
पछिल्लो समय महत्त्वपूर्ण अभियानमा रहेको नेपाली क्रिकेट टोलीले निकट भविष्यमा बलियो टेस्ट राष्ट्र वेस्ट इन्डिजसँग तीन खेलको टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्दैछ । उक्त शृंखला संयुक्त अरब इमिरेट्स (यूएई) मा खेलिने छ ।
नेपालले कुनै पनि टेस्ट राष्ट्रविरुद्ध द्विपक्षीय शृंखला खेल्न लागेको यो पहिलोपटक हो । वेस्ट इन्डिज विश्व क्रिकेटको हस्ती राष्ट्रमध्ये एक हो । विश्व क्रिकेटमा निकै लामो र गौरवशाली इतिहास बोकेको वेस्ट इन्डिजविरुद्धको यो शृंखला अन्तर्राष्ट्रिय क्रिकेटमा आफूलाई स्थापित गराउन निरन्तर संघर्षरत नेपालजस्तो राष्ट्रका लागि निकै महत्त्वपूर्ण छ ।
तेस्रोपटक आईसीसी टी–२० पुरुष विश्वकप खेल्ने अभियानमा रहेकाले पनि नेपाली टोलीका लागि यो शृंखला विशेष र अर्थपूर्ण छ । दुईपटक टी–२० विश्वकप र दुईपटक एकदिवसीय विश्वकपको उपाधि उचालिसकेको वेस्ट इन्डिजसँगको यो शृंखलाले नेपाली टोलीको विश्वकप छनोट तयारीमा थप सहयोग पुर्याउने छ ।
नेपाली टोलीले सन् २०२६ मा आयोजना हुने आईसीसी टी–२० विश्वकपको अन्तिम चरणको छनोट प्रतियोगिता केही समयपछि नै खेल्दैछ । नेपाली टोली लामो समयदेखि सोही छनोट प्रतियोगिताको तयारीमा व्यस्त छ ।
एसिया तथा प्यासिफिक क्षेत्रको अन्तिम चरणको विश्वकप छनोट प्रतियोगिता अक्टोबर ८ देखि १७ तारिखसम्म ओमानमा आयोजना हुँदैछ । छनोट प्रतियोगितामा नौवटा टोलीको सहभागिता रहेको छ । छनोट प्रतियोगितामा नेपाली टोली जापान र कुवेतसँगै समूह ‘बी’ मा परेको छ ।
अन्तिम चरणको विश्वकप छनोट प्रतियोगितामा मलेसिया, कतार, यूएई, ओमान, पपुवा न्यू गिनी र सामोआको पनि सहभागिता रहने छ । यो छनोट प्रतियोगिताबाट तीनवटा टोलीले आगामी टी–२० विश्वकपमा स्थान पक्का गर्नेछन् ।
त्यसैले विश्वकप छनोट प्रतियोगितामा निखारिएको प्रदर्शन गर्न नेपाली टोलीले आफूभन्दा बलियो प्रतिद्वन्द्वीसँग अभ्यास खेल खेल्नु आवश्यक थियो । वेस्ट इन्डिजविरुद्धको शृंखला नेपाली टोलीका लागि त्यही महत्त्वपूर्ण अवसर पनि हो ।
यसमा नेपाली टोलीका सहायक प्रशिक्षक ज्ञानेन्द्र मल्ल र कप्तान रोहित पौडेल पनि सहमत देखिन्छन् । मल्लका अनुसार, वेस्ट इन्डिजजस्तो बलियो टेस्ट राष्ट्रसँग शृंखला खेल्न पाउनु नेपालका लागि महत्त्वपूर्ण उपलब्धि हो ।

‘विश्वकप छनोटअघि हाम्रा लागि यो गतिलो अवसर हो । यो अवसरको भरपूर सदूपयोग गर्नेछौँ,’ बिहीबार आयोजित टोलीको बिदाइ समारोहमा उनले भने । उनले यो अवसरका लागि दुवै देशको क्रिकेट संघलाई धन्यवाद पनि दिए ।
