
खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा मृत भेटिएकी एक महिलाको माइती पक्ष नआइकन शव मुचुल्का नहुने प्रहरीले जनाएको छ । सोमबार राति मार्से जंगलमा स्थानीय रेश्मिका परियार मृत भेटिएकी थिइन् ।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश बुढाथोकीका अनुसार अहिले प्रहरीले माइती पक्षलाई कुरेर बसिरहेको छ ।
‘शवको केही पर महिलाले लगाउने भित्रीबस्त्र भेटिएको छ, त्यो परियारको हो वा होइन अनुसन्धानकै पाटो भयो,’ बुढाथोकीले लोकान्तरसँग भने, ‘माइती पक्ष नआइकन प्रहरीले शव छोएको छैन । म घटनास्थलमै छु, उहाँहरू आउनुहुन्छ अनि मुचुल्का गर्छौं र शव पोष्टमार्टमका पठाएपछि मात्रै घटनाको थप रहस्य खुल्ला ।’
अनुसन्धान नै नभई परियारको बलात्कारपछि हत्या भएको भन्न नमिल्ने डीएसपी बुढाथोकीले बताए ।
परियार स्थानीय अजम्बरी साना किसान कृषि सहकारी संस्थामा कार्यरत थिइन् । पञ्चमीबजारमा रहेको सहकारीबाट काम गरेर फर्कने क्रममा उनी बेपत्ता भएकी थिइन् ।
बेलुका अबेरसम्म उनी घर नफर्किएपछि स्थानीयले खोजबिन गरेका थिए । खोजबिनकै क्रममा परियार जंगलमा घोप्टो अवस्थामा मृत फेला परेकी थिइन् ।