
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक(एमडी)का लागि दौडधूपमा लागेका पूर्वसचिव अर्जुनकुमार कार्की माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको लागत अस्वाभाविक ढंगले बढाउने काममा समेत संलग्न रहेको पाइएको छ ।
ट्रान्सफर्मर खरिदलगायतका धेरै मुद्दामा विवादित बनेका हालका एमडी कुलमान घिसिङलाई पदमुक्त गर्ने गरी सरकारले तयारी थालेपछि कार्कीले बिचौलियाको सहयोग लिएर उच्चस्तरीय भेटघाट गर्दै आएका थिए ।
यसअघि दुईपटक प्राधिकरणको नेतृत्व सम्हालेका कार्की माथिल्लो तामाकोशीमा ४५ अर्ब लागत बढाउने चलखेलमा संलग्न थिए । साथै, कार्की ट्रान्सफर्मर खरिद र बहुचर्चित त्रिपाल खरिद काण्डमा पनि मुछिएका व्यक्ति हुन् ।
कार्की यसअघि २०६३ सालमा सिञ्चाइ विभागको सहसचिव हुँदा उनलाई सरकारले प्राधिकरणको नेतृत्व गर्न खटाएको थियो । उनी छुट्टै नियुक्ति नलिई सरकारी कर्मचारीको हैसियतमा प्राधिकरणको नेतृत्व गर्न पुगेका थिए । उनले पहिलोपल्ट २ वर्षका लागि प्राधिकरणको जिम्मेवारी सम्हालेका थिए ।
त्यतिबेला प्राधिकरणका एक सञ्चालक चिरञ्जीवी पौडेलको नेतृत्वमा बनेको समितिले कार्कीले भ्रष्टाचार गरेको ठहर गरेको थियो ।
त्यतिबेला कार्कीले खरिद गरेर ल्याएको ट्रान्सफर्मरका कारण दैनिक २ करोड रुपैयाँको विद्युत चुहावट हुने गरेको प्रतिवेदनमै उल्लेख छ । त्यसपछि कार्की २०७० को भदौ महिनामा पुनः प्राधिकरणको कार्यकारी निर्देशक बनाइए ।
करिब १० महिनाको दोस्रो कार्यकाल सम्हालेका कार्कीले राष्ट्रिय गौरवको आयोजना मानिएको ४५६ मेगावाट जडित क्षमताको तामाकोशीको लागत अस्वाभाविक रूपबाट ४५ अर्ब बढाउन चलखेल गरेका थिए ।
२०६५ सालमा निर्माण थाल्दा आयोजनाको लागत ३५ अर्ब २९ करोड ४१ लाख अनुमान थियो । निर्माण सम्पन्न हुँदासम्म ब्याजबाहेककै लागत ५४ अर्ब पुगेको माथिल्लो तामाकोशीको प्रतिवेदनमा उल्लेख छ ।
कम्पनी सञ्चालक समितिका एक सदस्यले भने, 'कार्कीकै पालामा माथिल्लो तामाकोशीको लागत बढाउने निर्णय भएको थियो । डलरको भाउ बढेको, पटक-पटक आयोजना अवरुद्ध हुँदा ब्याज बढेकोजस्ता कारण देखाएपनि बिचौलियालाई पोस्न संगठित रूपमै ४० अर्बभन्दा बढी खर्च गरिएको छ ।'
व्यावसायिक उत्पादन शुरू गरिसकेको माथिल्लो तामाकोशीको निर्माणमा अनुमानभन्दा साढे ३७ अर्ब रुपैयाँ बढी खर्च भएको थियो ।
तामाकोशी जलविद्युत उत्पादन कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनमा आयोजना निर्माण गर्न करिब ८६ अर्ब रुपैयाँ लागेको उल्लेख छ ।
माथिल्लो तामाकोशी शुरू गर्दा पनि कार्की नै प्राधिकरणका कार्यकारी निर्देशक थिए । उनले माथिल्लो तामाकोशीलाई स्वदेशी लगानीमा बनाउन आफूले अडान लिएको दाबी गर्ने गरेका छन् ।
त्यस्तै, कार्कीले चमेलिया आयोजनामा पनि भ्रष्टाचार गरेको आरोप लाग्ने गर्छ । उक्त आयोजनामा देखिएको टनेल खुम्चिने समस्यालाई देखाएर चिनियाँ ठेकेदार कम्पनी सीजीजीसीमाथि दबाब दिई अनावश्यक रूपमा बाह्य परामर्शदाता नियुक्त गर्न लगाएका थिए ।
उनले तत्कालीन समयमा ठेकेदारलाई सताउने, आयोजना लम्ब्याउने र कमिसन खाने गरेको विद्युत प्राधिकरणकै कर्मचारीहरू आरोप लगाउँछन् ।
यसबाहेक उनी ट्रान्सफर्मर खरिदमा पनि घोटाला गरेको आरोपमा मुछिएका व्यक्ति हुन् । लोकान्तरले उनीबारे 'विद्युत् प्राधिकरणको एमडीका लागि काण्डैकाण्डवाला पूर्वसचिव कार्कीको अस्वाभाविक दौडधूप' शीर्षकमा यसअघि नै समाचार प्रकाशित गरेको थियो ।
उनै कार्कीले विद्युत प्राधिकरणको एमडी बन्न अस्वाभाविक दौडधूप गरेका हुन् । यसबारे सोधिएको प्रश्नमा उनले आफूले एमडी बन्ने प्रयास नगरेको दाबी गरेका छन् ।
उनले भने, 'म प्राधिकरणको एमडीको क्यान्डिडेट नै होइन । मैले दौडधूप गरेको छैन ।'