
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई पक्राउ गरेर छानबिन थालेको छ ।
तस्करबाट लाखौं असुली गरेको प्रमाणसहित उजुरी परेपछि बुधबार दिउँसो अख्तियारको टोलीले भट्टराईलाई नियन्त्रणमा लिएको हो । साथै, अख्तियारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा पनि छापा हानेर महत्त्वपूर्ण दस्तावेजहरू नियन्त्रणमा लिएको छ ।
भट्टराई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुख अध्यागमन अधिकृत थिए । उनीविरुद्ध गृह मन्त्रालयमा पनि उजुरी परेपछि मंगलबार नै उनलाई मन्त्रालय तानिएको थियो ।
भट्टराईमाथि तस्करहरूसँग मिलेमतोमा भिजिट भिसाको नाममा लाखौं रुपैयाँ असुलेको आरोप पुष्टि हुने प्रमाण भेटिएपछि अख्तियारले उनलाई नियन्त्रणमा लिएको हो ।
अख्तियार प्रमुख प्रेमकुमार राईले लोकान्तरसँग कुरा गर्दै भने, 'उहाँको दैनिक गतिविधिमाथि शंका लागेको थियो । तस्करसँग लाखौं असुलेको प्रमाण पनि आएको थियो । त्यही भएर नियन्त्रणमा लिएका हौं । त्यससँगै अध्यागमन कार्यालयमा पनि छापा हान्यौं । यसबारे थप अनुसन्धान गरेपछि मुद्दा चल्ने नचल्ने थाहा हुन्छ ।'
भट्टराईको बयान गराउने काम शुरू भइसकेको प्रमुख आयुक्त राईको भनाइ छ ।
भट्टराईमाथि मुख्यतया दुबईलगायतका मुलुकमा यात्रा गर्न चाहने नेपाली नागरिकहरूलाई भिजिट भिसा सहज गरिदिने नाममा ठूलो रकम असुलेको आरोप छ ।
अख्तियारमा परेका उजुरीअनुसार उनले दैनिक करिब ४ सय यात्रुसँग प्रतिव्यक्ति २० हजारदेखि ४० हजार रुपैयाँसम्म लिने गरेका थिए ।
यो काम संगठित रूपमै भएको आशंका अख्तियारले गरेको छ । यसमा अध्यागमनका अन्य कर्मचारीको पनि संलग्नता रहेको अख्तियार स्रोतले लोकान्तरलाई बतायो ।
अख्तियार स्रोतका अनुसार भट्टराई र केही कर्मचारीको साँठगाँठबाट ‘सेटिङ’ मिलाएर यात्रुहरूलाई विमानस्थलको अध्यागमन प्रक्रियामा प्राथमिकता दिइन्थ्यो ।
त्यसबापत रकम संकलन गरिएको प्रमाण कार्यालयबाट जफत गरिएका कम्प्युटर तथा कागजातमा भेटिएको जनाइएको छ ।
मंगलबार साँझ गृह मन्त्रालयले भट्टराईलाई अचानक सरुवा गरेर मन्त्रालयमै तानेको थियो । त्यसलगत्तै बुधबार उनलाई नियन्त्रणमा लिइएको हो ।
गृह मन्त्रालयमै पनि तस्करसँगको साँठगाँठसम्बन्धी उजुरी पुगेपछि गृहमा तानिएको स्रोतको दाबी छ ।
अख्तियारले छानबिनको क्रममा भट्टराईसहित केही अन्यसँग पनि बयान लिएको छ । छापा मारिएको अध्यागमन कार्यालयबाट आयोगले कम्प्युटर, भिसा सिफारिससम्बन्धी फाइल तथा अन्य दस्तावेजहरू जफत गरेको छ ।