‘टेस्ट राष्ट्रलाई हराउने प्रयास गर्नेछौं । यो अवसरका लागि क्यान र वेस्ट इन्डिज क्रिकेट बोर्डलाई धन्यवाद दिन चाहन्छौं । यतिबेला देश दु:खेको छ । यस्तो बेलामा सबै नेपालीलाई खुसी दिने सक्दो प्रयास गर्नेछौं,’ उनी भन्छन् ।
नेपाली टोलीका कप्तान रोहित पौडेलले पनि बलियो टेस्ट राष्ट्रविरुद्धको शृंखलामा आफूहरूले उत्कृष्ट प्रदर्शन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘हामीले पहिलो पटक टेस्ट राष्ट्रविरुद्ध द्विपक्षीय शृंखला खेल्दैछौँ । शृंखलामा उत्कृष्ट प्रदर्शनको प्रयास गर्नेछौँ,’ उनी भन्छन् ।
यसका अतिरिक्त, नेपालविरुद्धको शृंखलाका लागि घोषणा हुने क्यारेबियन टोलीमा कस्ता खेलाडीले स्थान पाउँछन् भन्ने कौतुहल पनि नेपाली समर्थकमा थियो । अहिले त्यो प्रतिक्षाको घडी पनि समाप्त भइसकेको छ । वेस्ट इन्डिज क्रिकेट बोर्डले बुधबार आफ्नो टोलीको घोषणा गरेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले भने त्यसअघि नै आफ्नो टोलीको घोषणा गरेको थियो । नेपालविरुद्धको शृंखलाका लागि अकिल होसैनको कप्तानीमा १५ सदस्यीय क्यारेबियन टोलीको घोषणा गरिएको छ । वेस्ट इन्डिजको टोलीमा समावेश गरिएको पाँचजना खेलाडीले हालसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘डेब्यू’ गरेका छैनन् ।

त्यसैले यी पाँच क्यारेबियन खेलाडीले नेपालविरुद्धको खेलमार्फत नै अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गर्नेछन् । कप्तान शाई होप, तीव्रगतिका प्रभावशाली बलर अल्जारी जोसेफ, चर्चित ब्याट्सम्यान जोन्सन चार्ल्सजस्ता ‘सेतो बल’ भिडन्तका दिग्गज खेलाडीलाई टोलीमा स्थान दिइएको छैन ।
चर्चित स्पिनर अकिल होसैनको नेतृत्वमा रहने क्यारेबियन टोलीमा काइल मेयर्स, जेसन होल्डर, फाबियन एलनजस्ता केही प्रभावशाली खेलाडीलाई भने समावेश गरिएको छ । ३२ वर्षीय अनुभवी खेलाडी अकिल होसैनले एक सयभन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगितामा वेस्ट इन्डिजको प्रतिनिधित्व गरिसकेका छन् ।
अकिल होसैनले अन्तर्राष्ट्रिय प्रतियोगितामा एक सय २५ भन्दा बढी विकेट लिइसकेका छन् । यी बायाँहाते ब्याट्सम्यान टोलीलाई आवश्यक पर्दा रन बनाउन पनि खप्पिस छन् । उनले सनराइजर्स हैदराबाद, सिडनी सिक्सर्स, मुल्तान सुल्तान्स, न्यू योर्क स्ट्राइकर्स, ट्रिनबागो नाइट राइडर्सजस्ता चर्चित टोलीबाट विश्वका थुप्रै प्रतिष्ठित फ्रेन्चाइज प्रतियोगिता खेलिसकेका छन् ।
क्यारेबियन टोलीमा रहेका अर्का प्रोफाइलिक खेलाडी हुन्, जासन होल्डर । ३३ वर्षीय यी प्रभावशाली अलराउन्डरले त वेस्ट इन्डिजका लागि टेस्ट क्रिकेटसमेत खेलिसकेका छन् । मध्यमतेज गतिका होल्डरको बलिङ जति धारिलो छ, ब्याटिङ पनि उत्तिकै आक्रामक ।

