
एउटा सटर कोठा । लस्करै मिलाएर बेच्न राखिएका कपडा । चिटिक्कको सपिङ सेन्टर भन्न मिल्ला । जहाँ डिजाइन–डिजाइनका कपडा पाइन्छन् । जसमा मूल्य सूची शुरू भएको छ केवल १० रूपैयाँदेखि ।
न्यून आय भएका परिवारदेखि दिगो प्रयोगमा जोड दिने सबैले यो सेन्टरलाई आफ्नो सपिङ स्टेसनको रूपमा प्रयोग गर्न सक्छन्, जुन हो – सुखावती स्टोर ।
काठमाडौंदेखि शुरू भएको यो स्टोर पोखरामा रहेको थोरैलाई थाहा होला । जसले तपाईंलाई पुरानो लागेका पुनः प्रयोग गर्न मिल्ने कपडा लिन्छ ।
पुनः प्रयोगमा जोड दिँदै सन् २०१४ मा चिजमान गुरुङले काठमाडौंमा सुखावती स्टोर सञ्चालनमा ल्याए । सडकबाट शुरू भएको स्टोर सटर हुँदै अर्को शहरसम्म पुग्यो । जसले प्रमुखत: वातावरण संरक्षणका लागि पुनः प्रयोगमा जोड दिन्छ ।
पोखरामा सुखावती स्टोर सन् २०२३ देखि सञ्चालनमा आएको हो । चिजमान पोखराकै भएपनि यहाँ स्टोर खुलेको थिएन । सोही क्रममा जुना श्रेष्ठको ध्यान सुखावती स्टोरसम्म गयो । नेपाल फर्किएपछि दिगो विकासमा प्रभावपूर्ण काम गर्न चाहेकी जुनाले खोज्दै जाँदा सुखावती भेटिन् । केही वर्ष सुखावतीसँग भोलिन्टियरको रूपमा जोडिइन् ।

औपचारिक रूपमा अक्टोबर २०२३ देखि पोखरामा सुखावती शुरू भयो । शुरूमा सुखावती विरौटाको पावरहाउस नजिक राखिएको थियो ।
‘एउटा स्पेस पायौं । नि:शुल्क ६ महिन जस्तो पावरहाउस नजिक पायौं । त्यहाँ शुरू गर्यौं । तर, पब्लिक बस जाँदैनथियो । टाढा भयो त्यो ठाउँ’, जुनाले भनिन् ।
बजारबाट थोरै भित्र पर्ने भएपनि पावरनजिक रहेको सुखावती स्टोरमा मानिस आफ्नो कपडा छोड्न आउँथे । सुखावतीले कपडामा मात्र होइन; घरको भान्छाका सामान, फर्निचर पनि लिन्छ । घरमा आफूलाई पुरानो लागेको तर, प्रयोग गर्न मिल्ने यी सामान सुखावतीलाई नि:शुल्क दिएपछि सुखावतीले निकै कम शुल्कमा यसलाई बेच्छ । यसरी आम्दानी भएको रकम सुखावतीले समाजसेवाका विभिन्न काममा खर्च गर्दै आएको छ ।
वेस्ट एण्ड रिसोर्सेस एक्सन प्रोग्रामद्वारा २०२१ मा गरिएको एक अध्ययनले नयाँ किन्ने तुलनामा सेकेन्ड ह्यान्ड कपडाको प्रयोग गर्दा वा किन्दा कार्बन फुटप्रिन्टको ६० प्रतिशतसम्म बचत हुने देखाएको छ । कपडा उत्पादन र प्रयोगपछिको विसर्जनले वातावरणलाई प्रदूषित गर्छ । जसकारण पनि पछिल्ला वर्षहरूमा संसारभर नै थ्रिफटको बजारले राम्रो आम्दानी गरिरहेको छ ।
पुनः प्रयोगले फोहोर र उत्सर्जनमा कटौती गर्छ । दिगोपनतर्फको व्यावहारिक कदम भएकाले आजभोलि विदेशी मुलुकमा नयाँ किन्नुको सट्टा पुनः प्रयोगमा जोड दिन थालिएको छ ।
यो पुनः प्रयोगको धारणाले वातारणमा भूमिका खेल्ने नै भयो । न्यून आय भएका परिवारलाई पनि यसले मद्दत पुर्याउँछ ।

‘न्यून आय भएकोलाई पनि केही किने जस्तो हुन्छ । यत्तिकै लिँदा मान्छेहरूलाई अझैपनि गाह्रो हुन्छ । मन नपरी पनि लिनुपर्छ । तर, यहाँ छानेर मान्छेलाई मैले केही किनेको छु, यसमा मेरो पैसा परेको छ भनेर लिन पाउँछ । त्यसमा पैसाको महत्त्व पनि हुन्छ’, जुनाले सुनाइन् ।
विश्वव्यापी रूपमा नै वातावरण प्रदूषण घटाउनका लागि पुनः प्रयोगमा जोड दिइरहँदा हाम्रोमा भने केही भ्रम रहेको जुना सुनाउँछिन् । पुनः प्रयोगबारे अझैपनि नकारात्मक धारणा रहेको उनको भनाइ छ ।
यस्तै, स्टोरमा कतिपय कपडा पुनः प्रयोगयोग्य आउँदैनन् । ४० प्रतिशत कपडा लगाउन नमिल्ने आउँछन् । त्यसलाई बेच्न नमिले पनि स्टोर सकेसम्म तिनलाई प्रयोगमा ल्याउँछ ।
‘एउटा सारी आएको थियो प्वाल परेको । त्यसलाई हामीले कपाल बाँध्ने बनायौं । केही पनि गर्न नमिल्ने कपडालाई चाहिँ हामी पेल्न दिन्छौं । सकेसम्म नफालौं’, उनले भनिन् ।
मानिसहरू अरुले प्रयोग गरेको कपडा पुन: लगाउन हिच्किचाउँछन् । तर, कुनैपनि वस्तु धोएपछि सफा हुने उनी बताउँछिन् । आफूले प्रयोग गरेका कपडा फोहोरमा थुप्रिएर वातावरण प्रदूषित गर्नुको साटो अरूलाई प्रयोगमा आउनु राम्रो रहेको उनको भनाइ छ । उनीपनि आफू पुनः प्रयोगमा जोड दिन्छिन् ।
