३२ असार २०८३, बिहीबार
युद्ध अन्त्य गर्ने प्रयास

युद्धविरामका लागि युक्रेनको पहल : आगामी साता फेरि वार्ता गर्न रुससमक्ष प्रस्ताव

साउन ४, २०८२
काठमाडौं
युद्धविरामका लागि युक्रेनको पहल : आगामी साता फेरि वार्ता गर्न रुससमक्ष प्रस्ताव

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धविराम वार्तालाई अघि बढाउन आउँदो साता रुससँग नेतृत्व स्तरको बैठक आवश्यक रहेको बताएका छन् ।

शनिबार साँझ राष्ट्रवासीहरूलाई सम्बोधन गर्ने क्रममा उनले युक्रेनको राष्ट्रिय सुरक्षा तथा रक्षा परिषद्का सचिव रुस्तेम उमेरोभले रुससँग अर्को चरणको वार्ताको प्रस्ताव गरिसकेको जानकारी दिएका हुन् ।

'वार्ताको गति अब तीव्र हुनुपर्छ । हामीले युद्धविरामका लागि सक्दो प्रयास गर्नुपर्छ । रुसले बन्दीहरूको विनिमय, अपहृत बालबालिका फिर्ता र निर्दोषको हत्या रोक्ने निर्णय गर्नबाट भाग्न छाड्नुपर्छ,' जेलेन्स्कीले भने ।

उनले शान्तिका लागि नेतृत्व तहकै प्रत्यक्ष बैठक अपरिहार्य भएको भन्दै युक्रेन त्यस्तो बैठकका लागि तयार रहेको स्पष्ट पारे ।

यसैबीच, रुसी सरकारी समाचार संस्था तासले रुसको वार्ता टोलीसँग नजिक रहेको एक स्रोतलाई उद्धृत गर्दै किभबाट बैठकका लागि प्रस्ताव आएको पुष्टि गरेको छ ।

यसअघि जुनको सुरुवातमा इस्तानबुलमा भएको युद्धविराम वार्ता करिब एक घण्टामै टुंगिएको थियो ।

 रुसी सञ्चारमाध्यमका अनुसार, रुसले त्यतिबेला युद्धविरामका लागि अत्यधिक क्षेत्रीय मागहरू अघि सारेको थियो । तर, युक्रेनले सधैं कुनै पनि भू-भाग सुम्पन अस्वीकार गर्दै आएको छ ।

राष्ट्रपति जेलेन्स्कीको यो प्रस्ताव अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो चेतावनीपछि आएको हो ।

ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई ५० दिनभित्र युद्धविराममा सहमति जनाउन आग्रह गर्दै त्यसो नभए कडा भन्सार कर लागू गर्ने चेतावनी दिएका छन् ।

ओभल अफिसमा नेटोका महासचिव मार्क रुट्टेसँगको भेटमा ट्रम्पले भनेका थिए, 'यदि ५० दिनभित्र सम्झौता भएन भने हामीले निकै कडा भन्सार कर लगाउनेछौं ।'

'म व्यापारलाई विभिन्न विषय हल गर्न प्रयोग गर्छु । युद्ध समाधानका लागि यो निकै प्रभावकारी हुन्छ,' उनले भने ।

ट्रम्पले पछिल्ला केही हप्तायता राष्ट्रपति पुटिनप्रति आक्रोश व्यक्त गर्दै युद्धविरामको प्रगतिबारे पुटिनले दिएका आश्वासनहरूलाई 'फोकटको कुरा' भनेर टिप्पणी गरेका छन् ।

यद्यपि, पश्चिमी विश्लेषकहरू र युक्रेनी अधिकारीहरूले ट्रम्पको ५० दिने चेतावनीले पुटिनलाई आक्रामक रणनीति रोक्न प्रेरित गर्ने सम्भावना न्यून रहेको बताइरहेका छन् । 

रुसी विदेशमन्त्री सर्गेइ लाभरोभले ट्रम्पको भन्सार करको धम्कीलाई हल्ला भन्दै खारेज गरेका छन् ।

'५० दिन? पहिले त २४ घण्टा भन्थे, कहिले १०० दिन पनि । यस्ता चेतावनी हामीले बारम्बार भोगिसकेका छौं,' उनले भने ।

– एजेन्सीहरूको सहयोगमा

salt training

कमेन्ट गर्नुहोस्