
जेनजीको प्रदर्शनको बाछिटा काठमाडौंका प्रहरी युनिटका हिरासतहरूमा समेत परेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौं र मातहतका १४ वटा प्रहरी वृत्तका हिरासतबाट भदौ २४ मा विभिन्न अपराधसम्बन्धी कसुरमा म्याद थपिएका ६ सय २ जना थुनुवा फरार भएका छन् ।
त्यस्तै, म्याद थप्न बाँकी ३३ जना पनि अहिले सम्पर्कमा छैनन् ।
प्रदर्शनकारीले प्रहरी कार्यालय नै जलाउन खोजेपछि ‘मारिनुभन्दा छाड्नु बेस’ भनेर प्रहरीले उनीहरूलाई फिर्ता आउने शर्तमा हिरासतबाट बाहिर जान दिएको हो ।
तर, हालसम्म कोही पनि फिर्ता भएका छैनन् । उनीहरू सबै सम्पर्कविहीन भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) अपिल बोहराले जानकारी दिए ।
परिसरका अनुसार परिसरबाटै एक सय ४० जना, महाराजगञ्ज वृत्तबाट ८६ जना, बौद्धबाट ६३ जना, गौशालाबाट २५ जना, बानेश्वरबाट ४७ जना, कालीमाटीबाट ३३ जना, कीर्तिपुरबाट ६ जना, थानकोटबाट २७ जना, स्वयम्भूबाट २५ जना, बालाजुबाट ६८ जना, सोह्रखुट्टेबाट ४१ जना, जनसेवाबाट २९ जना, सिंहदरबारबाट २ जना र मालिगाउँबाट १५ जनालाई फेरि सम्पर्कमा आउने सर्तमा हिरासतबाट बाहिर निकालिएको थियो ।
भदौ २३ मा प्रहरीको गोली लागेर १९ जना प्रदर्शनकारीको मृत्यु भएपछि भोलिपल्ट त्यो भीड प्रहरीमाथि नै जाइलागेको थियो । प्रदर्शनकारीको निसानामा प्रहरी युनिट मात्रै होइन, ड्युटीमा खटिएका स्वयं प्रहरीमाथि पर्यो । त्यो अवस्थामा हिरासतका थुनुवा नै असुरक्षित हुने देखिएपछि प्रहरीले त्यहाँ राख्न उपयुक्त नदेखेपछि सबै थुनुवालाई छाडिदिएको परिसरका एक अधिकृतले लोकान्तरलाई बताए ।
उनले भने, ‘हामी आफैं पनि असुरक्षित थियौं, थुनुवालाई भित्र राख्दा उनीहरू पनि मर्ने अवस्थामा पुग्ने देखेर छाडिदियौँ, तर अवस्था सामान्य भएपछि फर्किने शर्त थियो, उनीहरू आएनन् ।’
दिल्लीबाट ल्याइएका मिर्गौला तस्कर र ज्यान मार्ने उद्योगका आरोपीसम्म फरार
काठमाडौंका १४ वटा वृत्तमा मिर्गौला तस्करदेखि जवरजस्ती करणी, लागुऔषध तस्कर हुँदै कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगसम्म कसुरका आरोपीहरू हिरासतमा थिए । ती सबै फरार छन् ।
मानव बेचबिखन ब्यूरोले चुनौती मोलेर दिल्लीबाट पक्राउ गरी ल्याएका मिर्गौला तस्करीका मुख्य नाइके सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका– ७ का श्यामकृष्ण भण्डारी र उनका सहयोगी सिन्धुपाल्चोककै सुजन भारती फरार छन् । ब्यूरोबाट मुद्दा चल्ने भएपनि उसको आफ्नै हिरासत छैन । ब्यूरोले पक्राउ परेका आरोपीलाई बयान सकेर काठमाडौं परिसरमै पठाउँदै आएको थियो ।
भण्डारीको गिरोहमा रहेका काभ्रेका कुमार भन्ने राजकुमार परियार, नुवाकोटका समीर नेपाली र राकेश नेपाली समेत परिसरकै हिरासतबाट निकालिएपछि प्रहरीको सम्पर्कमा आएका छैनन् ।
नेपाली सर्वसाधारणलाई दिल्लीमा पुर्याएर ६ लाख भारुमा मिर्गौला बिक्री गर्दै आएका यो गिरोह फेरि सम्पर्कमा आउने सम्भावना कमै देखिन्छ । तर, दिल्ली प्रहरीले पनि यो घटनामा चासो देखाएका कारण गिरोहले दिल्लीमै बसेर र्याकेट चलाउने सम्भावना भने कम रहेको ब्यूरोका एक अधिकृत बताउँछन् ।
बौद्धको बाहुनधारामा गत साउन १२ गते जीतबहादुर मोक्तानमाथि अन्धाधुन्ध खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले तीन जनालाई दिल्लीबाट पक्राउ गरेर काठमाडौं ल्याएको थियो । उनीहरू पनि जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतबाट बाहिर निक्लिए लगत्तै फरार भएका छन् ।
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–१ बाँसखर्क घर भई जोरपाटी बस्दै आएका २५ वर्षीय लोप्साङ तामाङ, नुवाकोटको शिवपुरी गाउँपालिका–१ घर भई जोरपाटी नै बस्ने ३३ वर्षीय छुमन भनिने सुमन ब्लोन तामाङ र शिवपुरी–१ घर भई जोरपाटी बस्ने ३४ वर्षीय कुमार ब्लोन तामाङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दिल्लीबाट पक्राउ गरेर काठमाडौं ल्याएको थियो । पीडितको जाहेरीका आधारमा ज्यान मार्ने उद्योग कसुरमा अनुसन्धान भइरहेका बेला उनीहरू फरार भएका हुन् । पीडित मोक्तानलाई मार्ने उद्देश्यले नै उनीहरूले खुकुरी प्रहार गरेका थिए । अस्पतालमा झण्डै एक महिना उपचारपछि घर फर्किएका उनको अहिले पनि एउटा हात चल्दैन ।
परिसरका प्रवक्ता एसपी अपिल बोहराका अनुसार प्रहरीकै ज्यान असुरक्षा भएको अवस्था थुनुवाको ज्यानलाई पनि तलमाथि नहोस् भन्ने उद्देश्यले छाडिएको हो । तर, उनीहरूलाई घटना सामान्य भएपछि प्रहरीमा सम्पर्क गर्न भनिएको थियो । बोहरका अनुसार गम्भीर प्रकृतिका अपराधहरू जबर्जस्ती करणी, लागुऔषध बेचबिखन तथा ओसारपसार, वन्यजन्तुको अखेटोपहार बेचबिखन लगायतका अपराधमा अनुसन्धान चलिरहेका आरोपीहरू फरार भएका छन् । उनले फरार थुनुवालाई खोजी गरी पुन:कानूनी दायरामा ल्याउन टीम खटिसकेको बताए ।