२८ असार २०८३, आइतबार
३३ वर्षीया सांसदको निधन

छोरीलाई जन्म दिएर अस्ताइन् निष्ठावान् सांसद सरिता

भदौ १५, २०८२
बुटवल
छोरीलाई जन्म दिएर अस्ताइन् निष्ठावान् सांसद सरिता

रुकुमपूर्वबाट प्रतिनिधित्व गर्ने नेकपा एमाले लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुनको अप्रत्यासित निधनले जिल्ला शोकमा डुबेको छ । इमानदार राजनीतिज्ञको छवि बनाएकी युवा महिला नेतृ पुनको शनिबार काठमाडौंमा उपचारका क्रममा निधन भयो । 

पुथा उत्तरगंगा गाउपालिका–१० तकसेरा निवासी पुनले दुई वर्षअघि मात्र रुकुम पश्चिमका गोपाल योगीसँग बिहे गरेकी थिइन् । गर्भवती उनको स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौं लगिएको थियो । सांसद पुनले अपरेसनमार्फत् एक हप्ताअघि छोरीलाई जन्म दिएकी थिइन् । तर, आफू भने शनिबार सधैँका लागि अस्ताइन् । 

सानैदेखि मुटु रोगको समस्यामा रहेकी प्रदेशसभा सदस्य पुनको परिवार रुकुममा एमालेलाई स्थापित गर्न र संगठन विस्तारमा ठूलो भूमिका खेल्दै आएको थियो ।

नेकपा एमाले पोलिटब्युरो सदस्य तथा रुकुम पूर्वका इन्चार्ज खेममान खड्काले अपरेसन गरी बच्चा जन्माएपछि मुटुको समस्या निको नहुँदा कलिलै उमेरमा सांसद पुनको निधन भएको बताए । 

‘उहाँ (सरिता)मा सानैदेखि मुटुको समस्या थियो’, खड्काले लोकान्तरसँग भने, ‘गाउँमै हुनुहुन्थ्यो, स्वासप्रस्वासमा समस्या देखिएपछि काठमाडौं ल्याइयो । डाक्टरले मुटुको भल्ब फेर्न भनेपछि डाक्टरले दिएको मितिभन्दा एक महिना अघि नै अपरेसन गरेर बच्चा निकालियो । त्यसपछि मुटुका दुई वटा मेजर अपरेसन भए । तर, सुधार नभएपछि हिजो निधन भयो ।’

समाज परिवर्तन, सुशासन र जनताका चाहनालाई सम्बोधन गर्ने उनको महत्त्वपूर्ण भूमिका रहेको खड्का बताउँछन् । दूरदर्शि, इमानदार, अनुशासित, विकासप्रेमी र निष्ठावान् जनप्रतिनिधि रुकुमपूर्वले गुमाएको नेता खड्काले बताए । अपरेसनपछि देखिएको निमोनियाका कारण उनको निधन हुन पुगेको खड्काले बताए । 

केही वर्षअघि सरिताका पिता तथा पार्टीका नेता सतमान पुनको कोरोना महामारीमा निधन भएको थियो ।

रुकुम पूर्वका सांसद दिलकुमारी बुढाले सरिताको निधनले जिल्लाको राजनीतिमा अपूरणीय क्षति पुगेको बताइन् । 

‘प्रदेशसभामा उहाँको प्रभावकारी भूमिका थियो । असल र क्षमतावान् हुनुहुन्थ्यो । हामीले जिल्लाको विकासमा मिलेर बजेट राख्ने गर्थ्यौं । बच्चा जन्माएर घर फर्किन सक्नुभएन । प्रदेशसभाले क्षमतावान् जनप्रतिनिधि गुमायो’, बुढाले लोकान्तरसँग भनिन् ।

कम उमेरमै सरितालाई गुमाउनु परेकाले पार्टीलाई अतुलनीय क्षति पुगेको नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन ।

सरिताको निधन भएको खबर पाएसँगै जिल्ला तहका विभिन्न राजनीतिक दल, नेता, सामाजिक अभियन्ता, विद्यार्थीलगायतले दु:ख व्यक्त गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्