
छोराबुहारीको साथमा ६ महिना बिताएर स्वदेश फर्कँदै थिएँ । मनमा पहिलो पटक एक्लै लामो रुटको यात्रा गर्दैछु । बाटोमा नजाने के हुने, कसो हुने हो भन्ने कुरा खेलिरहेको थियो । यसो त जाँदा पनि यात्रा लामै गरिएको हो तर, त्यतिबेलाको रुट अर्कै थियो । दोस्रो आधाभन्दा बढी बाटोमा धेरै पटक आतेजाते गरिसकेका चिरपरिचित मित्र साथमा थिए तर, फर्कंदा भने रुट पनि अर्कै थियो र साथमा परिचित मानिस कोही पनि थिएनन् ।
मनमा कुरा खेल्ने नै भए । यद्यपि छोरा बुहारीले निकै नअथ्र्याएका होइनन् । रुटको जानकारी पनि दिएकै हुन्, अपनाउनुपर्ने सावधानीको जानकारी पनि दिएकै हुन् तर, मन न हो आफैँले अनुभूत नगरी कहाँ मान्दो रहेछ र ! तर, बाटोमा सोचेजस्तो अप्ठ्यारो भने परेन ।
यूएसएको कोलोराडो राज्यको अन्तर्राष्ट्रिय एयरपोर्ट डेनबर्गदेखि न्यूयोर्कको जेएफके (जोनअफ केनेडी) अन्तर्राष्ट्रिय एयरपोर्टसम्म अमेरिकी एयरलाइन्स जेटब्लूको यात्रा ठीकै लाग्यो । विमान पनि सानै थियो । चालक दलका सदस्यबाहेक जम्मा ११२ जना यात्री बोकेको । सेवा पनि ठीकठीकै लाग्यो ।
डेनबर्ग एयरपोर्टबाटस्थानीय समयअनुसार दिउँसो एक बजे उडेको विमान सोही दिन साँझ न्यूयोर्क समयअनुसार ७ बजेतिर जेएफके एयरपोर्टमा अवतरण गर्यो । त्यसपछिको यात्रा भने कतार एयरबेजको थियो, जुन विमान पनि ठूलो थियो, सेवा पनि राम्रो थियो । ह्विलचेयरका यात्रीलाई लिन पनि विमानको ढोकासम्म जाने र पुर्याउन त झन् विमान भित्रैसम्म पुग्ने । ह्विलचेयर चालकहरू यात्रुलाई सम्बन्धित सिटमा राखेरमात्र फर्कने गर्थे । विमानभित्रका परिचारक तथा परिचारिकाको सेवा र व्यवहार पनि त्यति नै राम्रो पाइयो ।
बल्ल थाहा भयो मानिस किन कतार एयरबेजको कुरा गर्दा रहेछन्, उसले किन विश्व बजारमा सफलता पाएको रहेछ भन्ने कुरा । हामी चढेको विमानले कतार समयअनुसार बिहीवार साँझ पाँच बजेतिर दोहा विमानस्थलमा अवतरण गर्यो तर, त्यहाँबाट काठमाडौं आउने समय भने परिवर्तन भएको रहेछ । बुझ्दा थाहा भयो हाम्रो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल राति १० घन्टा बन्द हुने गरेकाले समय परिवर्तन भएको भन्ने कुरा । परिवर्तित समयअनुसार हाम्रो काठमाडौं फर्कने विमानको समय तालिका शुक्रवार बिहान सात बजेको थियो । फलतः दोहा विमानस्थलमा १४ घन्टा रोकिनुपर्ने भयो तर, कतार एयर प्रशासनले यसरी लामो समय बिताउनुपर्ने यात्रीका लागि विश्रामको छुट्टै व्यवस्था मिलाएको रहेछ, जसले गर्दा समय बिताउन खासै गाह्रो परेन ।