उनले ६९ टेस्टमा एक सय ६२ विकेट लिएका छन् भने तीन हजार ७३ रन पनि बनाएका छन् । टेस्ट क्रिकेटमा उनको व्यक्तिगत उच्च स्कोर अविजित दुई सय दुई रन हो । उनले एकदिवसीय अन्तर्राष्ट्रियमा एक सय ३८ खेल खेल्दै एक सय ५९ विकेट लिएका छन् । यो ढाँचाको क्रिकेटमा उनले दुई हजार दुई सय ३७ रन पनि बनाएका छन् । उनको उच्च स्कोर अविजित ९९ रन हो ।
उनले ७५ टी–२० अन्तर्राष्ट्रिय खेल्दै ८२ विकेट कुम्ल्याएका छन् । टी–२० अन्तर्राष्ट्रियमा उनले ६ सय ७२ रन पनि बनाएका छन् । यसका अतिरिक्त, उनले कोलकाता नाइट राइडर्स, लखनउ सुपर जायन्ट्स, राजस्थान रोयल्स, सनराइजर्स हैदराबाद, चेन्नई सुपर किङ्स, इस्लामाबाद युनाइटेड, खुलना टाइडर्स, डर्बन्स सुपर जायन्ट्स, लस एन्जल्स नाइट राइडर्स, बार्बाडस रोयल्सजस्ता चर्चित क्लबबाट फ्रेन्चाइज प्रतियोगिता पनि खेलिसकेका छन् ।
यसैगरी, काइल मेयर्स क्यारेबियन टोलीका अर्का प्रभावशाली अलराउन्डर हुन् । ३३ वर्षीय मेयर्सले पनि वेस्ट इन्डिजका लागि टेस्ट, एकदिवसीय र टी–२० गरी तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरिसकेका छन् ।
मेयर्सले १८ टेस्टमा कुल नौ सय ४९ रन बनाएका छन् भने ३४ विकेट पनि लिएका छन् । २८ एकदिवसीय अन्तर्राष्ट्रियमा उनले कुल ६ सय ६० रन बनाएका छन् भने १४ विकेट पनि हात पारेका छन् । उनले ३८ टी–२० अन्तर्राष्ट्रियमा सात सय ६२ रन बनाएका छन् ।
उनले पनि विश्वभरका चर्चित फ्रेन्चाइज प्रतियोगिता खेलिसकेका छन् । उनले लखनउ सुपर जायन्ट्स, इस्लामाबाद युनाइटेड, बार्बाडस रोयल्स, आबु धाबी नाइट राइडर्स, डर्बन्स सुपर जायन्ट्स, टिम आबुधाबीलगातका क्लबबाट फ्रेन्चाइज प्रतियोगिता खेल्दै उत्कृष्ट प्रदर्शन गरेका छन् ।
यसैगरी, नेपालविरुद्धको शृंखलाका लागि घोषित क्यारेबियन टोलीमा रहेका अर्का चर्चित खेलाडी फाबियन एलन पनि हुन् । ३० वर्षीय बलिङ अलराउन्डर एलनले क्यारेबियन टोलीका लागि एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका छन् ।
उनले २० एकदिवसीयमा सात विकेट लिएका छन् भने कुल दुई सय रन बनाएका छन् । ३९ टी–२० अन्तर्राष्ट्रियमा उनले २४ विकेट लिएका छन् भने कुल दुई सय ७२ रन बनाएका छन् । उनले पनि विश्वभरका चर्चित फ्रेन्चाइज प्रतियोगितामा अब्बल प्रदर्शन गरिसकेका छन् ।
एलनले मुम्बई इन्डियन्स, पञ्जाब किङ्स, सनराइजर्स हैदराबाद, मुल्तान सुल्तान्स, भ्यानकुभर नाइट्स, टोरन्टो नेसनल्स, दुबई क्यापिटल्स, एडलेइड स्ट्राइकर्स, पर्ल रोयल्स, होबर्ट हरिकन्सलगातका चर्चित क्लबहरूबाट फ्रेन्चाइज प्रतियोगिता खेलेका छन् ।

