
विराट टिचिङ अस्पतालको एउटा वार्डमा देशको पछिल्लो अवस्थाको एउटा पीडादायी चित्र छ । त्यो चित्र हो, घाइते अवस्थामा उपचार गराइरहेका १९ वर्षीय सन्तनु ढकालको । जसको देब्रे गालामा गोली लागेको छ ।
उनको स्वास्थ्यलाभको कामना गरेर बसेका छन् बुवा महेश ढकाल । महेशको आँखामा आफ्नो एक मात्र छोराको असह्य पीडा मात्र होइन, दशकौंदेखि उही चक्रमा घुमिरहेको देशको भविष्यप्रतिको गहिरो चिन्ता, आक्रोश र वितृष्णा पनि छ ।
गत भदौ २३ गते जेनजी आन्दोलनले सडक तातिँदै थियो । त्यही भिडमा सामेल सन्तनुलाई सुनसरीको इटहरी चोकमा भएको झडपमा गोली लाग्यो । मोरङको सुन्दरहरैँचामा रहेको सुकुना माविमा विज्ञान पढेर भविष्यको सपना बुनिरहेको एउटा किशोरको अनुहारमा लागेको गोलीले ढकाल परिवारको सपनामा बज्रपात आइलागेको छ ।
‘त्यो दिन बिहान पानी परिरहेको थियो, मैले नै उसलाई टर्च बालेर विद्यालय बस आउने ठाउँसम्म पुर्याएँ’, महेश भन्छन्, ‘स्कूलबाट फर्केर खाना खायो र साथीहरूसँग साइकल लिएर कार्यक्रममा जान्छु भनेर निस्कियो ।’
ढकाल परिवार सामान्य खेती किसान गर्ने परिवार हो । केही वर्ष अगाडिसम्म बुवा महेश निजी विद्यालयमा पढाउँथे । जेनजी आन्दोलन सामान्य नै होला भन्ने सन्तनुका बुवालाई लागेको थियो । दिउँसो खेतबारीमा काम गरे । छोरा पनि आन्दोलनमा गएकाले अपडेट हुनुका लागि घरतिर आएको उनले बताए ।
‘आन्दोलन चर्किँदै गएपछि छोरालाई घर फर्किहाल् भनेँ । उसले पनि आइहाल्छु बुवा भनेको थियो । तर, केही बेरमा नै चोट लाग्यो भनेर खबर आयो,’ उनले भने ।
छोराको अवस्था सामान्य नै होला भन्ने अनुमान गर्दै उपचार भइरहेको इटहरी मेडिकल नजिकै पुगेपछि श्रीमतीले छोरालाई विराट टिचिङमा रेफर गरेको खबर सुनाइन् । इटहरीमा भिड भएकाले त्यो भिड छिचोल्न उनलाई समय लागेको थियो ।
शुरू सामान्य चोट होला भन्ने सोचेका महेशले अस्पताल पुग्दाको दृश्य कहालीलाग्दो थियो । सन्तनुको देब्रे गालाको हड्डी, दाँत र मासु क्षतविक्षत भएको थियो ।
श्वास नलीमा रगत जमेर उनको ज्यानै जोखिममा परिसकेको थियो । तर, केही दिनको भेन्टिलेटर बसाइँ र शल्यक्रियापछि सन्तनुको ज्यान जोगिएको छ । डाक्टरले कम बोल्न सुझाव दिएकाले अहिले इसारा गर्ने र कागजमा लेखेर आफ्नो कुरा व्यक्त गर्ने गर्छन् । महेशका अनुसार उनको दोस्रो पटक अप्रेसन गरिएको छ ।

असह्य पीडाको बीचमा महेशलाई अर्को तीतो यथार्थले दिनहुँ पोलिरहेको छ । व्यवस्थाप्रतिको चरम उदासीनताका कारण धेरै छोराहरूको रगत बगेको उनी बताउँछन् ।
‘सरकारले सबै घाइतेको उपचार नि:शुल्क गर्छु भन्यो, तर छोराको गालामा हाल्नुपर्ने एउटा सर्जिकल प्लेट नपाएर उपचार नै रोकियो,’ उनी भन्छन्, ‘अस्पतालले यो हामी बेहोर्न सक्दैनौं, आफैं व्यवस्था गर्नु भनेपछि मैले साथीभाइ र विभिन्न निकाय गुहार्नुपर्यो । के राज्यको जिम्मेवारी घोषणामा मात्र सीमित हो ?’
उनको गुनासो स्थानीय जनप्रतिनिधिको असंवेदनशीलताप्रति पनि छ । ‘मेरो घरबाट केही पर मात्र वडा अध्यक्षको घर छ । आफ्नो वडाको एउटा नागरिक गोली लागेर जीवन–मरणको दोसाँधमा हुँदा आजसम्म एकपटक फोन गरेर के छ अवस्था? भनेर सोध्ने काम भएन,’, महेशले भने, ‘यदि मेरो छोरो कुनै दलको झण्डा बोक्ने कार्यकर्ता वा भोटर भएको भए सायद यहाँ नेताहरूको ओइरो लाग्थ्यो होला । एउटा सामान्य नागरिकको हैसियतले सामान्य सहानुभूति र राज्यको सेवा पाउन पनि कुनै दलको चाकडी नै गर्नुपर्ने हो ?’
२०४६ सालको आन्दोलन, माओवादी द्वन्द्व र विभिन्न राजनीतिक उथलपुथल भोगेको पुस्ता हुन् महेश । उनले हरेक परिवर्तनपछि केही राम्रो होला, अब स्थायित्व आउला भन्ने आशा राखे, तर हरेक पटक निराशा मात्र हात लाग्यो ।
‘हाम्रो पुस्ताले पनि ढुंगैमुढै गरेरै बितायो । पञ्चायत फाल्न लडियो, फेरि बहुदलमा दलका नेताको चाकडी गर्नुपर्यो । ०६२/६३ पछि अर्कोथरि थपिए,’ उनी भन्छन्, ‘चाकडी गर्ने संस्था मात्र फेरियो, प्रवृत्ति फेरिएन । अब त्यही बेथितिविरुद्ध मेरो छोराको पुस्ताले रगत बगाउँदैछ । आखिर कहिलेसम्म? यो चक्र कहिले अन्त्य हुने ?’
अस्पतालको बेडमा सन्तनु बिस्तारै तङ्गग्रिँदै छन् । उनको शरीरको घाउ समयसँगै निको होला, तर उनको मन र महेशको प्रश्नमा रहेको गहिरो घाउ निको हुन एउटा सिङ्गो राजनीतिक संस्कृतिको शल्यक्रिया आवश्यक छ ।
महेश भन्छन्, ‘यो अन्तिम होस् । अब कुनै पनि बाबुले आफ्नो छोरालाई राजनीतिक परिवर्तनको नाममा रगतले लतपतिएको देख्नु नपरोस् । सत्ता सडकबाट होइन, मतबाट र विवेकबाट चल्नुपर्छ । नागरिकले नागरिक हुनुको सम्मान पाउनुपर्छ, कुनै दलको कार्यकर्ता भएको आधारमा होइन ।’