०९ साउन २०८३, शनिबार
कोशी प्रदेशको पर्यटन वर्ष उद्घाटनको तयारी

प्रधानमन्त्रीले उद्‌घाटन गर्ने कार्यक्रम स्थलमा गुराँस नफुलेपछि तीनजुरेमा दमकलबाट सिचाईं

चैत २१, २०८१
विराटनगर
प्रधानमन्त्रीले उद्‌घाटन गर्ने कार्यक्रम स्थलमा गुराँस नफुलेपछि तीनजुरेमा दमकलबाट सिचाईं

कोशी प्रदेश सरकारले चैत २७ गते तेह्रथुमको तीनजुरे क्षेत्रबाट ‘पर्यटन वर्ष २०८२’को उद्घाटन गर्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटन वर्ष २०८२ उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।  

तीनजुरे लाली लालीगुराँसको राजधानी हो । तीनजुरे, मिल्के र जलजलेमा ३२ प्रजातिका गुराँस पाइन्छन् । नेपालमा पाइने ३६ मध्ये ३२ प्रजातिका गुराँस यही क्षेत्रमा पाइन्छन् । तीनजुरे, मिल्के र जलजले तेह्रथुम संखुवासभा र ताप्लेजुङमा पर्छ । प्रधानमन्त्रीलाई राताम्मे गुराँस देखाउने प्रदेश सरकारको योजना छ । 

तर, अहिलेसम्म सो क्षेत्रमा गुराँस फुलेको छैन । लाली गुराँस फूलाउन अहिले अनेकन् जुक्ति लगाउन थालिएको छ । फूल फूलाउन तीनजुरेमा दमकलबाट लगेर पानी फाल्न थालिएको छ । 

उद्घाटनमा गुराँस फुलोस् भनेर पानी लगाउने गरिएको जिल्ला समन्वय समिति तेह्रथुमका उप प्रमुख श्रीप्रसाद कार्कीले बताए । ‘ नगरपालिकाको दमकलबाट पानी ल्याएर हामीले सिचाईं गरेका छौ,’ उप प्रमुख कार्कीले भने, ‘यति गर्दा पनि प्रधानमन्त्रीले उद्घाटन गर्ने कार्यक्रममा गुराँस फुल्छजस्तो छैन ।’

तथापि पर्यटन वर्ष मनाउन सरकारले चालु वर्षको बजेटमा १० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । तर, चालु वर्षमा खर्च गर्न विनियोजन गरिएको रकम तीन महिनाको अवधिमा खर्च हुने सम्भावना भने छैन । 

पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले पनि गुराँस फूलाउन तेह्रथुमकै स्थानीयहरूले सिचाईं गरेको बताए  । 

null

कोशी प्रदेश पर्यटन वर्ष २०८२ उद्घाटनको नजिक आइपुग्दा पर्यटन, वन तथा वातावरण मन्त्रालयले पर्यटन वर्षको नारा, लोगो र मस्कट तयार पारेको छ । 

मन्त्रालयले कोशी प्रदेशको हिमाली क्षेत्रमा पाइने हाब्रेको मस्कट प्रयोग गर्ने निर्णय गरेको छ भने नेपाली राष्ट्रिय झण्डाको कभरमा विश्वमा कोशी टप्पुमामात्र पाइने अर्नाको प्रतिकसँगै सगरमाथा, पहाड, तराईं, कोशी नदी र सुन्दर प्राकृतिक सम्पदा झल्काउने प्रतीकहरू प्रयोगगरी बनाएको लोगो प्रयोग गर्ने भएको छ । 

कोशी प्रदेश पर्यटन वर्ष २०८२ मा धेरैभन्दा धेरै पर्यटक भित्र्याउन र उनीहरूलाई विभिन्न पर्यटकीय गन्तव्यहरूमा पुर्‍याई उचित बसोबास र सहज यात्राका लागि आवश्यक तयारीमा सरकारले काम गरिरहेको मन्त्री सदानन्द मण्डलले बताए । 

उनले भारतीय पर्यटकहरूको सहजताका लागि सीमा क्षेत्रबाट आउने भारतीय पर्यटकका गाडीहरूमा विशेष स्टिकर लगाउने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । यद्यपि उनले कोशी सरकारसँग कति पर्यटक आइरहेका छन् भन्ने तथ्याङ्क नभएको स्वीकार गरे । 

कार्यक्रममा कोशी प्रदेश पर्यटन पर्यटन वर्ष २०८२ को सचिवालयका सहसंयोजक  भविस कुमार श्रेष्ठले सरकारसँग पर्यटकको तथ्याङ्क अभाव रहेको भन्दै नेपाल राष्ट्र बैङ्कले भारतबाट प्रवेश गरेका गाडीको संख्याका आधारमा लिएको तथ्यांकबाहेक अरू विश्वस्त हुने तथ्यांकको अभाव देखिएको बताए । 

सरकारले पर्यटन वर्षको दौरानमा भारतसँगको चार मुख्य नाकामा पर्यटन सूचना केन्द्र स्थापनागरी तथ्याङ्क संकलनलाई व्यवस्थित गर्ने उनले विश्वास व्यक्त गरे । पर्यटन वर्षको तयारीकै सन्दर्भमा सरकारले ५०० पर्यटन सहयोगी (भोलेन्टियर्स)हरू तयार गरिरहेको पनि उनले बताए ।  

कोशी प्रदेशमा  चार वटा पाँचतारे होटेल सञ्चालनमा रहेको र विराटनगरमै थप चार वटा पाँचतारे होटेलहरू स्थापनाको क्रममा रहेकोले कोशी प्रदेश पर्यटन पूर्वाधारको दृष्टिले बलियो हुँदै गएको मन्त्रालयको दाबी छ ।  त्यस्तै, हजारौँ होटेल र दर्ता भएका १०४ वटा होमस्टेहरूले ग्रामीण पर्यटन विकास र प्रवद्र्धनमा योगदान गरिरहेको मन्त्रालयले जनाएको छ ।

‘पर्यटन वर्ष २०८२’ घोषणा गरेको सरकारले भारतीय पर्यटक धेरै ल्याउने बताएको छ । तर, भारतीय पर्यटकलाई नेपाल प्रवेश गर्दा सीमा क्षेत्रमा प्रवेशमा कडाइ गर्ने गरिएको छ । ‘सीमित पैसा ल्याएर मात्रै प्रवेश गर्न दिइन्छ,’ एक पर्यटन व्यवसायीले भने, ‘सरकारले यस्ता विषयमा ध्यान दिन सकेको छैन ।’ 

पर्यटकलाई स्थानीय उत्पादन खुवाएर पनि पैसा कमाउन सकिने भए पनि के खुवाउने भनेर अहिलेसम्म सरकारले तयारी नगरेको उनले बताए । विदेशी ब्रान्डकै रक्सी खान बाह्य पर्यटक नेपाल नआउने ती व्यवसायी बताउँछन् ।

salt training

कमेन्ट गर्नुहोस्