०५ साउन २०८३, मंगलबार

भारतमा निर्वासित शेख हसिनाले लेखिन् बंगलादेशीलाई खुला पत्र- अन्याय र दमनविरुद्ध उभिन आह्वान

साउन २०, २०८२
काठमाडौं
भारतमा निर्वासित शेख हसिनाले लेखिन् बंगलादेशीलाई खुला पत्र- अन्याय र दमनविरुद्ध उभिन आह्वान

बंगलादेशमा निर्वाचित सरकार हटाइएको एक वर्ष पुगेको दिन, पूर्वप्रधानमन्त्री शेख हसिनाले अन्तरिम सरकारको आलोचना गर्दै देशवासीहरूलाई खुला पत्र लेखेकी छन् । उनले अन्याय र दमनविरुद्ध उभिन जनतालाई आह्वान गरेकी छन् ।

भारतमा निर्वासित जीवन बिताइरहेकी पूर्वप्रधानमन्त्री हसिनाले लेखेकी छन्, ‘आजभन्दा एक वर्षअघि असंवैधानिक रूपमा सत्ता कब्जा गरेर लोकतन्त्रमाथि हिंसात्मक व्यवधान ल्याइयो । त्यो हाम्रो इतिहासको कालो क्षण थियो । जनताको इच्छाविपरीत सत्ता कब्जा गर्नु विश्वासघात हो ।’

मोहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारलाई लक्षित गर्दै उनले लेखेकी छन्, ‘सत्ता त उनले लिए, तर हाम्रो संकल्प, भावना र भविष्यलाई छिन्न सकेनन् । तपाईंहरूलाई म यही आश्वासन दिन चाहन्छु ।’

उनले जनताको साहसको प्रशंसा गर्दै लेखेकी छन्, ‘तपाईंहरूले अन्याय र दमनको विरुद्ध चुप लाग्नुभएन । तपाईंहरूले स्वतन्त्रता र लोकतन्त्रको पक्षमा आवाज उठाउनुभयो । तपाईंहरूको यो देशप्रेमले मलाई निरन्तर प्रेरणा दिएको छ ।’

हसिनाले विगत एक वर्ष कठिन भए पनि त्यो अवधिमा जनताले लोकतान्त्रिक मूल्यहरूप्रति अटुट विश्वास देखाएको उल्लेख गरेकी छन् । उनले लेखेकी छन्, ‘हामीले कठिनाइ भोग्यौं, तर कठिनाइबीच एकता र उद्देश्य भेट्यौं ।’

पत्रमा उनले न्याय, शिक्षा, आर्थिक अवसर र शान्तिका लागि निरन्तर लागिरहन आग्रह गरेकी छन् । उनले लेखेकी छन्, ‘हामी सबै मिलेर पुनः निर्माण गर्नेछौं, खोसिएका संस्थाहरू फिर्ता ल्याउनेछौं र उत्पीडन होइन, आशा र स्वतन्त्रताले परिचालित भविष्य निर्माण गर्नेछौं ।’

हसिनाले बंगलादेशले अघिल्ला चुनौतीहरू पार गरेको भन्दै अझ बलियो र एकताबद्ध लोकतन्त्र निर्माण गर्ने विश्वास व्यक्त गरेकी छन् । उनले पत्रलाई ‘उज्ज्वल भोलिको आह्वान’का रूपमा सम्झन आग्रह गरेकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्