०५ साउन २०८३, मंगलबार

अस्पतालको भीआईपी कक्षलाई तीन महिनादेखि ‘कारागार’ बनाइरहेका एमाले नेता सिवाकोटी

चैत ३०, २०८१
विराटनगर
अस्पतालको भीआईपी कक्षलाई तीन महिनादेखि ‘कारागार’ बनाइरहेका एमाले नेता सिवाकोटी

आफ्नै घरमा काम गर्ने किशोरीलाई बलात्कार गरेको मुद्दा लागेका एमालेका एक नेताले तीन महिनादेखि अस्पताललाई नै कारागार बनाइरहेका छन् ।

किशोरीलाई बलात्कार आरोपमा पक्राउ परेका झापाको बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार सिवाकोटीलाई अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश गरेको थियो । तर, उनी तीन महिनाभन्दा बढी समयदेखि बीएन्डसी अस्पतालको भीआईपी कक्षमै बसेर सजाय कटाइरहेका छन् । 

गत पुस २२ गते झापा जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश गरेको थियो । तर, उनले एक दिन पनि कारागारमा बस्नु परेको छैन । उनी नेकपा एमालेका नेता हुन् । मंसिर २४ गते पक्राउ परेका उनी अनुसन्धानका क्रममा पनि हिरासत बस्नु परेन ।

प्रहरीले सिवाकोटीलाई अस्पतालमै निगरानी गरेर राखेको छ । उनी बिरामी भएकाले अस्पतालमै राखेर निगरानी गरिरहेको झापा प्रहरी प्रवक्ता, डीएसपी कृष्णबहादुर चन्दले बताए । अदालतले नै अस्पतालमा राखेर उपचार गर्नु भनेकाले त्यही अनुसार गरिएको उनले जनाए । 

बीएन्डसी अस्पताल विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंको हो । जो तीनकुने घटनाको मुख्य आरोपीका रूपमा शुक्रबार मात्र पक्राउ परेर अदालतको अनुमतिले काठमाडौं प्रहरीको हिरासतमा छन् । एमाले नेता भने उनकै अस्पतालमा सजाय कटाइरहेका छन् । 

अदालतमा सिवाकोटीले आफू बिरामी भएको बताएपछि इजलासले उपचारको व्यवस्था गर्नु भन्ने आदेश दिएको थियो । त्यही आदेशमा टेकेर सिवाकोटीले कारागार छलिरहेको आरोप छ ।

सिवाकोटीले २३ वर्षदेखि प्रेसर र ३७ वर्षदेखि सुगरको बिरामी भएको बयान दिएका थिए । उनको निगरानीका लागि ४ जना प्रहरी परिचालन गरिएको प्रहरी स्रोतले बतायो ।

के थियो घटना ?
२०७४ सालमा बुवाआमाको मृत्यु भएपछि सहाराविहीन भएकी भारतको आसाम बस्ने बालिकालाई सिवाकोटीले बलात्कार गरेको आरोप लागेको छ । गरिबीको फाइदा उठाएर सिवाकोटीले बलात्कार गरेको आरोप छ । आफ्नै घरमा राखेर पढाउने भन्दै ती किशोरीलाई सिवाकोटीले जिम्मा लिएका थिए ।

नातिनीको लागि सहयोग माग्दै ती किशोरीकी हजुरआमा २०७४ मा नगरपालिका पुगेकी थिइन् । आफ्नो घरमा काम गर्नेको अभाव रहेको भन्दै सिवाकोटीले पढाउने वाचासहित राखेका थिए । 

ती किशोरीले सिवाकोटीलाई बुवा भनेर सम्बोधन गर्दै आएकी थिइन् । तर, बालिकालाई सिवाकोटीले पटक–पटक बलात्कार गरेको पीडितको जाहेरीमा उल्लेख छ । कक्षा ६ मा पढ्दादेखि नै सिवाकोटीले पटक–पटक बलात्कार गरेको पीडितले बयान दिएकी छन् । 

सिवाकोटीकी श्रीमती विदेश गएको बेला बलात्कार गरेको र कसैलाई सुनाएमा घरबाट निकालिदिने धम्की दिएको पीडितको भनाइ छ ।

स्कूलमा फी तिर्न र कापी किताब किन्न पैसा माग्दा पनि ‘सेक्स गर’ अनि मात्रै दिन्छु भनेपछि आफू बाध्य भएको पीडितले बताएकी छन् । सिवाकोटीले पोर्न भिडियो देखाएर आफूमाथि बलात्कार गरेको उनले बयानमा दिएकी छन् । ५ सय रूपैयाँ दिएर समेत सिवाकोटीले बलात्कार गरेको उनको बयान छ ।

पटक–पटक बलात्कारमा परेपछि पीडित बालिका गत मंसिर २४ गते बिहान कलेज जान्छु भनेर सिवाकोटीको घरबाट निस्किएर भारत हिँडेकी थिइन् । ठूलीआमा भारतको आसाममा बस्ने भएकोले उतै जाने सोच बनाएर हिँडेकी उनलाई काँकडभिट्टाबाट आफन्त नेपाल नामक संस्थाले उद्धार गरेको थियो । 

त्यसपछि सोधखोज गर्दा बलात्कारको पीडा सहन नसकेर उनी भारत जान खोजेको खुलेको थियो । पीडित किशोरी हाल जम्मा १५ वर्षकी छन् । 

कमेन्ट गर्नुहोस्