०३ साउन २०८३, आइतबार
एयर इन्डिया दुर्घटना

जहाजले ‘थ्रस्ट’ गुमाएर भुँइमा झर्दासम्म शान्त थिए एयर इन्डियाका क्याप्टेन

साउन १, २०८२
काठमाडौं
जहाजले ‘थ्रस्ट’ गुमाएर भुँइमा झर्दासम्म शान्त थिए एयर इन्डियाका क्याप्टेन

गत जुन १२ मा एयर इन्डियाको बोइङ ७८७ ड्रिमलाइनर विमान दुर्घटनाको छानबिनमा नयाँ तथ्य आएका छन् ।

अहिले सार्वजनिक भएको प्रारम्भिक अनुसन्धान प्रतिवेदन र ब्ल्याक बक्स विश्लेषणले यो दुर्घटना क्याप्टेनले ‘इन्धन सप्लाइ’ रोकिदिएको आशंकासँग जोडिएको छ । साथै, विमान जमिनतिर झरिरहँदा जहाजका क्याप्टेन निकै शान्त रहेको बताइएको छ । 

उक्त विमान भारतको अहमदाबादबाट उडेको केही मिनेटमै खसेर दुर्घटनाग्रस्त भएको थियो । ब्ल्याक बक्स रेकर्डिङअनुसार क्याप्टेन सुमित सभरवालले इन्धन सप्लाइका दुई स्विच बन्द गरेका थिए । सोही क्रममा विमानका को–पाइलट क्लाइभ कुन्दर भने अत्यन्त आत्तिएको आवाजमा यस्तो कदमप्रति आश्चर्य व्यक्त गरेका छन् । 

‘फ्युल किन बन्द भयो ?’, कोपाइलटले सोध्दा क्याप्टेनले ‘मैले होइन’ भन्ने जवाफ दिएका थिए ।

त्यसबेला विमानको गति स्थिर राख्ने प्रयास को–पाइलटले गरिरहेका थिए भने क्याप्टेन ‘मोनिटरिङ’ भूमिकामा थिए । 

अनुसन्धानकर्ताहरूका अनुसार, क्याप्टेनले इन्धन प्रवाह रोकेका थिए । त्यसपछि दुवै इन्जिन एकपछि अर्को गर्दै बन्द भए ।

प्रारम्भिक अनुसन्धान प्रतिवेदनले प्राविधिक गडबडीको सम्भावना लगभग अस्वीकार गरेको छ । विमानमा रहेका इन्धन स्विचहरू ‘लकिङ’ प्रणालीमा आधारित हुन्छन् । 

तिनीहरूलाई बन्द गर्न पहिले जोड लगाएर तान्नुपर्ने हुन्छ । त्यसैले यस्ता स्विच ‘अन्जानमा’ बन्द हुन असम्भवजस्तै रहेको प्रारम्भिक प्रतिवेदनको निष्कर्ष छ ।

भारतीय उड्डयन सुरक्षा विज्ञ मोहन रंगनाथनको भनाइ उदृत गर्दै डेलीमेल लेख्छ, ‘दुवै स्विच उडानपछि एक–एक सेकेन्डको अन्तरमा बन्द गरिए । दश सेकेन्डपछि मात्र पुनः खुलाइयो, तर ढिला भइसकेको थियो ।’

मानसिक स्वास्थ्यको प्रश्न 

अनुसन्धान अहिले क्याप्टेन सभरवालको मानसिक स्वास्थ्य, विगतका व्यक्तिगत घटनाक्रम र उडान अवस्थासँग सम्बन्धित निर्णय क्षमता केन्द्रित रहेको छ । 

उनका केही सहकर्मीहरूले उनी विगतमा ‘डिप्रेसन’का कारण छुट्टी लिएको, आमा बितेपछि बिदा लिएर घर गएको जनाएका छन् । यद्यपि, एयर इन्डियाले उनलाई उडानका लागि योग्य घोषणा गरेको थियो ।

उनका सहकर्मीहरूले भने उनलाई भद्र पुरुषका रूपमा वर्णन गरेका छन् ।

दुर्घटनामा आफ्ना नातेदार गुमाएका परिवारका सदस्यहरूले भने एयर इन्डिया र भारतीय सरकारमाथि मृत पाइलटहरूलाई दोष थोपर्ने ‘कभरअप’ प्रयास गरिरहेको आरोप लगाएका छन् ।

अह्मदाबादका पीडित परिवारका एक सदस्य अमीन सिद्दिकी भन्छन्, ‘यो प्रतिवेदन गलत छ । हामी यसलाई स्वीकार्दैनौं । उनीहरूले अब आफैं बोलेर आफ्नो बचाउ गर्न नसक्ने पाइलटलाई दोषी देखाउन खोजिरहेका छन् ।’

प्रारम्भिक प्रतिवेदनमा प्रयोग गरिएको शब्दावलीले यस दुर्घटनालाई ‘पाइलट प्रेरित’ दुर्घटनाको संकेत गरेको छ । 

इन्धन स्विचहरू एकै सेकेन्ड अन्तरमा बन्द हुनु, ल्यान्डिङ गियर नउचालिनु र आपतकालीन ‘र्‍याम एयर टर्बाइन’को सक्रियता देखिनुले गम्भीर शंका उत्पन्न भएको प्रतिवेदनमा भनिएको छ ।

यस दुर्घटनाले फेरि एकपटक पाइलटहरूको मानसिक स्वास्थ्य परीक्षण, पेसा सम्बन्धी तनाव व्यवस्थापन र प्रशिक्षण अनुशासनमाथि प्रश्न उठाएको छ । अमेरिकाको संघीय उड्ययन प्रशासनले २०१८ मै यस्तो स्विचसँग सम्बन्धित चेतावनी दिएको भएपनि एयर इन्डियाले त्यसलाई ‘अनिवार्य नभएको’ भन्दै निरीक्षण गरेको थिएन ।

जीवित बचेका एकमात्र यात्रीको कथा

दुर्घटनामा विमानको सिट ११ ए मा बसेका विश्वास कुमार रमेश मात्र एकजना जीवित रहन सफल भए । उनी आफ्नो दाजुसँग व्यापारिक यात्रा गरिरहेका थिए । तर, सँगै बसेका दाजु अजयकुमारले भने दुर्घटनामा ज्यान गुमाए । 

एयर इन्डियाले घटनाबाट प्रभावित सबैलाई समवेदना व्यक्त गर्दै अनुसन्धानमा पूर्ण सहयोग गरिरहेको जनाएको छ । कम्पनीले अनुसन्धान पूर्ण नभएसम्म विस्तृत टिप्पणी गर्न नमिल्ने स्पष्ट पारेको छ ।

salt training

कमेन्ट गर्नुहोस्