
उच्च शिक्षा अध्ययन या पेशा व्यवसायका लागि नेपालीहरू विश्वका कुनाकाप्चामा पुगेका छन्, तीमध्ये धेरैले दाम कमाएका छन्, थोरैले नाम पनि ।
विदेशी भूमिमा नाम र दाम दुवै कमाएका नेपालीको संख्या न्यून छ । विदेशमा बस्ने अधिकांशको एउटै सपना हुन्छ– पैसा कमाउने, सुविधामा रमाउने र घरपरिवार बनाउने ।
विदेशी भूमिमा पौरख गरेर नाम/दाम कमाएपछि मातृभूमिलाई सम्झिने अपवाद मात्र छन् । तीनै अपवाद मध्येका एक हुन्, डा. विनय साह जो महोत्तरीको रामगोपालपुरमा जन्मेका थिए ।
उनैको पहलमा मधेश प्रदेशको राजधानी तथा ऐतिहासिक शहर जनकपुरमा २०० शय्याको अत्याधुनिक र सुविधासम्पन्न क्यान्सर अस्पताल बन्दैछ– विनयतारा फउन्डेसनमार्फत ।
मध्यमवर्गीय परिवारमा जन्मेका साह, जसले स्कूलसम्मको शिक्षा जनकपुर आसपासमै लिए । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस गरेका उनले अमेरिकाको न्युयोर्कको लङ आइल्यान्ड कलेज अस्पतालबाट एमडी र इलिनोइस विश्वविद्यालय शिकागोमा हेमाटोलोजी र अन्कोलोजीमा तीन वर्षे फेलोशिप गरेका हुन् ।
केही समय नेपालका अस्पतालहरूमा काम गरेपछि यूएसएमली (युनाइटेड स्टेट मेडिकल लाइसेन्स एक्जामिनेसन) पास गरेर साह अमेरिका पुगे ।
अमेरिका पुगेको छोटो समयमा उनले आफूलाई अमेरिकामा परिचित गराए, क्यान्सर रोग विशेषज्ञको रूपमा ।
अमेरिका गएको झण्डै एक दशकपछि डा. साहले मानस सेवा र परोपकारी काम गर्नका लागि एउटा संस्था बनाए– विनयतारा फाउन्डेसन । सन् २०१८ मा आफू र पत्नीको नामबाट गैरनाफामूलक संस्था स्थापना गरे । पत्नी तारा लुइँटेल पनि मेडिकल पर्सन हुन् ।
डा. विनय साह जसलाई छिमेकी भारतका कतिपय राज्य, भुटान, अफ्रिकन देशहरूले विज्ञको रूपमा बोलाएर उनका अनुभव र विज्ञताबाट लाभ लिएका छन् ।
जनकपुरमा खुल्ने भयो अत्याधुनिक अस्पताल
प्रसिद्ध क्यान्सर रोग विशेषज्ञको रूपमा उनले हावर्ड, स्ट्यान्डफोर्ड, लोमा लिन्डा, पेन्सेल्नोभिया, वाशिंगटन, अक्सफोर्डदेखि नर्वे र स्वीडेनका प्रतिष्ठित युनिभर्सिटीका विज्ञहरूलाई आफ्नो टीममा संलग्न गराएका छन् ।
उनी र उनका सहयात्रीहरूले क्यान्सर रोगको बारेमा रिसर्च पेपरहरू प्रस्तुत गर्ने गर्दछन् । नेपालमा वर्षमा एकपटक जनकपुरमा क्यान्सर रोगका क्षेत्रमा कार्यरत डाक्टर तथा स्वास्थ्यकर्मीहरूको भेला गराएर एक वर्षको समयावधिमा यो रोगको उपचारमा भएका सफलता, जटिलताजस्ता अनुभवहरू एकआपसमा कार्यशालामार्फत साटासाट गर्ने गरिन्छ ।
कयौं डाक्टरलाई विनयले क्यान्सर रोगको उपचारमा भएका प्रगतिबारे अनुभव शेयर गरिसकेका छन् ।
काठमाडौंमा रहेको सिभिल अस्पतालमा बोनम्यारो ट्रान्सप्लान्ट गर्ने विशेषज्ञ डा. विशेष पौडेललाईसहितको टोलीलाई अमेरिका लगेर विनय साहले सहजीकरण गरेका थिए । पौडेल नेपालमा बोनम्यारो ट्रान्सप्लान्ट गर्ने एक मात्र डाक्टर हुन् ।
