
सत्तामा रहेको, त्यसमाथि पनि सरकारकै नेतृत्व गर्ने पार्टीले सामान्यतया विरोध प्रदर्शनजस्ता कार्यक्रम राख्दैनन् । हाम्रो संसदीय व्यवस्थामा प्रमुख प्रतिपक्षी र विपक्षीले खबरदारीस्वरूप यस्ता कार्यक्रम राख्ने गर्छन् । सरकारलाई खबरदारी गर्न, चुनाव नजिकिँदा जनमत देखाउन र कुनै मुद्दामा राज्यको ध्यान केन्द्रित गर्न खबरदारी सभा राखिन्छन् ।
तर, सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेले यही वैशाख ११ गते काठमाडौंमा युवा महोत्सवका नाममा शक्ति प्रदर्शन गर्दैछ ।
‘युवा सेलिब्रेसन’को नाममा गरिने कार्यक्रममा १ लाख युवा उतार्ने एमालेको घोषणा छ । एमाले उप–महासचिव प्रदीप ज्ञवालीले दोस्रो जनआन्दोलन २०६२/६३ ताका जन्मिएको पुस्तालाई लोकतन्त्रको महत्त्व र यसप्रति अपनत्व दिलाउन कार्यक्रम गर्न खोजिएको बताए ।
‘हामीले खास गरेर युवालाई लोकतन्त्रसँग जोड्न खोजेका हौं । लोकतन्त्र खोसिएको पीडा र स्वतन्त्रताको अभाव यो पुस्ताले भोग्नुपरेको छैन । यसैले लोकतन्त्रप्रति अपनत्व र महत्त्व बुझ्नलाई कमी भयो कि भन्ने हाम्रो बुझाइ हो । यस्तो हुँदा चुनौती खडा हुन्छ । लोकतन्त्रको रक्षा यसको स्वामित्व कायम हुँदा हुने हो,’ ज्ञवालीले भने, ‘थाहा नहुँदा नयाँ पुस्ताले यसको स्वामित्व ग्रहण गर्दैन कि भन्ने पनि हो । २०६२/६३ मा आएको परिवर्तनताका र त्यसयता जन्मिएको पुस्ता २०/२२ वर्ष हाराहारीको भइसकेको छ । यसैले हामीले इतिहास सम्झाउनुपर्ने आवश्यकता महसुस गरेर वैशाख ११ गते यो कार्यक्रम राखेका हौं ।’
नागरिकमा विकास, समृद्धि र अमनचयनको भोक भए पनि उन्नतिको आधार नै लोकतन्त्र र यसले व्यवस्था गरेका संस्था भएको सन्देश दिनु अपरिहार्य रहेको उनले बताए ।
‘लोकतन्त्रको अर्थ नेता विशेषका लागि होइन, समाज, राजनीति र देशका लागि हो । जनताले ठूलो त्याग, तपस्या र बलिदान गरेर यति ठूलो परिवर्तन गरे । विकास, समृद्धि र अमचयनमा जनताको भोक पनि यही लोकतन्त्रले स्थापित गरेका संस्थाले पूरा गर्ने हुन्,’ ज्ञवालीले भने, ‘लोकतन्त्रको आयाम एकदमै फराकिलो पनि छ । लोकतन्त्रको विकल्प लोकतन्त्रको बाटो नै हो र हाम्रो उन्नतिको आधार पनि यही हो भन्ने देखाउनुपर्नेछ । युवालाई ध्यानाकर्षण गराउनुपर्नेछ । हाम्रो कार्यक्रमको राजनीतिक उद्देश्य यही हो ।’
पछिल्लो समय राजावादीहरूले संविधान, गणतन्त्र, संघीयतासहितका विषयमा धावा बोलेपछि एमालेले लोकतन्त्र दिवसकै अवसर पारेर शक्ति प्रदर्शन गर्दै सन्देश दिन खोजेको हो ।
२०६२/६३ मा भएको १९ दिने जनआन्दोलनपछि वैशाख ११ गते पूर्वराजा ज्ञानेन्द्र शाहले विघटित प्रतिनिधिसभा पुनःस्थापना गरेका थिए । ज्ञानेन्द्रले २०५९ र २०६१ मा गरेको प्रत्यक्ष शासन अन्त्य भएको अवसर पारेर एमालेले राजावादीविरुद्ध खबरदारी गर्न खोजेको हो ।
जनताले जितेको दिनलाई उत्सव मानेर एमालेले युवाहरूकै मुख्य सहभागितामा काठमाडौंकेन्द्रित कार्यक्रम गर्न लागेको हो ।
