२७ जेठ २०८३, बुधबार

कोशीबाट ८१ हजार विद्यार्थी एसईईमा सहभागी हुँदै

फागुन २८, २०८१
विराटनगर
कोशीबाट ८१ हजार विद्यार्थी एसईईमा सहभागी हुँदै

आउँदो चैत ७ गतेदेखि शुरू हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई‌)मा कोशी प्रदेशमा ८१ हजार ३६० विद्यार्थी सहभागी हुने भएका छन् ।

प्रदेशका १४ जिल्लामा तोकिएका ३७१ परीक्षा केन्द्रबाट ती विद्यार्थीले परीक्षा दिने व्यवस्था गरिएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले बुधबार पत्रकार भेटघाट आयोजना गरी साधारणतर्फ ७७ हजार ९५७, प्राविधिकतर्फ २ हजार ९७७ र खुला परीक्षार्थीतर्फ ४२६ जना गरी ८१ हजार ३६० विद्यार्थी एसईईमा सहभागी हुने जानकारी गराएको हो । 

कोशी प्रदेशमा सञ्चालन हुने परीक्षामा नियमिततर्फ ७२ हजार ६१३, ग्रेड वृद्धितर्फ ८ हजार ७४७ विद्यार्थी परीक्षामा सहभागी हुनेछन् । सबैभन्दा धेरै मोरङ जिल्लाको ७० परीक्षा केन्द्रबाट १८ हजार २२१ विद्यार्थीले एसईई परीक्षा दिनेछन् । झापाका ५७ परीक्षा केन्द्रबाट १७ हजार १०३, सुनसरीका ५० परीक्षा केन्द्रबाट १३ हजार ६१३ विद्यार्थी एसईई परीक्षामा सहभागी हुनेछन् । 

कोशी प्रदेशको तेह्रथुम जिल्लाबाट सबैभन्दा थोरै विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । तेह्रथुमका १४ परीक्षा केन्द्रबाट १ हजार १९४ विद्यार्थी एसईई परीक्षामा भाग लिने मन्त्रालयले जनाएको छ । त्यसपछि कम परीक्षार्थी सोलुखुम्बु जिल्लामा छन् । सोलुखुम्बु जिल्लाका १४ परीक्षा केन्द्रबाट १ हजार ७०२ विद्यार्थीले एसईई परीक्षा दिनेछन् । 

यस्तै, ताप्लेजुङको १७ परीक्षा केन्द्रबाट २ हजार २८३, ओखलढुंगाका १७ परीक्षा केन्द्रबाट २ हजार २३१ विद्यार्थी परीक्षामा सहभागी हुनेछन् । एसईई परीक्षा सञ्चालन हुने ३७१ परीक्षा केन्द्रमा ३७१ केन्द्राध्यक्ष, ५४६ सहायक केन्द्राध्यक्ष, ४ हजार ४५ निरीक्षक, ८०९ परीक्षा सहायक, १ हजार ६१६ सहयोगी गरी जम्मा ७ हजार ३८४ शिक्षक कर्मचारी र ५ हजार ५६५ सुरक्षाकर्मी परिचालन हुनेछन् । 

सबैभन्दा धेरै झापामा १ हजार ५३३ शिक्षक कर्मचारी र ८५५ प्रहरी सुरक्षाकर्मी परिचालित हुनेछन् । मोरङमा १ हजार ६३२ शिक्षक कर्मचारी र १ हजार ५० सुरक्षाकर्मी गरी २ हजार ६८२ जनशक्ति परिचालन गरिने छ । 

परीक्षाका लागि राष्ट्रिय परीक्षा बोर्डबाट प्रश्नपत्र छपाइ तथा वितरण हुने, उत्तरपुस्तिकाको व्यवस्थापन प्रदेशबाट शिक्षा विकास निर्देशनालय धनकुटाले गर्ने, उत्तरपुस्तिका परीक्षण तथा सम्परीक्षण कार्य प्रदेशबाटै हुने र नतिजा प्रकाशन सम्बन्धी सम्पूर्ण काम राष्ट्रिय परीक्षा बोर्डबाट हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्