०८ साउन २०८३, शुक्रबार

कारागार भवन निर्माणको सुस्त गति, १० मध्ये २ वटाको मात्र काम सकियो

फागुन २७, २०८१
काठमाडौं
कारागार भवन निर्माणको सुस्त गति, १० मध्ये २ वटाको मात्र काम सकियो

कैदीबन्दीको चाप बढेसँगै सरकारले निर्माण शुरू गरेका १० वटा कारागारमध्ये २ वटाको कामले मात्र पूर्णता पाएको छ ।

पाँचथर, मोरङ, हुम्ला, मुगु, जाजरकोट, सुर्खेत र बझाङ जिल्लाका कारागार भवन धमाधम निर्माण भइरहेका छन् । 

कारागार व्यवस्थापन विभागका अनुसार मोरङमा निर्माणाधीन कारागारको भौतिक प्रगति ९९ प्रतिशत छ । 

सम्झौताअनुसार पुरुष र महिलाका लागि छुट्टाछुट्टै जेल ब्लक, जेलर आवास ब्लक, नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यारेक, प्रशासनिक भवन, पुरुष र महिला भिजिटर ब्लकलगायत संरचना निर्माण सम्पन्न भएका छन् । कारागारको पुरानो भवनको संरचनामा सामान्य सुधार गर्ने काम भइरहेको छ । 

विभागकी प्रवक्ता कल्पना घिमिरेका अनुसार यो वर्षभित्रै मोरङमा नयाँ कारागार सञ्चालनमा ल्याउने तयारी छ । कारागारहरू शहरी विकास तथा भवन निर्माण विभागमार्फत निर्माण भइरहेका छन् । 

कारागार कार्यालय जाजरकोटको भवन निर्माणको भौतिक प्रगति जम्मा ४० प्रतिशत छ । 

गत असारमै सम्पन्न गर्नुपर्ने उक्त कारागार बजेट अभावका कारण समयावधिभित्र सम्पन्न हुन नसकेको घिमिरेले जानकारी दिए ।

पाँचथर कारागारको भौतिक प्रगति पनि ५५ प्रतिशत छ । महिला ब्लक, सशस्त्र प्रहरी ब्लक र जेलरको आवास निर्माण भएपनि पुरुष ब्लक भने निर्माण हुन बाँकी रहेको जानकारी घिमिरेले दिइन् ।

बझाङमा दोस्रो चरणमा कारागार निर्माण भइरहेको छ । भिजिटर ब्लक, पुरुष ब्लक र भान्सा ब्लकको निर्माण सम्पन्न भइरहेको छ । बिजुली जडानसँगै फिनिसिङको काम बाँकी छ । त्यस्तै, कारागार घेर्ने पर्खाल निर्माण गर्ने काम ३५ प्रतिशत बाँकी रहेको विभागले जनाएको छ । 

मुगुमा दोस्रो चरणमा कारागारको निर्माण भइरहेको छ । ७० प्रतिशत भौतिक प्रगति भएको यो कारागारको रंगरोगन र पर्खाल लगाउने काम भइरहेको छ । 

गत आर्थिक वर्षमा सम्पन्न भएको निर्माण कार्यको भुक्तानी बाँकी हुँदा हुम्लामा दोस्रो चरणको कारागार निर्माणको प्रगति ९५ प्रतिशतमा गएर अड्किएको छ । 

यो आर्थिक वर्षभित्र बोलपत्र मूल्यांकनको चरणमा रहेको जानकारी घिमिरेले दिइन् । 

१० वटा कारागारमध्ये सुर्खेत र केन्द्रीय कारागार भवन (दोस्रो चरणको) निर्माण सम्पन्न भइसकेको छ । 

क्षेत्रीय कारागार बाँकेस्थित नौवस्ता (तेस्रो चरण) मा डिटेल डिजाइन र लागतअनुमान तयार भएको छ । बजेट अभाव र स्रोत सुनिश्चितता नहुँदा खरिद प्रक्रिया अघि नबढेको विभागले जनाएको छ । 

विभागका अनुसार नयाँ कारागार नौवस्तामा ५६३ जना र नुवाकोटमा ७८१ जना कैदीबन्दी स्थानान्तरण गरिएको छ । 

यीबोहक छुट्टै ६६७ जना कैदीबन्दीलाई स्वास्थ्य उपचार तथा शान्ति सुरक्षाका लागि स्थानान्तरण गरिएको विभागले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्