
चुनावमा अन्तर्घात गरेका केन्द्रीय नेतामाथि कारबाही नगर्न नेपाली कांग्रेसको अनुशासन समितिमा दबाब परेको छ । २०७९ को स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा चुनावमा भएका अन्तर्घातविरुद्ध उजुरी परेका थिए । यस्ता उजुरीमा केन्द्रीय सदस्य र जिल्ला सभापतिसहितका नेता परेपछि उनीहरूलाई पनि कारबाही नगर्न अनुशासन समितिमाथि दबाब परेको हो ।
चुनावमा धेरै नै अन्तर्घात भएपछि कांग्रेसले आनन्दप्रसाद ढुंगाना संयोजकत्वको अनुशासन समितिलाई सक्रिय बनाएको थियो । ईश्वरी न्यौपाने, ध्रुव वाग्ले, सञ्जय गौतम र राजीव कोइराला सदस्य रहेको अनुशासन समितिले २१ सय बढी उजुरीमाथि छानबिन गरिरहेको छ । एकातिर अनुशासन समितिको छानबिनले क्रियाशील सदस्यता टुंग्याउन ढिलाइ भइरहेको छ, अर्कातिर आफूनिकटका नेतालाई कारबाहीको दायरामा नल्याउन केन्द्रीय नेताले नै दबाब दिएपछि समितिले अपेक्षित काम गर्न सकेको छैन ।
‘८ लाख क्रियाशील छन् । २/४ सयको विवाद भए पनि अरूले सदस्यता टुंग्याउन खोजे कसले रोकेको छ र ? चुनावमा गम्भीर अन्तर्घात भएपछि एक दर्जन हाराहारी केन्द्रीय सदस्य र केही जिल्ला सभापतिविरुद्ध उजुरी परेका छन् । यिनमा सबै प्रतिशोध हुने आशयका मात्रै छैनन्, प्रमाणसहित पनि परेका छन्,’ ढुंगानाले भने, ‘४० बढी जिल्लाका २१ सय बढी उजुरी उतिखेरै छानबिन हुँदैनन् । पार्टीकै साथी हुन् । तर, केहीमाथि सामान्य चार्ज भए पनि केहीविरुद्ध गम्भीर उजुरी प्रमाणसहितका छन् । हामी उजुरीपछिको कारबाही टुंग्याउने चरणमा छौं । तर केन्द्रीय नेताबाटै ममाथि कारबाही गर्ने, अरूलाई केही नगर्ने भन्नेजस्ता कुरा आउँछन् ।’
चुनाव हराउन प्रत्यक्ष भूमिका खेलेका अडियो/भिडियोका थुप्रै रेकर्ड आफूहरूले प्राप्त गरेको ढुंगाना बताउँछन् । ‘कतिले अर्कोसँग प्रतिशोध साँधौं भनेर पनि उजुरी हालेका छन् । तर, केन्द्रीय सदस्य र जिल्ला सभापतिविरुद्ध प्रमाणसहितका उजुरी पनि आएका छन्,’ ढुंगाना भन्छन्, ‘हामी कसैमाथि पनि प्रतिशोध होस् भन्नेमा छैनौं । यसैले मसिनो गरी हेर्ने र टुंग्याउने प्रक्रियामा छौं ।’
देशभरका ४०/४२ जिल्लाबाट उजुरी परेकोमा ५ जिल्लाको उजुरी जटिल रहेको समिति सदस्य ईश्वरी न्यौपानेले बताइन् । ‘धेरै जिल्लाबाट उजुरी आएकोमा खोटाङ, नवलपरासी, काभ्रे, कास्की र पर्साको विवाद सबैभन्दा जटिल छ,’ न्यौपानेले भनिन्, ‘विवादित जिल्लामा अन्तिमपटक स्पष्टीकरण सोध्न पठाएका छौं । त्यहाँबाट आएपछि हामी एउटा निर्णयमा पुग्छौं ।’
विवादित जिल्लाबाटै प्रतिनिधित्व गर्ने केन्द्रीय नेताविरुद्ध उजुरी परेको कांग्रेस केन्द्रीय कार्यालय स्रोतले जानकारी दियो । कास्की, काभ्रे र पर्सासहितबाट प्रमाणसहितका उजुरी परेको नेताहरू बताउँछन् ।
‘केन्द्रीय सदस्यले नै हराउन भूमिका खेले भनेर पनि उजुरी आएको छ । कतिपय रुखविरुद्ध उठे, कतिपयले उक्साएका पनि छन् । कति द्वन्द्वकालदेखिका प्रतिशोध पनि रहेछन् । कतिलाई उपचुनावमै पार्टीले फुकुवा गरिदियो,’ न्यौपानेले भनिन्, ‘पहिले स्पष्टीकरण सोध्छौं, प्रमाणको आधारमा कारबाही सिफारिस गर्छौं ।’
