
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री तथा अवामी लिगकी नेता शेख हसिनालाई अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरणले अदालतको अवहेलना मुद्दामा ६ महिनाको जेल सजाय सुनाएको छ । उक्त फैसला बुधबार त्रिसदस्यीय इजलासले सुनाएको हो । उक्त इजलासको अध्यक्षता न्यायाधीश मोहम्मद गोलाम मोर्तुजा मोजुम्दारले गरेका थिए ।
ढाका ट्रिब्युनको रिपोर्टअनुसार सोही मुद्दामा गोबिन्दगञ्ज, गाइबान्धाका शाकिल अकन्द बुलबुललाई पनि दुई महिनाको जेल सजाय सुनाइएको छ ।
यो फैसला शेख हसिनाविरुद्ध सुनाइएको पहिलो सजाय हो । उनी करिब एक वर्षअघि मुलुक छाडेपछि कुनै मुद्दामा दोषी ठहरिएको पहिलोपटक भएको ढाका ट्रिब्युनले जनाएको छ ।
यसै वर्ष जुन महिनामा अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरणका अभियोजकले शेख हसिनामाथि मानवताविरुद्धका अपराधको आरोप दर्ता गरेका थिए ।
प्रमुख अभियोजक मोहम्मद ताजुल इस्लामले हसिनाले सरकारविरुद्ध भएको विरोध प्रदर्शनलाई दमन गर्न ‘व्यवस्थित हमला’ गराएको आरोप लगाएका थिए ।
संयुक्त राष्ट्रसंघको मानवअधिकार कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् २०२४ को जुलाई १५ देखि अगस्ट १५ सम्मको अवधिमा करिब १४ सय जनाको ज्यान गएको थियो ।
विरोध शान्त भइसकेको अवस्थामा समेत दमनात्मक हिंसा जारी रहेको प्रतिवेदनमा उल्लेख छ ।
तर, शेख हसिनाले सबै आरोप अस्वीकार गरेकी छन् । उनका बचाउ अधिवक्ता आमिर हुसेनले शेख हसिना आफूमाथि लागेको आरोपविरुद्ध कानूनी तर्क प्रस्तुत गरी पूर्णरूपमा सफाइ पाउने विश्वासमा रहेको बताएका छन् ।
सन् २०२४ को अगस्टमा अवामी लिग सरकारको पतनपछि शेख हसिनाले भारतमा शरण लिइरहेकी छन् । हाल उनी नयाँ दिल्लीस्थित एक सुरक्षित स्थानमा बसोबास गरिरहेकी छन् ।