०२ साउन २०८३, शनिबार
कोषको जग्गामा बालुवाखानी प्रकरण

भ्रष्टाचार मुद्दामा पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्यसचिवसहित नौ जना दोषी [फैसलाको पूर्णपाठ]

जेठ ५, २०८२
काठमाडौं
भ्रष्टाचार मुद्दामा पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्यसचिवसहित नौ जना दोषी [फैसलाको पूर्णपाठ]

पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्यसचिव निर्मल कुइँकेलसहित नौ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । 

कोषको जग्गामा बालुवाखानी सञ्चालन गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरू दोषी ठहर भएका सर्वोच्च अदालतले जनाएको छ । दोषी ठहर हुनेमा तत्कालीन काठमाडौं जिल्ला विकास समितिका सभापति समेत छन् । 

सर्वोच्चले विशेष अदालतको फैसला उल्ट्याउँदै उनीहरूलाई दोषी ठहर गरेको हो । यसअघि विशेषले भने प्रमाण नपुगेको भन्दै सफाइ दिएको थियो ।

कोष र कर्मचारीको मिलेमतोमा काठमाडौं जिल्ला साविकको गोठाटार गाविस–३ को कित्ता नम्बर ५९ र ८४ तथा वडा ४ को कित्ता नम्बर ८० को ५३४ रोपनी जग्गाहरूमा अवैध रूपमा रूख कटान एवं बालुवा तथा माटो उत्खनन् गरी पशुपति क्षेत्र विकास कोषलाई हानिनोक्सानी पुर्‍याइ जिविस शुल्क तथा रोयल्टी समेत छली गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २०७१ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

यो मुद्दामा विशेषले सफाइ दिने फैसला सुनाएपछि आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको थियो । सोही पुनरावेदनमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले उनीहरूलाई दोषी ठहर गरेको हो । गत माघ ९ गते भएको फैसलाको पूर्णपाठ  सोमबार सार्वजनिक भएको छ । 

कोषका तत्कालीन सदस्यसचिव कुइँकेललाई ६ वर्ष कैदसहित ८३ लाख ४१ हजार ६६६ रूपैयाँ असुलउपर गरी त्यति नै जरिवाना हुने फैसला भएको छ । 

फैसला अनुसार कोषकै अर्का तत्कालीन सदस्य सुशील नाहटालाई पनि समान ६ वर्ष कैदको सजाय गर्दै ९१ लाख ६३ हजार रूपैयाँ विगो कायम गरी त्यति नै जरिवाना असुल गर्न भनिएको छ।

कोषका तत्कालीन निर्देशक राजुकुमार रेग्मी र तत्कालीन योजना अधिकृत भीष्मकुमार मल्ललाई ६ महिना कैद र दुई लाख ३७ हजार ६६६ जरिवाना तोकिएको छ ।

काठमाडौं जिल्ला विकास समितिका तत्कालीन स्थानीय विकास अधिकारी गोपाल पराजुलीलाई पनि समान ६ वर्ष कैदसहित एक करोड २२ लाख रूपैयाँ असुल गरी त्यति नै जरिवाना तोकिएको छ । 

तत्कालीन स्थानीय विकास अधिकारी महेन्द्रलाल श्रेष्ठलाई चार वर्ष कैद र ७८ लाख ५३ हजार ३९३ रूपैयाँ जरिवाना, प्रेमराज जोशीलाई ६ महिना कैद दुई लाख ३७ हजार ६६६ रूपैयाँ जरिवाना तोकिएको छ । 

बालुवाखानीका ठेकेदार मिठ्ठाराम दाहाललाई दुई लाख ३७ हजार ६६६ रूपैयाँ र बच्चुराम दाहाललाई १२ करोड ९९ लाख ८४ हजार ३५७ रूपैयाँ जरिवाना हुने फैसला गरिएको छ । 

हेर्नुहोस् फैसलाको पूर्णपाठ :

salt training

कमेन्ट गर्नुहोस्