अमेरिकाका ५० राज्य र विश्वका विभिन्न शहर तथा विश्वविद्यालयमा क्यान्सर रोगबारे विज्ञता साट्दै हिँडेका साहलाई आफ्नै देश र आफूलाई पहिचान दिलाएको मधेशमा केही गर्ने हुटहुटी थियो । विनयतारा फाउन्डेसनमार्फत नेपालमा काम गर्ने योजनाअनुसार डा. साहले शुरूआतमा विनयतारा क्यान्सर ट्रस्ट नामक मुनाफा वितरण नगर्ने सामाजिक संस्था जनकपुरमा स्थापना गरेर काम शुरू गरे ।
फाउन्डेसन अमेरिकामा दर्ता भएको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हुनाले नेपालमा उसले अन्र्तराष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ)को हैसियतमा कानूनी प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । फाउन्डेसनले त्यही प्रक्रियामध्येको प्रथम चरणमा साधारण सम्झौता गत वर्ष फ्रेबुअरी महिनामा पूरा गरेर गरेर परियोजना सम्झौता (अर्थात्, डीपीआर) स्वीकृति सहमतिको चरणमा छ । यस चरणमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा लेटर अफ इन्टेन्ट (एलओआई) र वन तथा वातावरण मन्त्रालयमा मन्त्रालयमा वातावरणीय प्रभाव मूल्यांकनको अन्तिम प्रतिवेदन स्वीकृतिको प्रक्रियमा रहेको छ ।
यसैगरी शहरीविकास तथा भवन निर्माण विभागमा प्रस्तावित अस्पतालको नक्सा, ड्रइङ, डिजाइनिङ स्वीकृतिको चरणमा रहेको छ भने महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा समग्र परियोजना सम्झौता अध्ययन र स्वीकृतिको क्रममा रहेको छ ।
जनकपुरमा २ सय बेड क्षमताको विशिष्टिकृत क्यान्सर अस्पताल बनाउन सरकार र सरकारी निकायहरूबाट स्वीकृति तथा सहमति लिने काम लगभग अन्तिम चरणमा पुगेको छ ।
अस्पताललाई अमेरिकन स्ट्यन्डर्डको बनाउने उनको योजना छ । त्यसका लागि स्रोत जुटाउने काम भइरहेको छ । विनयतारा क्यान्सर सेन्टरमार्फत अहिले पनि जनकपुरमा २५ शय्याको क्यान्सर अस्पताल सञ्चालनमा रहेको छ । डा. साहले नेपालका विशेषज्ञ डाक्टरलाई जनकपुरमा भेला गरेर समय–समयमा सेमिनार आयोजना गर्न लागेको ७ वर्ष पूरा भएको छ ।
फाउन्डेसनले हालै मात्र एमजे मुरडक ट्रस्ट अमेरिकाबाट ३ लाख ७२ हजार डलर पुरस्कार पाएको छ । क्यान्सर रोगको रिसर्चका लागि विनयतारा फाउन्डेसनलाई रोजेर अवार्ड गरिएको हो ।
अन्र्तराष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) लाई नेपालमा काम गर्नका लागि समाज कल्याण परिषद्ले अनुमति दिनुपर्छ । त्यसअघि नेपाल सरकारका विभिन्न मन्त्रालयले स्वीकृति दिनुपर्छ । अस्पताल निर्माणका लागि भवनलगायत विभिन्न प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ ।
‘अस्पताल खोल्नका लागि पूरा गर्नुपर्ने प्रशासनिक काम अन्तिम चरणमा पुगेको छ । बैंक खाता खोल्नेलगायत काम स्वास्थ्य मन्त्रालयबाट एलओआईको पूरा भएपछि हुन्छ । त्यसपछि निर्माण प्रक्रिया पारदर्शी रूपमा शुरू हुन्छ,’ फाउन्डेसनका नेपाल निर्देशक हरि तिवारीले लोकान्तरसँग भने ।
अमेरिकामा भइरहेको छ भवनको नक्सा डिजाइन
मधेश प्रदेश सरकारको राजधानी रहेको जनकपुर उपमहानगरपालिका– २५ को लोहना क्षेत्रको करिब ४ विगाहा क्षेत्रमा बन्नेछ, अत्याधुनिक क्यान्सर अस्पताल । अस्पताल निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन (ईआईए)को काम सम्पन्न भइसकेको छ । स्थानीयले जनकपुरमा चाँडै अस्पताल बन्नुपर्ने माग राखेका थिए ।
यो अस्पताल अमेरिकन स्ट्यान्डर्डको बनाउने डा. विनयको लक्ष्य छ । यसका लागि अमेरिका र जापानमा जस्तो ठूला भवनहरूमा प्रयोग हुने बेस आइसोलेसन विधि प्रयोग हुनेछ । बेस आइसोलेसन प्रविधिले भवनलाई भूकम्पप्रतिरोधी बनाइने छ । भूकम्पले जमिन हल्लाए पनि अस्पतालमा असर नपर्ने गरी भवन निर्माण गरिने छ । र, यो प्रविधि नेपालको भवन निर्माणको इतिहासमा प्रथमपटक प्रयोग हुनेछ ।

‘अस्पतालको संरचना, उपकरण उपचार विधिहरू सबै अमेरिकन स्ट्यान्डर्डको हुनेछ । यस अस्पताललाई दक्षिण एसियाकै आकर्षक अस्पताल बनाउने डा. विनयको योजना कार्यान्वयन हुँदैछ,’ फाउन्डेसनका कन्ट्री डाइरेक्टर तिवारीले भने ।
विश्वका ३० देशमा बेस आइसोलेसनको विज्ञता दिने डा. अनुप मोक्काले यो अस्पताल भवनमा पनि आफ्नो विज्ञता निःशुल्क दिँदै आएका छन् ।
जनकपुरमा बन्ने अस्पतालको नक्साको ड्रोइङ–डिजाइनिङ अमेरिकाका ख्यातिप्राप्त विज्ञ पाउलो र उनको टीमले गरिरहेका छन्, त्यो पनि निःशुल्क । अमेरिकी डिजाइनरले बनाएको सो नक्सा नेपाल सरकारको स्वास्थ्य सेवासम्बन्धी मापडण्डअनुरूप ढाल्न डीबी मल्टी नामक कन्सल्टिङले सहयोग गरिरहेको छ । नक्साको स्वीकृति दिने काम शहरी विकास तथा भवन निर्माण विभागले गर्छ ।
पुल्चोक इन्जिनियरिङ क्याम्पसका विज्ञ प्राध्यापकहरूले प्रस्तावित नक्सालाई अनुमोदन गरेपछि र विभागले मान्यता दिएपछि मात्र स्वास्थ्य मन्त्रालयले अस्पताललाई लाइसेन्सको आशय पत्र (एलओआई) दिन्छ ।
आफूहरूले गर्न लागेको काममा सरकारी निकायले प्रशंसा र समन्वय गरिरहेको तिवारीले बताए । ‘राष्ट्रिय योजना आयोगका सदस्यहरूबीच परियोजनाका बारेमा प्रस्तुतीकरण गरी जानकारी गराइएको थियो । अस्पताल बन्दैछ भनेर थाहा पाएकाहरूले यस परियोजनालाई मधेश प्रदेशको गौरवको योजनाका रुपमा चित्रण गर्ने गरेका छन्,’ उनले भने ।
अस्पताल निर्माणार्थ भवन निर्माण समिति, प्राविधिक समिति र अस्पताल सञ्चालक समिति रहनेछन् । अस्पताल सञ्चालक समितिमा प्रदेश सरकार, नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्लाका स्वास्थ्यसम्बन्धी निकाय, संस्था र समाजसेवीको प्रतिनिधित्व हुनेछ । यसै समितिले नेपाल सरकारको नीतिभित्र रहेर अस्पताल सञ्चालन तथा सेवाका शुल्क निर्धारण गर्नेछ ।
फेर्नेछ जनकपुरको मुहार, मधेशकै गौरव
नेपालमा एक वर्षको अवधिमा २४ हजारको हाराहारीमा क्यान्सरका नयाँ बिरामी फेला परेको स्वास्थ्य अनुसन्धान परिषद्को तथ्याङ्कले देखाउँछ । खैनी, सुर्तीको अम्मलका कारण तराईका जिल्लामा पुरुषमा मुखको तथा महिलामा पाठेघर र स्तन क्यान्सरको संख्या दिनानुदिन बढिरहेको छ ।
जनकपुरमा बन्ने सुविधासम्पन्न क्यान्सर अस्पतालले नेपालमात्र नभई छिमेकी भारतका बिरामीले समेत सर्वसुलभ उपचार पाउने छन् ।
जनसंख्याको घनत्व रहेको मधेश प्रदेशमा अहिले क्यान्सर अस्पताल नहुँदा परीक्षण गर्नका लागि मात्र बीपी कोइराला क्यान्सर अस्पताल चितवन, काठमाडौं या भारतको कुनै ठाउँमा पुग्नुपर्ने बाध्यता छ ।
प्रस्तुत अस्पताल निर्माण शुरू गरेको ५ वर्षमा निर्माण सम्पन्न गरी ७५ प्रतिशत मेडिकल उपकरण जडान गर्ने काम सम्पन्न गर्ने योजना रहेको तिवारीले बताए ।
अस्पतालमा काम गर्ने जनशक्ति तथा तिनका डिपेन्डेन्सहरू, स्वदेश तथा विदेशबाट अनुसन्धान, तालिम, गोष्ठी, सेमिनार तथा अस्पतालमा सहयोग गर्न आउने विज्ञहरूलाई सुविधासम्पन्न आवासको व्यवस्था गर्ने काम दोस्रो चरणको परियोजनामा फाउन्डेसनले जनाएको छ । यसका लागि अर्को ४ विगाहा जमिनमा सुविधासम्पन्न अपार्टमेन्टसहितका संरचना बनाउने दीर्घकालीन योजना छ ।
क्यान्सर अस्पताल बनेसँगै प्राचीन शहर जनकपुरको आर्थिक तथा सांस्कृतिक उन्नयनमा सहयोग पुग्ने विश्वास फाउन्डेसनको छ । अस्पताल निर्माण र सञ्चालन क्षेत्रमा आर्थिक गतिविधि तथा रोजगारी र मनोरञ्जनका गतिविधिहरू बढ्नेछन् ।
स्थानीय तहका पदाधिकारी तथा सरोकारवालाहरूले जतिसक्दो चाँडो अस्पताल निर्माणका लागि सहजीकरण गर्ने बताएका छन् ।
अस्पतालको प्रशासनिक काम पूरा भएमा सन् २०३० देखि मधेश प्रदेशका नागरिकले आफ्नै ठाउँमा विश्वस्तरको उपचार सेवा पाउने छन् ।
यो अस्पताललाई दक्षिण एसियाकै नमूनामध्येको एक बनाउने डा. विनयको योजना छ ।
नेपाल सरकारका निकायहरूले दिनुपर्ने स्वीकृति र सहमति प्राप्त भएपछि समाज कल्याण परिषद् र विनयतारा फाउन्डेसनबीच परियोजना सम्झौता भएर परियोजना कार्यान्वयनमा जाने फाउन्डेसनले जनाएको छ ।
परियोजना कार्यान्वयनका क्रममा स्थानीय सहयोगी संस्था विनयतारा क्यान्सर ट्रस्ट तथा विनयतारा फाउन्डेसनले स्थानीय सरोकारवालाहरूसँग समन्वय गर्नेछन् । त्यसैगरी, परियोजना सम्झौतामा व्यवस्था भएबमोजिम एक–एक वर्षमा परियोजना सल्लाहकार समिति (समाज कल्याण परिषद्को पहलमा सरकारी निकाय तथा सरोकारवाला निकायका प्रतिनिधिहरू) को बैठक आयोजना गरी परियोजनाबारे नियमित जानकारी गराउने, तेस्रो पक्षबाट परियोजनाको वार्षिक लेखाजोखा गराउने । परियोजनाको मध्य अवधिमा मध्यावधिक र अन्तिमा अन्तिम मूल्यांकन समाज कल्याण परिषदको पहलमा हुने व्यवस्था गरिएको छ ।
नेपाल सरकार र सरोकारवाला निकायहरूले जुनसुकै बखत स्थलगत अनुगमन तथा निरीक्षण गर्न सक्नेछन् । संस्थाले नियमित तबरमा सरोकारवाला निकायमा प्रगति प्रतिवेदन समेत बुझाउने छ ।