३० असार २०८३, मंगलबार
रुस-युक्रेन युद्ध अन्त्यको प्रयास

अलास्कामा हुने वार्ताको ‘सहभागी सूची’मा छैन जेलेन्स्कीको नाम, ट्रम्प र पुटिन मिलेर डोनबास खोस्न खोजेको आरोप

साउन २५, २०८२
काठमाडौं
अलास्कामा हुने वार्ताको ‘सहभागी सूची’मा छैन जेलेन्स्कीको नाम, ट्रम्प र पुटिन मिलेर डोनबास खोस्न खोजेको आरोप

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी समक्षकी भ्लादिमिर पुटिनबीच आगामी शुक्रबार अलास्कामा हुने वार्ताको तयारी तीव्र भइरहेको छ  । 
तर, उक्त वार्तामा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको नाम सहभागी सूचीमा नभएको खुलासा भएपछि युरोपेली नेताहरूले आफ्नो कूटनीतिक दबाब बढाएका छन् ।

ट्रम्पले पुटिनसँगको प्रत्यक्ष भेटको घोषणा गरेपछि युरोपेली देशहरूबीच एक प्रकारको ‘कूटनीतिक आपतकाल’ शुरू भएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् । 

शनिबार बेलायतमा आयोजित आकस्मिक बैठकमा फ्रान्स, जर्मनी, इटाली, पोल्यान्ड, फिनल्याण्ड, युरोपेली संघका प्रतिनिधि तथा बेलायतका परराष्ट्रमन्त्री डेभिड लाम्मीको उपस्थितिमा अमेरिकी उपराष्ट्रपति जेडी भान्ससँग लामो छलफल भएको थियो ।

उक्त बैठकमा सहभागी युरोपेली नेताहरूले कुनै पनि शान्ति प्रक्रिया युद्धविरामबाट शुरू हुनुपर्ने र युक्रेनलाई बाहिर राखेर वार्ता सम्भव नहुने अडान लिए । 

उनीहरूले जारी गरेको संयुक्त वक्तव्यमा भनिएको छ, ‘युक्रेनले आफ्नो भविष्यबारे स्वतन्त्र निर्णय गर्ने अधिकार राख्छ । अन्तर्राष्ट्रिय सीमाहरू बलपूर्वक परिवर्तन गर्न सकिँदैन ।’

युरोपेली नेताहरूले आलस्कामा हुने वार्तामा युरोपको सहभागिता कूटनीतिक औपचारिकता मात्र नभएर रणनीतिक आवश्यकता पनि रहेकोमा जोड दिँदै आएका छन् ।

युक्रेनको सहभागिताबिना हुने सम्झौता दीर्घकालीन स्थायित्वको आधार बन्न नसक्ने र यसले भविष्यमा उल्टै अस्थिरताको बीज रोप्ने निष्कर्ष युरोपेली देशहरूको छ ।

अलास्कामा हुने वार्ताको प्रारम्भिक सूचीमा जेलेन्स्कीको नाम छैन । तर, स्रोतको हवाला दिँदै सीएनएनले ह्वाइट हाउसले केही बैठकपछि जेलेन्स्कीलाई समावेश गराउने सम्भावना अस्वीकार नगरेको जनाएको छ ।

‘यदि जेलेन्स्कीको सहभागिता भयो भने, त्यो सम्भवतः ट्रम्प–पुटिनको प्रत्यक्ष वार्तापछि मात्र हुनेछ,’ स्रोतको भनाइ उदृत गर्दै सीएनएनले लेखेको छ ।

शान्ति प्रक्रियामा युक्रेनलाई सक्रिय होइन, निष्क्रिय रूपमा संलग्न गराउने तयारी रहेको थाहा पाएपछि युक्रेन र युरोपेली देशहरूले आफ्नो भूमिका कमजोर हुने भन्दै आपत्ति जनाएका छन् । 

केही दिनअघि मस्को पुगेका अमेरिकी दूत स्टीभ विट्कफसँगको भेटमा पुटिनले युक्रेनले सम्पूर्ण पूर्वी डोनबास क्षेत्र आफूलाई सुम्पनुपर्ने प्रस्ताव राखेको भन्दै युक्रेन रुष्ट बनेको छ । खेरसोन र जापोरिज्झिया क्षेत्रको अवस्था अझै अस्पष्ट छ ।

शुक्रबार पत्रकारहरूसँगको भेटघाटमा ट्रम्पले ‘केही भूभाग साटासाट’ हुन सक्ने संकेत दिएका थिए । यस्तो सम्भावनाले युरोपेली र युक्रेनी नेताहरूमा ठूलो चिन्ता पैदा गरेको छ । 

शनिबारको बेलायतमा भएको बैठकमा अमेरिकी पक्षले आफू शान्तिपूर्ण समाधान खोज्न प्रतिबद्ध रहेको र कुनै पनि युद्धविराम सुरक्षा प्रत्याभूतिविना सम्भव नभएको धारणा राखेको थियो । 

अमेरिकी उपराष्ट्रपति जेडी भान्स र बेलायती परराष्ट्रमन्त्री लाम्मीको अगुवाइमा भएको छलफलमा विट्कफ पनि भर्चुअल रूपमा सहभागी थिए ।

बैठकपछि अमेरिकी अधिकारीहरूले पत्रकारसँग भनेका थिए, ‘महत्त्वपूर्ण प्रगति भएको छ, तर युरोपेली वा युक्रेनी सहमति पूर्ण रूपमा अझै प्राप्त भएको छैन ।’

युरोपेली नेताहरूले युद्ध अन्त्य गर्ने ट्रम्पको पहललाई स्वागत गरेका छन् तर उनीहरूले शान्ति प्रक्रिया शुरू हुनुभन्दा पहिला नि:शर्त युद्धविरामको माग राखेका छन् । 

उनीहरूले युक्रेनको सार्वभौमसत्ता र भौगोलिक अखण्डता रक्षा गर्न ‘विश्वसनीय सुरक्षा प्रत्याभूति’ अनिवार्य गर्ने अडान पनि लिएका छन् ।
अमेरिकी पक्ष भने अलिक सजग देखिएको छ । उनीहरू पुटिनको प्रस्तावलाई पूर्णरूपमा अस्वीकार गर्ने मनस्थितिमा छैनन्, तर युरोपेली र युक्रेनी समर्थनविना वार्ता अघि बढाउँदा आउने जोखिमप्रति पनि त्यत्तिकै सजग छन् ।

अलास्कामा हुने यो बैठकले युद्ध अन्त्यको सम्भावना खोले पनि, यसमा युक्रेनको प्रत्यक्ष सहभागिता अनिश्चित हुनुलाई युक्रेनको भूमिकालाई निषेध गर्न खोजिएको संकेतका रूपमा लिइएको छ । 

यदि पुटिनको प्रस्तावअनुसार युक्रेनले डोनबास जस्ता रणनीतिक क्षेत्रहरू त्याग्नुपर्‍यो भने त्यो केवल कूटनीतिक सम्झौता मात्र होइन, रूसको जित भएको सन्देश अन्तर्राष्ट्रिय समुदायमा जानेछ । 

salt training

कमेन्ट गर्नुहोस्