उडान तालिका बिहान सात बजे भएकाले ६ बजे नै हामीलाई लिन ह्विलचेयरवाला भाइ विश्राम कक्षमा पुग्यो । हामी अध्यगमनको नियमित चेकजाँच पूरा गरेर बाहिर निस्क्यौँ । ढोकामै विमानसम्म पुर्याउन बस कुरिरहेको रहेछ । उसले हामीलाई विमानस्थलको निकै परको कुनामा लिएर गयो तर, त्यहाँको अवस्था भने त्यति राम्रो लागेन । विमान त बाइडबडी नै थियो तर, निकै पुरानो ।
झण्डै सिचेकमा लानुपर्ने बेला भइसकेजस्तो । धावन मार्ग पनि त्यस्तै देखिन्थ्यो । ठाउँ ठाउँमा उप्केको पिचले कस्तोकस्तो लाग्ने गथ्र्यो । विमानमा चड्न भर्याङको प्रयोग गर्नुपर्ने भएकाले काठमाडौं एयरपोर्टको सम्झना गरायो । देख्नासाथै लागेको थियो कतारी एयर प्रशासन नेपाली एयर प्रशासनसित सन्तुष्ट हुन नसकेकाले नेपाली यात्रुहरू त्यति भाउ दिन चाहिरहेको छैन । नभन्दै देखियो पनि त्यस्तै । किनभने उसलाई अनिच्छित भैरहवा–काठमाडौंको रुट लिनुपर्ने बाध्यता थियो ।
सोहीअनुसार हामी चडेको विमान शुक्रबार दिउँसो सिधै भैरहवा पुगेर अवतरण गर्यो, जसमा यात्रु संख्या निकै कम थिए । झण्डै विमानका सिट आधा खाली देखिन्थ्यो । भैरहवा उत्रने यात्रु पनि मुस्किलले चार/पाँच जाना थिए होलान् तर, चढ्ने यात्रु भने शून्य । बेकारमा काठमाडौं आउने यात्रुले दुई घन्टा विमानभित्रको कहर काट्नुपर्यो, जसले गर्दा साँझ ६ बजेमात्र काडमाडौं एयरपोर्ट उत्रन पाइयो । यस्तो बिजोग देखेपछि त्यतिबेलै लागेको थियो यो व्यवस्था धेरै दिन टिक्दैन । नभन्दै भयो पनि त्यस्तै । काडमाडौं उत्रेको दुई/चार दिनपछि नै कतार एयरबेजले भैरहवा उठान स्थगित गरेको समाचार आयो ।
आफ्नो मुलुकमा बनेको अन्तर्राष्ट्रिय विमानस्थललाई प्रयोगमा ल्याउन खोज्नु नराम्रो होइन, गर्नुपर्छ तर, सो अनुसार सेवाप्रदायकलाई बिजनेस दिन पनि सक्नुपर्छ । आफू केही पनि नगर्ने सेवाप्रदायकलाई जबरजस्ती रुट लाद्न खोज्नु आफ्नै कमजोरी सिद्ध गर्नुबाहेक केही होइन । सेवाको दायरा बढाउन सके सेवाप्रदायकहरू स्वतः आकर्षित हुन्छन् । अनावश्यक हार गुहारको रोइलो गर्दै हिँड्नै पर्दैन ।
यात्रु नबढी भैरहेको उडानलाई जबरजस्ती रुट लादेर दिक्क पार्दै जाने हो भने अन्य एयरबेजले पनि यसैगरी उडान स्थगित गर्दै जान बेर छैन । आखिर कोही पनि घाटाको व्यापारलाई लामो समय तन्काउन चाहन्न । लामो समयसम्म यस्तै हुने हो भने उडान संंख्या बढाउन त के उल्टै देशको कूटनीतिक साखलाई पनि कमजोर पार्न सक्छ । त्यसैले यसतर्फ नेपाल सकार, पर्यटन मन्त्रालयलगायत सम्बन्ध निकायले गम्भीरतापूर्वक सोच्नुपर्ने देखिन्छ ।