जनताले जितेको दिनलाई युवा महोत्सवका रूपमा मनाउने र यसमा ४० वर्ष मुनिका युवालाई बढी प्राथमिकतामा राखेर उतार्ने एमालेको तयारी छ । पछिल्लो समय एमालेको साथमा युवा छैनन् भन्नेलाई सन्देश दिने दाबी नेताहरू गर्छन् । अध्यक्ष ओलीले विशेष सम्बोधन गर्ने, कन्सर्ट गर्ने र युवाहरू आफ्नो पक्षमा रहेको देखाउने तयारी एमालेको छ ।
अध्यक्ष केपी ओलीले ११ गतेको कार्यक्रम प्रदर्शनभन्दा पनि युवाहरूको ‘सेलिब्रेसन’का रूपमा गर्न लागेको बताउँदै आएका छन् ।
‘केहीले भन्ने गरेका छन्, एमालेको साथमा युवा नै छैनन् । एमालेमा युवाहरू सिध्दिए भन्नेहरूलाई हामी जवाफ दिन चाहन्छौं । म चुनौती दिएर भन्छु, हामीले जति युवालाई भेला पार्न कसैले पनि सक्दैन,’ ओलीले केही दिनअघि वैशाख ११ गतेको कार्यक्रमबारे भनेका थिए, ‘युवाहरू आफ्नो सामर्थ्यको पूर्ण प्रयोग गरेर देशका निम्ति जुट्नुपर्छ । आफ्नो पेशागत काम र परिवारको हेरचाहमा पनि लाग्नुपर्छ ।’
युवा शक्तिको सामर्थ्य प्रतिक्रियावादी शक्तिलाई देखाउन चाहेको ओलीले बताएका छन् ।
एमाले महासचिव शंकर पोखरेलले जनताले जितेको दिन वैशाख ११ गते युवाले भविष्य निर्माणको संकल्प गर्ने दिन भएको प्रस्ट्याएका छन् । लोकतन्त्रले जितेको दिनलाई ‘युथ सेलिब्रेसन’ विशेष कार्यक्रम गरेर मनाउने तयारी भएको उनको भनाइ छ ।
सत्तामा रहेको एमालेले व्यवस्थाविरोधीलाई जवाफ दिन पार्टीको सम्पूर्ण संयन्त्र परिचालन गर्ने बताएको छ । यही कार्यक्रमबारे सोमबार भर्चुअल बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले नयाँ पुस्तामा राजनीतिक परिवर्तनको महत्त्व स्थापित गर्नका लागि युवाहरूलाई सहभागी गराउन खोजेको बताएका छन् ।
पार्टीका केन्द्रीय सदस्यहरू, प्रदेश कमिटी र जिल्ला कमिटीका अध्यक्षहरूका साथै जनप्रतिनिधिहरूको सहभागितामा भर्चुअल बैठक गर्दै महासचिव पोखरेलले कार्यक्रमलाई ऐतिहासिक बनाउने बताए, जसमा देशभरका युवाको सहभागिता बढाउन व्यवस्थित तयारी गर्न समेत उनले निर्देशन दिएका छन् ।
कार्यक्रममा स्थानीय युवालाई काठमाडौं ल्याउने कामको अगुवाइ गर्न र अनिवार्य उपस्थित हुन जनप्रतिनिधिहरूलाई उनले निर्देशन दिएका छन् ।
देशभरका ६७४३ वटै वडाबाट एक महिलासहित कम्तीमा दुई जनालाई अनिवार्य सहभागी गराउन पनि निर्देशन दिएका छन् । यस्तो कार्यक्रमले युवालाई राजनीतिमा जोड्ने कुरालाई प्रोत्साहन गर्ने र लोकतन्त्रको महत्त्व बुझाउने उनको दाबी छ ।
प्रतिगामी हर्कतलाई निस्तेज पार्न र एमालेमाथिको आक्रमणलाई रोक्न पनि यस्तो कार्यक्रम राखिएको पोखरेलले बताए ।
‘प्रतिगामी तथा प्रतिगमनकारी तत्त्वहरू वर्तमान शासन व्यवस्था, राजनीतिक परिवर्तनप्रति अनास्था र वितृष्णा पैदा गर्ने दुष्प्रयास गरिरहेका र नेकपा (एमाले) तथा यसको नेतृत्वमाथि संगठित र नियोजितरूपमा प्रहार गरिरहेका छन्,’ भर्चुअल बैठकमा पोखरेलले भने, ‘गणतन्त्र रक्षाका लागि पार्टीेले शुरू गरेको सचेतना कार्यक्रम र युथ सेलिब्रेसनबाट राजनीतिक परिवर्तनमार्फत प्राप्त उपलब्धि रक्षा र प्रतिगमनकारी हर्कत सदाका लागि समाप्त पार्न सहयोगी हुनेछ । युवालाई भविष्यप्रति आशावादी बनाउन सन्देश दिनेछ ।’