क्रियाशील सदस्यता छानबिन समितिका सदस्य प्रकाश रसाइली स्नेही देख्नमा थोरै भए पनि सबै तहबाट निर्णय गरेर आउनुपर्ने भएपछि अनुशासन समितिका कारण ढिलाइ भएको बताउँछन् ।
‘क्रियाशील सदस्यता टुंग्याउन ढिलाइ हुँदा हामीलाई किन छिटो गरेनौ ? भनिन्छ । अनुशासन समितिले हाम्रा दुई/चार सय उजुरीले कसरी रोकिन्छ ? भन्छन्,’ स्नेहीले भने, ‘तर, सदस्यता नवीकरणको प्रक्रियामा वडा, पालिका, क्षेत्र, जिल्ला हुँदै विभिन्न चरणमा निर्णयको प्रक्रिया हुन्छ । यसैले अनुशासन समितिको काम नसकिँदा थोरै संख्या पनि प्रक्रिया रोकिएको छ । कतिपयले अनुशासन समितिको उजुरीलाई देखाएर सदस्यता रोकको छन् ।’
पर्सा– १ का क्षेत्रीय सभापति अरविन्द गुप्ताले क्रियाशील सदस्यता नपाएको गुनासो पार्टीमा गरेका छन् । तर, अर्को पक्षले उनलाई कारबाही गरेको भनेको छ । अनुशासन समिति सदस्य न्यौपाने जो भए पनि एउटै पार्टीको भएपछि प्रमाण पुगेकालाई कारबाही गर्ने बताउँछिन् ।
‘सहज भएकालाई एकातिर पन्छाएका छौं । तर, कसैलाई अन्याय नहोस्, जथाभावी नहोस् भन्नेमा सचेत छौं,’ न्यौपानेले भनिन्, ‘प्रमाणका रूपमा आएका अडियो/भिडियो हेर्छौं । स्पष्टीकरण सोध्छौं । सचेत गराउँछौं । यी पनि कारबाही प्रक्रियाका चरण हुन् ।
अनुशासन समितिका अर्का एक सदस्य जिल्लाबाटै आफ्ना मान्छेलाई उम्काउने र विरोधी गुटकालाई फसाउने नियतका उजुरी आएको बताउँछन् ।
‘कतिपय भएकै अन्तर्घातका गम्भीर विषय पनि उजुरीमा परेका छन् । कतिपय जिल्लाबाट आफ्नो गुटलाई बचाउने, अर्कोलाई मुछ्ने हिसाबले पनि उजुरी आएका छन्,’ ती सदस्य भन्छन्, ‘जिल्लाहरूले यस्तो गरेपछि केही केन्द्रीय नेताले मेरो मान्छेलाई सुरक्षित गर्ने, अरूलाई हिर्काउने भन्दै बचाउन खोजेका छन् ।’
नेताहरूले यसैगरी तेरोमेरो भनेपछि प्रमाणसहितका उजुरी पर्दा पनि अनुशासन समितिले कुनै ‘एक्सन’ लिन नसक्ने अर्का एक सदस्य बताउँछन् ।
मुख्यगरी अर्को पार्टीका उम्मेदवारलाई सघाएको, बागी उम्मेदवार बनेको, विद्रोही बनेर उभिएको, हराउने गरी भूमिका खेलेको जस्ता विषयमा उजुरी परेका हुन् ।
‘यसो हेर्यो केन्द्रीय नेता छ । प्रभावशाली छ । ठेकेदारसँग पनि पहुँच पनि बनाएको छ । यसैले केन्द्रमा हारगुहार गरेर कारबाही हुनुहुँदैन है भनेर नेतालाई भेट्कोभेट्यै छन्,’ एक केन्द्रीय सदस्य भन्छन्, ‘यसैले जति प्रमाणसहितका उजुरी परे पनि कारबाही हुँदैन कि भन्ने देखेका छौं ।’
१५ औं महाधिवेशनको तयारीको पहिलो कामअन्तर्गत महामन्त्री गगन थापा संयोजकत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले काम गरिरहेको छ ।
क्रियाशील सदस्यता नवीकरणका लागि दुईपटक समय दिँदा पनि नभएपछि केही दिनअगाडि कांग्रेसले असार मसान्तसम्मको समय दिँदै अन्तिम मौका दिएको छ । तर, समितिले अनुशासन समितिका कारण पनि ढिलाइ भएको बताउँदै आएको छ ।
सोमबार बसेको पार्टी पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले पनि क्रियाशील सदस्यताको विषय आगामी असार मसान्तभित्र टुंग्याउने निर्णय गरेको छ ।