
गत जुन १२ मा एयर इन्डियाको बोइङ ७८७ ड्रिमलाइनर विमान दुर्घटनाको छानबिनमा नयाँ तथ्य आएका छन् ।
अहिले सार्वजनिक भएको प्रारम्भिक अनुसन्धान प्रतिवेदन र ब्ल्याक बक्स विश्लेषणले यो दुर्घटना क्याप्टेनले ‘इन्धन सप्लाइ’ रोकिदिएको आशंकासँग जोडिएको छ । साथै, विमान जमिनतिर झरिरहँदा जहाजका क्याप्टेन निकै शान्त रहेको बताइएको छ ।
उक्त विमान भारतको अहमदाबादबाट उडेको केही मिनेटमै खसेर दुर्घटनाग्रस्त भएको थियो । ब्ल्याक बक्स रेकर्डिङअनुसार क्याप्टेन सुमित सभरवालले इन्धन सप्लाइका दुई स्विच बन्द गरेका थिए । सोही क्रममा विमानका को–पाइलट क्लाइभ कुन्दर भने अत्यन्त आत्तिएको आवाजमा यस्तो कदमप्रति आश्चर्य व्यक्त गरेका छन् ।
‘फ्युल किन बन्द भयो ?’, कोपाइलटले सोध्दा क्याप्टेनले ‘मैले होइन’ भन्ने जवाफ दिएका थिए ।
त्यसबेला विमानको गति स्थिर राख्ने प्रयास को–पाइलटले गरिरहेका थिए भने क्याप्टेन ‘मोनिटरिङ’ भूमिकामा थिए ।
अनुसन्धानकर्ताहरूका अनुसार, क्याप्टेनले इन्धन प्रवाह रोकेका थिए । त्यसपछि दुवै इन्जिन एकपछि अर्को गर्दै बन्द भए ।
प्रारम्भिक अनुसन्धान प्रतिवेदनले प्राविधिक गडबडीको सम्भावना लगभग अस्वीकार गरेको छ । विमानमा रहेका इन्धन स्विचहरू ‘लकिङ’ प्रणालीमा आधारित हुन्छन् ।
तिनीहरूलाई बन्द गर्न पहिले जोड लगाएर तान्नुपर्ने हुन्छ । त्यसैले यस्ता स्विच ‘अन्जानमा’ बन्द हुन असम्भवजस्तै रहेको प्रारम्भिक प्रतिवेदनको निष्कर्ष छ ।
भारतीय उड्डयन सुरक्षा विज्ञ मोहन रंगनाथनको भनाइ उदृत गर्दै डेलीमेल लेख्छ, ‘दुवै स्विच उडानपछि एक–एक सेकेन्डको अन्तरमा बन्द गरिए । दश सेकेन्डपछि मात्र पुनः खुलाइयो, तर ढिला भइसकेको थियो ।’
मानसिक स्वास्थ्यको प्रश्न
अनुसन्धान अहिले क्याप्टेन सभरवालको मानसिक स्वास्थ्य, विगतका व्यक्तिगत घटनाक्रम र उडान अवस्थासँग सम्बन्धित निर्णय क्षमता केन्द्रित रहेको छ ।
उनका केही सहकर्मीहरूले उनी विगतमा ‘डिप्रेसन’का कारण छुट्टी लिएको, आमा बितेपछि बिदा लिएर घर गएको जनाएका छन् । यद्यपि, एयर इन्डियाले उनलाई उडानका लागि योग्य घोषणा गरेको थियो ।
उनका सहकर्मीहरूले भने उनलाई भद्र पुरुषका रूपमा वर्णन गरेका छन् ।
दुर्घटनामा आफ्ना नातेदार गुमाएका परिवारका सदस्यहरूले भने एयर इन्डिया र भारतीय सरकारमाथि मृत पाइलटहरूलाई दोष थोपर्ने ‘कभरअप’ प्रयास गरिरहेको आरोप लगाएका छन् ।
अह्मदाबादका पीडित परिवारका एक सदस्य अमीन सिद्दिकी भन्छन्, ‘यो प्रतिवेदन गलत छ । हामी यसलाई स्वीकार्दैनौं । उनीहरूले अब आफैं बोलेर आफ्नो बचाउ गर्न नसक्ने पाइलटलाई दोषी देखाउन खोजिरहेका छन् ।’
प्रारम्भिक प्रतिवेदनमा प्रयोग गरिएको शब्दावलीले यस दुर्घटनालाई ‘पाइलट प्रेरित’ दुर्घटनाको संकेत गरेको छ ।
इन्धन स्विचहरू एकै सेकेन्ड अन्तरमा बन्द हुनु, ल्यान्डिङ गियर नउचालिनु र आपतकालीन ‘र्याम एयर टर्बाइन’को सक्रियता देखिनुले गम्भीर शंका उत्पन्न भएको प्रतिवेदनमा भनिएको छ ।
यस दुर्घटनाले फेरि एकपटक पाइलटहरूको मानसिक स्वास्थ्य परीक्षण, पेसा सम्बन्धी तनाव व्यवस्थापन र प्रशिक्षण अनुशासनमाथि प्रश्न उठाएको छ । अमेरिकाको संघीय उड्ययन प्रशासनले २०१८ मै यस्तो स्विचसँग सम्बन्धित चेतावनी दिएको भएपनि एयर इन्डियाले त्यसलाई ‘अनिवार्य नभएको’ भन्दै निरीक्षण गरेको थिएन ।
जीवित बचेका एकमात्र यात्रीको कथा
दुर्घटनामा विमानको सिट ११ ए मा बसेका विश्वास कुमार रमेश मात्र एकजना जीवित रहन सफल भए । उनी आफ्नो दाजुसँग व्यापारिक यात्रा गरिरहेका थिए । तर, सँगै बसेका दाजु अजयकुमारले भने दुर्घटनामा ज्यान गुमाए ।
एयर इन्डियाले घटनाबाट प्रभावित सबैलाई समवेदना व्यक्त गर्दै अनुसन्धानमा पूर्ण सहयोग गरिरहेको जनाएको छ । कम्पनीले अनुसन्धान पूर्ण नभएसम्म विस्तृत टिप्पणी गर्न नमिल्ने स्पष्ट पारेको छ ।