
नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले एभरेष्ट बैंकलाई ऋणपत्र निष्काशनका लागि अनुमति दिएका छन् । बुधबार कार्यभार सम्हाल्दै अध्यक्ष श्रेष्ठले पहिलो निर्णयका रूपमा बैंकलाई ऋणपत्र निष्काशनका लागि स्वीकृति दिएका हुन् ।
एभरेष्ट बैंक ३० अर्बको १२ लाख कित्ता ऋणपत्र निष्काशनका लागि पाइपलाइनमा थियो । तर, अध्यक्ष नहुँदा बैंकले अनुमति पाउन सकेको थिएन । श्रेष्ठले बुधबार बोर्ड कार्यालयमा निवर्तमान अध्यक्ष तथा बोर्ड सदस्य महेश बराल, बोर्डका उच्चपदस्थ कर्मचारीहरूले स्वागत गरे ।
धितोपत्र बजारको विकास तथा विस्तार आफ्नो प्राथमिकता रहेको र यसका लागि नेपाल सरकार, लगानीकर्ता, धितोपत्र बजार सम्बद्ध निकायहरू तथा अन्य सम्पूर्ण सरोकारवालाहरूसँग समन्वय गर्दै अगाडि बढ्ने अध्यक्ष श्रेष्ठले प्रतिबद्धता जनाए ।
बोर्डको संस्थागत क्षमता अभिवृद्धि गर्ने तथा धितोपत्र बजारलाई सूचना प्रविधिमैत्री बनाउने समेत उनले बताए । साथै, उनले बोर्डको उद्देश्य प्राप्तिका लागि अनवरत रूपमा आफ्नो कर्तव्य पालना गर्न सम्पूर्ण कर्मचारीलाई निर्देशन दिए ।