बढी सुन्तलामा देखिने औंसा र पतेरोले कृषकलाई मार परिरहेको छ । समयमै पतेरो नियन्त्रण नगर्दा अहिले समस्या निम्तिएको कोइराला बताउँछन् ।
सुन्तलाका लागि प्रख्यात रहेको जिल्लामा पछिल्लो समय देखिएको समस्याले किसान चिन्तित छन् । कृषि र कृषका लागि भनेर बनाइएका निकायले समस्या समाधानका लागि तदारुकता नदेखाएको कृषकहरूको गुनासो छ ।
‘फूल खेल्नेवित्तिकै पतेरो नियन्त्रण गर्नुपर्ने हो । त्यहीअनुसार फिल्डमा जानुपर्ने र किसानलाई पनि सिकाउनुपर्ने हो । अहिलेको झराइले किसानले पनि राम्रै चेत्छन्जस्तो लाग्छ,’ कोइरालाले भने ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत स्याङ्जाको निश्चित स्थान सुन्तला सुपरजोन नै तोकिएको छ । कृषि ज्ञान केन्द्र र परियोजना कार्यान्वयन इकाई स्याङ्जाले, कृषकसँग मिलेर सुन्तला उत्पादनमा काम गरिरहेको छ । यी संरचनाले तदारुकता देखाएर काम नगरेको किसानको गुनासो छ ।
परियोजनअन्तर्गत सुपरजोन तोकिएको क्षेत्रमा कार्यक्रम भइरहेको छ । परियोजनाले सिँचाईमा सहयोग गरेको छ । तर, सिँचाईको मोडल त्यस क्षेत्रका लागि उपयुक्त नभएको कोइराला सुनाउँछन् ।
‘सिँचाईको मोडल तराईमा गर्नेजस्तो भयो । पहाडमा सुन्तलाका लागि ठूलो भोल्युममा हुन्छ, टाढाबाट ल्याउनुपर्छ । सुन्तला सुपरजोनले तराईको धान खेतीको मोडलमा सिँचाईको मोडल ल्यायो । त्यो पनि उहीँ नजिक नजिकलाई बाँड्ने,’ कोइरालाले गुनासो पोखे ।
फूल फुल्नेवित्तिकै एकप्रकारको औषधि छर्न सकियो भने औंसा र पतेरोलाई अलिकति भए पनि निर्मूल पार्न सकिन्छ । तर, सरकारले जेठमा छर्ने औषधि भदौमा दिन्छ र भदौमा छर्ने औषधि कात्तिकमा दिन्छ ।
भीरकोट–७ स्याङ्जाका कोइरालाको सुन्तला बारीमा पुस्तौँदेखि सुन्तला लगाइन्थ्यो । कोइरालाले व्यावसायिक रूपमा फर्म दर्ता गरेर सुन्तला व्यवसाय थालेको भने १४ वर्ष भयो । पछिल्ला वर्षहरूमा सुन्तलामा आएको परिवर्तन जलवायु परिवर्तनसँग दाँजेर पनि हेर्छन्, कोइराला ।
‘फूल खेल्ने बेलामा पानी आएन । पछि सानो दानामा भएको बेला अत्यधिक पानी पर्यो । पतेरो देखियो । जलवायु परिवर्तनले उपयुक्त वातावरण बन्यो होला,’ उनले सुनाए ।
सुन्तला झर्ने समस्या मीनप्रसादको मात्र होइन । पुतलीबजार–१० स्याङ्जाका मुक्ति अधिकारीको समस्या पनि उस्तै छ । अघिल्लो वर्ष ४५ टन सुन्तला उत्पादन भएको उनको बारीमा अहिले औंसा र पतेरोले सताएको छ ।
यसपालि ६० टनसम्म फल्छ कि भन्ने अधिकारीको आश थियो । तर, यसपटक पतेरोले बढी समस्या ल्याएको छ । त्यसैमाथि बेमौमसी पानीले आहत दियो । फल लागेपछि परेको असिनाले सुन्तला झारिदियो । कात्तिक ४ गते सुन्तला सुपरजोनको केही क्षेत्रमा परेको असिनाले थप असर गर्यो ।
‘अहिले अत्यधिक झरिरहेको छ । यही तरिकाले झर्यो भने २० टनमा झर्छ होला । अलिअलि रह्यो भने ४०/५० मा रहन्छ कि!’, उनले भने, ‘यो वर्ष पतेरो अत्यधिक मात्रामा आयो । असिना आयो । औंसा आयो । यी तीनवटा चिजले सुन्तलालाई असर गर्यो ।’
किसान अनेक समस्यासँग जुधिरहँदा सरकारले भने ‘कामका लागि काम’ मात्र गरेको उनको गुनासो छ । सरकारको कृषि नीति नै ठीक नरहेको उनको टिप्पणी छ ।
