०३ साउन २०८३, आइतबार
जेठ १५ को सुरक्षा विश्लेषण

गणतन्त्र पक्षधर र राजावादी आमनेसामने– चैत १५ दोहोरिन नदिन यस्तो छ सुरक्षा रणनीति

जेठ १२, २०८२
काठमाडौं
गणतन्त्र पक्षधर र राजावादी आमनेसामने– चैत १५ दोहोरिन नदिन यस्तो छ सुरक्षा रणनीति

जेठ १५ मा सरकारले धुमधामका साथ गणतन्त्र दिवस मनाउँदै छ । त्यही दिन राजावादीहरूले पनि काठमाडौंमा प्रदर्शन गर्ने तयारी गरेका छन् ।

सरकारले गणतन्त्रवादी शक्तिहरूलाई एकजुट हुन आग्रह गरेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायत राजावादी शक्तिहरू पनि एक हुने भन्दै घरदैलो अभियानमा जुटेका छन् । 

राजावादीहरूले कहाँ प्रदर्शन गर्ने भन्ने टुंगो लागेको छैन । उनीहरूले जिल्ला प्रशासन कार्यालयमा कुनै निवेदन दिएका छैनन् । काठमाडौंमा लाखौं सर्वसाधारण उतार्ने राजावादीहरूको दाबी छ ।

सुरक्षा निकायले गरेको विश्लेषणमा यसअघि लिङ्देनको नेतृत्वमा बल्खुमा भएको प्रदर्शनमा करिब ४ हजार सर्वसाधारणको उपस्थिति मात्रै देखिन्थ्यो । 

जेठ १५ मा राजसंस्था पुनःस्थापनाका लागि भन्दै बनाइएको संयुक्त जनआन्दोलन समितिले सशक्त जनदबाब सिर्जना गर्न अनिश्चितकालीन प्रदर्शन गर्न लागेका हुन् । समितिको संयोजक नवराज सुवेदी छन् । 

राजावादीहरूले यसअघि गत चैत १५ गते तीनकुनेमा गरेको अराजक प्रदर्शनले निम्त्याएको घटना जेठ १५ मा पुनरावृत्ति नहुने राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले लोकान्तरलाई बताए ।

उनले देशभरबाट सर्वसाधारण एवं राजसंस्था रहनुपर्छ भन्ने शुभेच्छुकहरू काठमाडौं आउने क्रम शुरू भइसकेको बताए । 

प्रदर्शनस्थलका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा कुनै निवेदन परेको रहेनछ नि ? भन्ने प्रश्नमा लिङ्देनले भने, ‘हामीले आमसभा गर्न लागेको होइन, देशबासीको साझा मुद्दा बनिसकेको राजसंस्था पुनःस्थापना गर्न जनदबाब सिर्जना गर्न खोजेका हौं । शान्तिपूर्ण प्रदर्शन गर्न कहीँ पनि निवेदन दिनु आवश्यक छैन ।’

लिङ्देनले निरकुंशता र सर्वसत्तावाद अन्त्य गरी जनतामा निहित सार्वभौमसत्ता र जनताको निर्णायकत्वलाई थप सुदृढ तुल्याई जनतालाई व्यावहारिक रूपमा देशको मालिक भएको अनुभूति दिलाउनु नै आन्दोलनको मुख्य ध्येय रहेको बताए । 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जेठ १५ गते राजावादीले गर्ने प्रदर्शनलाई लिएर सुरक्षा योजना बनाउने काम भइरहेको बताए । 

त्यसो त गृहमन्त्रीको अध्यक्षतामा केन्द्रीय सुरक्षा समिति पनि छ । केन्द्रीय सुरक्षा समितिमा तीनवटै सुरक्षा निकायका प्रमुख, सेनाका उपरथीसँगै काठमाडौंसहित तीनवटै जिल्लाका सीडीओ समेत रहन्छन् । जिल्ला सुरक्षा समितिको ब्रिफिङपछि केन्द्रीय सुरक्षा समितिले सुरक्षाकर्मी परिचालनमा अभिभावकीय नेतृत्व गर्नेछ । 

‘राजावादी नेताहरूसँग प्रदर्शनका विषयलाई लिएर बुझ्ने काम भइरहेको छ, प्रदर्शन शान्तिपूर्ण हुने जवाफ पाएका छौं,’ जिल्ला प्रहरी परिसर काठमाडौंका एक सुरक्षा अधिकारीले लोकान्तरसँग भने, ‘प्रदर्शनको दिन ६ हजार बढी सुरक्षाकर्मी परिचालन हुनेछन् ।’

सुरक्षा निकायका अधिकारीसँग मुख्यसचिवले लिए ब्रिफिङ

सोमबार बिहान मुख्यसचिव एकनारायण अर्यालले सुरक्षा निकायका अधिकारीहरूसँग ब्रिफिङ लिएका छन् । जेठ १५ गते राजावादीहरूले गर्ने भनेको प्रदर्शन कस्तो हो ? कति सहभागी हुने आकलन गरिएको छ ? सुरक्षा व्यवस्था कसरी मिलाइएको छ ? लगायतका विषयमा अर्यालले ब्रिफिङ गर्न भनेका थिए । 

प्रहरी महानिरीक्षक दीपक थापाले करिब १० देखि १५ हजार जना सहभागी हुन सक्ने र सुरक्षा व्यवस्था चुस्त बनाइने कुराको ब्रिफिङ गरेका थिए । 

सशस्त्रका महानिरीक्षक राजु अर्याल निरीक्षणका लागि संखुवासभाको खाँदवारी पुगेका कारण सशस्त्रका एआईजी नारायणदत्त पौडेल ब्रिफिङ गर्न पुगेका थिए । 

मुख्यसचिव अर्यालले गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनको पुनरावृत्ति नहुने गरी सुरक्षाकर्मी परिचालनमा जोड दिन निर्देशन दिएका थिए । 

नेपाल प्रहरीका आईजीपी थापासँग काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी टेकबहादुर तामाङ पनि पुगेका थिए । 

मुख्यसचिव अर्यालले गत चैत १५ गते राजावादीका नाममा भएका अराजक प्रदर्शनबाट पाठ सिकेर सोही अनुसार सुरक्षाकर्मी परिचालनमा ध्यान दिन निर्देशन दिएका थिए । 

‘जेठ १५ मा सरकार र गणतन्त्रवादी शक्तिहरूले पनि गणतन्त्र दिवस भव्यताका साथ मनाउने कुरा छ, राजावादीहरूको पनि प्रदर्शन छ,’ अर्यालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘दरिलो सुरक्षा योजना बनाउनुस् र परिचालनमा ध्यान दिनुस्, कुनै कमजोरी नहोस् । मुठभेडको अवस्था आउन दिनुभएन ।’ 

पढ्नुहोस्, यो पनि :

तीनकुने घटना– जनधनको क्षति रोक्न कहाँ चुक्यो प्रहरी ?

salt training

कमेन्ट गर्नुहोस्