०३ साउन २०८३, आइतबार
वित्तीय स्थितिमा सन्तुलित सुधारको संकेत

व्यापार, विप्रेषण र विदेशी मुद्रा सञ्चितिमा वृद्धि, मुद्रास्फीति नियन्त्रणमा

जेठ २७, २०८२
काठमाडौं
व्यापार, विप्रेषण र विदेशी मुद्रा सञ्चितिमा वृद्धि, मुद्रास्फीति नियन्त्रणमा

चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो दश महिनाको तथ्यांकले नेपालको समष्टिगत आर्थिक तथा वित्तीय स्थितिमा सन्तुलित सुधारको संकेत देखाएको छ । 

नेपाल राष्ट्र बैंकका अनुसार उपभोक्ता मूल्य सूचकांकमा आधारित वार्षिक बिन्दुगत मुद्रास्फीति २ दशमलव ७७ प्रतिशतमा सीमित रहँदा शोधनान्तर स्थिति ४३८ अर्ब ५२ करोड पुगेको छ ।

यस अवधिमा आयात १२ दशमलव १ प्रतिशतले र निर्यात उल्लेखनीय रूपमा ७२ दशमलव ७ प्रतिशतले वृद्धि भएको छ । 

विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १३ दशमलव २ प्रतिशत र अमेरिकी डलरमा १० दशमलव ५ प्रतिशतले बढेर कुल विदेशी विनिमय सञ्चिति १८ अर्ब ४० करोड डलर पुगेको छ, जुन नेपालको आयात क्षमता मजबुत बनाउन महत्वपूर्ण मानिएको छ ।

नेपाल सरकारको कुल खर्च १ खर्ब १५७ अर्ब ८९ करोड पुगेको छ भने राजस्व संकलन ९२२ अर्ब ४३ करोडमा सीमित देखिएको छ, जसले बजेट घाटालाई झल्काउँछ । यद्यपि, कुल मुद्राप्रदायमा ६ दशमलव ६ प्रतिशत वृद्धि भएको छ भने वार्षिक बिन्दुगत आधारमा यो वृद्धि दर ११ दशमलव ४ प्रतिशत पुगेको छ ।

बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलन ६ दशमलव २ प्रतिशतले र निजी क्षेत्रलाई प्रवाहित कर्जा ७ दशमलव ३ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा क्रमशः ११ दशमलव ४ र ८ दशमलव ४ प्रतिशतको वृद्धिदर देखिएको छ, जसले वित्तीय प्रणालीमा स्थायित्व कायम रहेको सङ्केत दिन्छ ।

देशको समष्टिगत आर्थिक सूचकहरूमा देखिएको यो सकारात्मक दिशा कोरोना महामारी, भू–राजनीतिक अस्थिरता र आन्तरिक वित्तीय संकटपछि अर्थतन्त्र सुधारोन्मुख चरणमा रहेको संकेत रहेको राष्ट्र बैंकले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्