‘फूल फुल्नेवित्तिकै एकप्रकारको औषधि छर्न सकियो भने औंसा र पतेरोलाई अलिकति भए पनि निर्मूल पार्न सकिन्छ । सरकारले जेठमा छर्ने औषधि भदौमा दिन्छ । भदौमा छर्ने औषधि कात्तिकमा दिन्छ । के भन्नु यस्तै छ’, उनले भने ।
तर, सरकारी निकायले भने किसानको समस्याप्रति चिन्तित भएको र काम गरिरहेको दाबी गरेको छ । सुन्तलामा भएको समस्यालाई लिएर काम गरिरहेको कृषि ज्ञान केन्द्र स्याङ्जाका सूचना अधिकारी विकास विक बताउँछन् ।
‘समस्या लिएर आउने कृषकलाई परामर्श दिएका छौं । सकेसम्म विषादी पनि दिएर पठाएका छौं । योबाहेक ज्ञान केन्द्र र सुन्तला सुपरजोन परियोजनाका ईकाइको तर्फबाट फिल्ड भिजिटमा पनि पुगिरहेका छौं’, विकले भने ।
सुन्तला खेतीमा क्षेत्रफल वृद्धि, उत्पादन उस्तै
सुन्तला खेतीमा लागेका किसानहरूलाई गुणस्तरीय सुन्तला उत्पादन गरी निर्यातयोग्य बनाउन २०७३ सालमा जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सुन्तला जोन कार्यालय स्थापना भएको थियो ।
जसलाई २०७५/०७६ मा सुन्तला सुपरजोनको रूपमा स्तरोन्नती गरेर पुतलीबजारका ८ वडा, भीरकोटका ६ वडा, वालिङको १ वडा, अर्जुनचौपारीको २ वडा समावेश गरिए । परियोजनाको परिणाम पनि देखियो । सुन्तला सुपरजोनमा आर्थिक वर्ष २०७३/०७४ मा १ हजार हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुन्थ्यो । यो वर्ष २१६० हेक्टर पुग्यो ।
सुन्तला खेतीका लागि क्षेत्रफल वृद्धि भए पनि तुलनात्मक रूपमा उत्पादन कम छ । १ हजार हेक्टर क्षेत्रफलमा खेती हुँदा १० हजार ५ सय मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । आर्थिक वर्ष २०८०/८१ मा २१ सय हेक्टरमा खेती विस्तार भयो तर, उत्पादन १९ सय ५० मेट्रिक टनमा सीमित भयो । जबकी आर्थिक वर्ष २०७७/७८ मा १७ सय हेक्टरमा २९ हजार १३८ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो ।
ज्ञान केन्द्रका सूचना अधिकारी विकास विक पनि क्षेत्रफल बढेका कारण केही उत्पादन बढेको बताउँछन् । ‘खेती गर्ने क्षेत्रफल बढेको छ । क्षेत्रफल बढेसँगै उत्पादन पनि वृद्धि भयो । तर, सुन्तलामा प्राकृतिक लस छ । अस्ति असिना पर्यो । पतेरो भयो । अघिल्ला वर्षको तुलानमा औंसा कम छ । तर, पतेरोको समस्या यो वर्ष बढी देखिएको छ,’ उनले भने ।
पतेरो र औंसाको समस्या समाधान गर्न कृषि ज्ञान केन्द्र, सुपरजोनका इकाई कार्यालयले औषधि बाँड्ने, कृषकलाई सुझाव दिने काम गरिरहेको छ । तर, पछिल्लो समय किराहरूले प्रतिरोधी क्षमता बढाएको सूचना अधिकारी विको बुझाइ छ ।
‘पहिला किराहरू यति ठूलो संख्यामा हुन्थेन । पछिल्लो समय हामीहरूले विषादी पनि प्रयोग गरेका छौं । त्यसले केही हदसम्म किराहरू पनि रेजिस्टेन्ट हुन्छ । अर्को कारण भनेको जलवायु परिवर्तन पनि हो’, उनले सुनाए ।
सुन्तला उत्पादनको समस्या यस क्षेत्रको मात्र नभई, विश्वव्यापी चुनौती बनिरहेको छ । ब्राजिलजस्ता ठूलो निर्यातकर्ता देशमा पनि जलवायु परिवर्तनका कारण सुन्तला उत्पादन प्रभावित भइरहेको छ । ‘द गार्जियन’को रिपोर्ट अनुसार ब्राजिलमा खेती र मौसमको असन्तुलनले सुन्तला उत्पादन घटेपछि यसको प्रभाव अन्तर्राष्ट्रिय बजारमा परेको छ ।