
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले गत शुक्रबार जिल्ला अदालत काठमाडौंमा भारतको केरलाका २ जनाविरुद्ध लागूऔषध मुद्दा दर्ता गर्यो ।
प्रतिवादी बनाइएका एन डेन्सिल र अजिथ कुन्नुमपुराउथ भार्की गत फागुन २३ गते राति नेपाल एयरलाइन्सको जहाजमा बैंककबाट काठमाडौं उत्रिएका थिए ।
होल्ड ब्यागेज एरियामा खानतलासी गर्दा डेन्सिलले बोकेको सुटकेशभित्र २ किलो ३०० ग्राम र भार्कीको सुटकेशभित्र ३ किलो ८०० ग्राम लागूऔषध गाँजा फेला पर्यो । उनीहरूले सुटकेशमा फल्सबटम बनाएर मामा चाउचाउको कार्टुनमा टिनको बट्टाभित्र गाँजा लुकाएर ल्याएका थिए ।
अनुसन्धान गर्दै जाँदा डेन्सिलले आफू केरलामा ‘मोडलिङ’को काम गर्ने र विगत ३ वर्षदेखि चिनेका बिजो नाम गरेका व्यक्तिको भर पर्दा फसेको बयान दिइन् । डेन्सिलका अनुसार बिजो फोटोग्राफीको काम गर्थे । ह्वाट्सएपमा कुरा हुँदा उनै बिजोले थाइल्यान्डको बैंकक घुम्न जान प्रस्ताव गरे ।
टु–वे टिकट र बस्ने होटलसहितको सुविधा हुने भनेपछि डेन्सिल घुम्न जान राजी भइन् । उनी २३ फेबु्रअरी २०२५ मा रेल चढेर मद्रास पुगिन् । त्यहाँ पुगेपछि बिजोले भार्कीलाई सम्पर्क गर्न भने । भार्कीसँगै २५ फेब्रुअरीमा मद्रासबाट बैंकक पुगेको बयान उनले दिएकी छन् ।
बैंककमा होटलमै बसिरहेका बेला २ दिनपछि केरलाकै म्याक्सिन नाम गरेका व्यक्ति र अर्का एकजना भारतीय नागरिक (मलालयम बोल्ने) सँग भेट भयो । उनीहरूले बिजोले आफूहरूलाई भेट्न पठाएको भन्दै डेन्सिललाई १० हजार भाट दिएर घुम्न भने । ६ मार्चमा म्याक्सिनसहित २ जना आएर चारवटा टिनको बट्टा दिएर सुरक्षित पुर्याइदिन भनेको उनको बयान छ ।
बट्टाभित्र चकलेट रहेको र मद्रास पुर्याइदिन भनेपछि आफूहरू सामान प्याक गरेर ७ मार्चमा काठमाडौंका लागि उडेको उनले बताएकी छन् । नेपाल एयरलाइन्सको उडान नम्बर आरए ४०२ मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिनेबित्तिकै एक्स–रे गर्दा शंकास्पद वस्तु देखिएपछि खानतलासी गर्दा २ जनाले बोकेको सुटकेशभित्र चारवटा टिनको बट्टामा गाँजा फेला पर्यो ।
डेन्सिलले ती बट्टामा गाजा रहेको कुरा आफूहरूलाई थाहा नभएको बयान दिएकी छन् ।
‘बिजोले बैंककको टिकट र होटलमा बस्ने सुविधा दिने भएपछि आफू बैंकक गएको तर, बट्टामा गाँजा रहेको आफूलाई थाहा नभएको बयान उनले दिएकी छन्,’ सरकारी वकिल कार्यालयको अभियोग पत्रमा भनिएको छ, ‘७ वर्षदेखि केरलामै फोटोग्राफीको काम गर्ने बिजोको भरपर्दा यो घटना आइलाग्यो ।’
प्रहरीले डेन्सिल र भार्कीबाट बरामद भएको धूलो परीक्षणका लागि खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशाला पठाउँदा गाँजा नै रहेको पुष्टि भएको थियो ।
सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता पूर्णबहादुर केसीले दर्ता गरेको अभियोग पत्रमा प्रतिवादी डेन्सिल र भार्कीविरुद्ध लागूऔषध नियन्त्रण ऐन, २०३३ को दफा ४, दफा १४ र अपराध पीडित संरक्षण ऐनको परिच्छेद –५ कसुरमा सजायको मागदाबी लिइएको छ ।
ऐनको दफा १४ मा २ किलोग्रामदेखि १० किलोग्रामसम्म गाँजासहित पक्राउ परेमा १ वर्षदेखि ३ वर्षसम्म कैद र ५ हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ ।