
इरान-इजरायलपछि अब गाजामा पनि शान्ति आउने भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले
इजरायलले गाजामा ६० दिने युद्धविराममा सहमति जनाएको दाबी गरेका छन् ।
यद्यपि, यसका लागि केही सर्तहरू पनि राखिएको छ। ट्रम्पले यस विषयमा हमासलाई चेतावनी पनि दिएका छन् । उनले हमासलाई अवस्था बिग्रनुअघि सम्झौता स्वीकार गर्न आग्रह गरेका छन्।
'इजरायलले ६० दिने युद्धविरामलाई अन्तिम रूप दिन आवश्यक सर्तहरूमा सहमति जनाएको छ, जुन अवधिमा हामी युद्ध अन्त्य गर्न सबै पक्षहरूसँग काम गर्नेछौं,' सामाजिक सञ्जालमा उनले लेखेका छन्, 'शान्ति ल्याउन धेरै मेहनत गरेका कतार र इजिप्टका नेताहरूले यो अन्तिम प्रस्ताव प्रस्तुत गर्नेछन् । मलाई आशा छ कि हमासले मध्य पूर्वको भलाइको लागि यो सम्झौता स्वीकार गर्नेछ, किनकि यदि त्यसो गरेन भने, यो राम्रो हुनेछैन तर झन् खराब हुनेछ।'
अमेरिकी राष्ट्रपति ट्रम्पले जुलाई ७ मा ह्वाइट हाउसमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई स्वागत गर्नेछन् । ट्रम्प सत्तामा फर्केपछि यो नेतान्याहूको तेस्रो भ्रमण हुनेछ। यो बैठक गाजामा युद्धविराम र इरानको क्षेत्रीय गतिविधि र कूटनीतिक विस्तारमा केन्द्रित हुने बीबीसीले जनाएको छ ।