
पाँच वर्षअघि शुरू भएको कोभिड–१९ महामारीले विश्वका साना मात्र होइन, ठूला राष्ट्रलाई पनि आर्थिक चपेटामा पार्यो । सन् २०१९ को उक्त महामारीको प्रभावबाट बाहिर आउन कैयौं राष्ट्रहरूलाई हम्मेहम्मे पर्यो । नेपाल पनि त्यस्तै अवस्थाबाट गुज्रियो ।
नेपालको पर्यटन क्षेत्रमा सबैभन्दा पहिले र ठूलो प्रभाव पर्यो । कैयौं पर्यटन व्यवसायी पलायन समेत भए । तर, केही वर्षमै यस क्षेत्रमा ‘रिकभरी’ शुरू भयो । फलस्वरूप अहिले पाँच वर्षपछि अवस्था सुधारोन्मुख देखिएको छ ।
हरेक वर्ष करिब ८/१० लाख पर्यटक भित्रिने तथ्यांक कोरोना कारण करिब १ देखि २ लाखमा खुम्चिएको नेपाल पर्यटन बोर्डको तथ्यांकले देखाउँछ । पर्यटकहरूबाट हुने करिब ६० अर्बदेखि ७० अर्बसम्म आम्दानी महामारीले ७ अर्बमा खुम्चाइदिएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।
महामारीको प्रभाव सकिएको करिब पाँच वर्ष बितिसकेको छ । तर, आर्थिक रूपमा चपेटामा परेका क्षेत्रहरू अझै बाहिर आउन सकेका छैनन् । पर्यटन क्षेत्र भने विस्तारै विस्तारै बाहिर आइरहेको छ । जुन कुरा तथ्यांकले पनि पुष्टि गर्छ ।
तथ्यांकमा हेरौं
सन् २०१९ मा ११ लाख ९७ हजार १९१ पर्यटक भित्रिएका थिए । कोभिडपछि सन् २०२० मा २ लाख ३० हजार ८५ र सन् २०२१ मा १ लाख ५० हजार ९६२ पर्यटक नेपाल भित्रिएका थिए । तर, २०२२ देखि पर्यटकको संख्यामा केही वृद्धि शुरू भयो र यसवर्ष ६ लाख १४ हजार ८६९ पर्यटक घुम्न नेपाल आए ।
सन् २०२३ मा पर्यटकको संख्या बढेर १० लाख १४ हजार ८८२ पुग्यो भने, सन् २०२४ मा ११ लाख ४७ हजार ५६७ पर्यटक नेपाल भित्रिएका छन् ।
पर्यटकको आगमन आँकडामा बढे पनि उनीहरूको समयावधि र खर्च दुवै खुम्चिएको पर्यटन व्यवसायी राजन सिम्खडा बताउँछन् ।
‘वर्षभरी आएका पर्यटक सबै घुम्नकै लागि आएका थिए भन्ने छैन । एनआरएनहरू पनि नेपाल आएका थिए । यसबाहेक आफ्नो परिवारलाई भेट्न विदेशी कार्डहोल्डरहरू पनि आएका थिए । कतिपय कामका लागि नेपाल आएका हुन्छन् । त्यसैले पर्यटक मात्रै यति आए भन्ने यकिन तथ्यांक छैन’, उनले भने, ‘कोभिड-१९ को समयमा ठप्प भएको पर्यटन क्षेत्र रिकभरि त हुँदै छ । पूर्ण रूपमा रिकभर भएको भने भन्न मिल्दैन ।’
नेपालको पर्यटन क्षेत्रलाई डाइभर्सिफाइ गर्न आवश्यक रहेको उनको भनाइ छ ।
पर्यटनबाट हुने आम्दानी पनि बढ्दो
बर्सेनि नेपाल घुम्न आउने पर्यटकबाट अर्बौंको आम्दानी हुने गरेको छ । तर, कोभिड-१९ मा पर्यटक घटेसँगै आम्दानी पनि घटेको थियो । अहिले यस्तो आम्दानी केही मात्रामा बढ्दै गइरहेको देखिन्छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७२/७३ मा नेपालले पर्यटकबाट ४१ अर्ब ७३ करोड रूपैयाँ आम्दानी गरेको थियो । जुन कोभिडमा घट्दै अहिले पुरानै लयमा फर्किसकेको छ ।
यसलाई पनि तथ्यांकमा हेरौं
आर्थिक वर्ष २०७३/७४ मा ५८ अर्ब ५३ करोड, आर्थिक वर्ष २०७४/७५ मा ६७ अर्ब ९ करोड, आर्थिक वर्ष २०७५/७६ मा ७३ अर्ब ५७ करोड र आर्थिक वर्ष २०७६/७७ मा ६० अर्ब ८९ करोड रूपैयाँ भ्रमण शीर्षकमा भित्रिएको देखिन्छ । तर, आर्थिक वर्ष २०७७/७८ मा यो आँकडा घटेर ७ अर्ब २७ करोडमा खुम्चियो ।
आर्थिक वर्ष २०७८/७९ केही मात्रामा पर्यटक भित्रिएसँगै यस क्षेत्रको आम्दानी अथवा कारोबार ३२ अर्ब ४५ करोड भएको थियो । यस्तो आम्दानी आर्थिक वर्ष २०७९/८० करिब दुई गुणाले बढेर ६१ अर्ब ५२ करोड र आर्थिक वर्ष २०८०/८१ मा पनि करिब डेढ गुणाले बढेर ८२ अर्ब ३३ करोड पुग्यो ।
चालु आर्थिक वर्षको सात महिनामै पर्यटकबाट ४९ अर्ब २१ करोड रूपैयाँको आम्दानी भइसकेको छ ।
यो केवल तथ्यांकमा देखिएको झलक हो । वास्तवमा पर्यटन क्षेत्रको विकासका लागि अझै कुनै पनि सरकारले प्राथमिकतामा नराखेको पोखराका होटल व्यवसायी चक्र सुवेदी बताउँछन्।
देशको परराष्ट्र नीति, गृह नीति र आर्थिक नीतिमा सहजीकरण गर्न सकेमा पर्यटन क्षेत्रबाट देशको मुहार फेर्न सकिने उनको भनाइ छ ।
‘पर्यटकको आगमन हाम्रो क्षमताभन्दा १० गुणा कम भइरहेको छ । अर्थात् होटलहरूले ५० लाख पर्यटकलाई सेवा दिन सक्छन् भने केवल १० लाखलाई मात्रै दिइरहेको अवस्था हो’, उनले भने, ‘होटल व्यवसायीले आफ्नो अपरेटिङ मात्रै धान्न सकिरहेका छन्, त्यो पनि सीमितले । यो क्षेत्र प्राथमिकतामा परेको छैन । यसलाई प्राथमिकतामा राखेर सरकारले रणनीति बनाउने हो भने, हामीले केही वर्षमै यसै क्षेत्रबाट कायापलट गर्न सक्छौं ।’