०६ साउन २०८३, बुधबार
सहकारी ठगी प्रकरण

काठमाडौंमा बयानअघि रविको आग्रह– छिटोछिटो सकेर मुद्दाको प्रक्रिया टुंग्याइदिनुस् !

हिरासत छिर्नुअघि प्रहरीलाई भनेका थिए– ‘प्रक्रिया शुरू गर्नुस्, मेरो गुनासो रहन्न’
मंसिर १४, २०८१
काठमाडौं
काठमाडौंमा बयानअघि रविको आग्रह– छिटोछिटो सकेर मुद्दाको प्रक्रिया टुंग्याइदिनुस् !

गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने यतिबेला जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बयान दिइरहेका छन् ।

बिहीबार साँझ कास्कीबाट हवाईमार्ग हुँदै काठमाडौं ल्याइएका रविसँग बिहान ८ बजेदेखि नै जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बयान लिने काम भइरहेको हो ।

गोरखा मिडियामा पाँचवटा सहकारीहरू क्रमशः कास्कीको सूर्यदर्शन, रुपन्देहीको सुप्रिम, चितवनको सहारा, पर्साको सानोपाइला र काठमाडौंको स्वर्णलक्ष्मीको रकम लगेर अपचलन गरेको आरोप रवि र उनका पार्टनर जीबी राई, छविलाल जोशी लगायतमाथि छ । 

रविलाई अहिले स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको अभियोगमा बयान लिनका लागि काठमाडौंमा उपस्थित गराइएको हो ।

रविले बिहीबार साँझै जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छिर्नुअघि प्रहरी अधिकृत तथा जवानहरूलाई आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गरेका थिए ।

‘तपाईंहरू आफ्नो प्रक्रिया शुरू गर्नुस्, मेरो कुनै गुनासो रहँदैन,’ रविको भनाइ उद्धृत गर्दै एक प्रहरी अधिकृतले भने ।

उनले हिरासतमा सादा खाना नै खाए । अरू थुनुवाले जस्तै पिउने पानी पिए । प्रहरी स्रोतका अनुसार रविले आफूलाई छुट्टै सुविधा नदिन आग्रह गरेका थिए । 

शुक्रबार बिहान सरकारी वकिल कार्यालय जानुअघि रविले छिटोछिटो बयान सकेर मुद्दाको छिनोफानो लगाइदिन आग्रह गरेका थिए ।

रविलाई लिएर परिसरका मुद्दा शाखाका अनुसन्धान अधिकृतहरू नै सरकारी वकिलको कार्यालय पुगेका छन् ।

सरकारी वकिल कार्यालयमै रविलाई खानपिनको व्यवस्था गरिएको एक अधिकृतले लोकान्तरलाई बताए । 

रविलाई खासगरी स्वर्णलक्ष्मीबाट गोरखा मिडियामा गएको रकमको अपचलनलाई केन्द्रित रहेर प्रश्नहरू सोधिने छन् ।

गोरखा मिडियामा स्वर्णलक्ष्मीबाट २ करोड २८ लाख ९८ हजार ४ सय ८० रुपैयाँ पेश्कीबापत गएको देखिन्छ । त्यस्तै, स्वर्णलक्ष्मीबाटै गोरखा मिडिया नेटवर्कका तत्कालीन अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई र प्रबन्ध निर्देशक रविको संयुक्त नाममा दुईपटक ऋण लिएको देखिन्छ । 

उनीहरूको संयुक्त नाममा २०७८ भदौ ७ गते ‘फर ह्वाट एभर लोन’बापत ४६ लाख ९८ हजार ऋण लिएकोमा अझै १४ लाख ७६ हजार ३ सय ६७ रुपैयाँ चुक्ता गर्न बाँकी छ ।

त्यस्तै, २०७८ पुस १ गते ईको सेभेन सोएट भ्यान खरिदका लागि जीबी र रविकै संयुक्त नाममा ४६ लाख ८८ हजार ऋण लिएको पाइएको छ ।

त्यसमध्ये पनि २९ लाख ५८ हजार ४३३ रुपैयाँ तिर्न बाँकी रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

एक अनुसन्धान अधिकृतले लोकान्तरसँग भने, ‘जीबी र रविले संयुक्त नाममा लिएको ऋण किन नतिरेको, स्वर्णलक्ष्मीबाट गोरखा मिडियामा लगेको रकम किन नतिरेको जस्ता विषयमा प्रश्न सोधिने छन् ।’

स्वर्णलक्ष्मी सहकारीको रकम गोरखा मिडियामा लगेर ल्यान्डक्रुजर गाडी खरिद गरेको विषयमा समेत बयान केन्द्रित रहने र रवि आफैंले हस्ताक्षर गरेर स्वर्णलक्ष्मीमा जम्मा गरेको ९ लाख २९ हजार ६ सय रुपैयाँ रकमका सम्बन्धमा समेत प्रश्न सोधिने जानकारी एक अनुसन्धान अधिकृतले दिए ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले सरकारी वकिल कार्यालयमा रविसँग बयान लिने काम भइरहेको बताए । उनले भने, ‘बयान शुरू भएको छ, आज सकिँदैन । अझै एक/दुई दिन बयान गराएर कास्की पठाउँछौं ।’ 

गोरखा मिडियामा रहँदा ग्लोबल आईएमई बैंकमा जीबी, रवि र छविको संयुक्त खाता सञ्चालनमा थियो । सहकारीको ६५ करोड ५४ लाख रुपैयाँ गोरखा मिडियामा ल्याएर अपचलन हुँदा २५ करोडको चेकमा रविकै हस्ताक्षर प्रयोग भएको छ । 

त्यस्तै, गोरखा मिडियाबाट रवि आफैंले पनि पेश्कीबापत रकम लिएका छन् । 

गोरखा मिडिया नेटवर्कबाट रविले ऋण तथा पेश्कीबापत २ करोड लिएको देखिन्छ ।

छविले भने ५ करोड ५५ लाख २२ हजार ७ सय १४ रुपैयाँ ऋण तथा पेश्की लिएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्