यसैगरी, क्यारेबियन टोलीमा रहेका पाँच खेलाडीले भने नेपालविरुद्धको शृंखलामार्फत नै अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गर्नेछन् । त्यसैले यी पाँच खेलाडीका लागि यो शृंखला सधैं अविस्मरणीय रहने छ ।
पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने तयारीमा रहेका क्यारेबियन खेलाडी ब्याट्सम्यान अकिम अगस्टे, अलराउन्डर नविन बिदाइसी, स्पिनर जिशन मोटारा, तीव्रगतिका बलर रामोन सिमन्ड्स र विकेटकिपर अमिर जंगु रहेका छन् ।
यद्यपि, २२ वर्षीय बायाँहाते ब्याट्सम्यान अकिमले प्रथम श्रेणी, लिस्ट ‘ए’ र टी–२० क्रिकेटमा भने अब्बल प्रदर्शन गर्दै आएका छन् । २५ वर्षीय अलराउन्डर नविनले पनि प्रथम श्रेणी, लिस्ट ‘ए’ र टी–२० प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका छन् ।
यसका अतिरिक्त, क्यारेबियन टोलीमा रहेका अन्य खेलाडीले भने यसअघि नै अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरिसकेका छन् । ओबेड म्याकोयले वेस्ट इन्डिजका लागि एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका छन् ।
२८ वर्षीय ओबेड म्याकोयले दुई एकदिवसीय अन्तर्राष्ट्रिय र ४२ टी–२० अन्तर्राष्ट्रिय खेलेका छन् । उनी बलिङ अलराउन्डर हुन् । उनले एकदिवसीयमा चार र टी–२० अन्तर्राष्ट्रियमा ५२ विकेट लिइसकेका छन् । उनले थुप्रै चर्चित फ्रेन्चाइज प्रतियोगिता पनि खेलेका छन् ।
यसैगरी, २८ वर्षीय ब्याट्सम्यान केसी कार्टीले त वेस्ट इन्डिजका लागि टेस्ट, एकदिवसीय र टी–२० गरी तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् ।
उनले सात टेस्टमा दुई सय ३५ र ४० एकदिवसीय अन्तर्राष्ट्रियमा एक हजार चार सय ९५ रन बनाएका छन् । उनले चार टी–२० अन्तर्राष्ट्रियमा कुल ५३ रन बटुलेका छन् ।
क्रिकेट वेस्ट इन्डिजका निर्देशक माइल्स बास्कोम्बेले आफ्नो टोलीमा युवा खेलाडीलाई प्राथमिकता दिनुको कारण पनि स्पष्ट पारेका छन् । उनले सन् २०२६ मा भारत र श्रीलंकामा आयोजना हुने टी–२० विश्वकपलाई ध्यानमा राखी युवा खेलाडीलाई टोलीमा स्थान दिइएको बताए ।
‘नेपालविरुद्धको खेलका लागि हामीले केही अनुभवीसँगै युवा खेलाडीलाई पनि स्थान दिएका छौँ । यो शृंखलालाई हामीले निकै महत्त्व पनि दिएका छौँ । हाम्रा लागि पनि यो आगामी विश्वकपको तयारी हो । यो शृंखलाबाट हाम्रा युवा खेलाडीले आफ्नो क्षमता तिखार्ने अवसर पाउने विश्वास हामीले लिएका छौँ,’ उनले भनेका छन् ।

नेपालविरुद्धको शृंखलाले आफूहरूले भविष्यमा गतिलो टोली तयार पार्न पनि सहयोग पुर्याउने विश्वास उनले व्यक्त गरे । ‘हामीले यो शृंखलाबाट निकै आशा गरेका छौँ । यो शृंखलाले हामीलाई भविष्यमा उत्कृष्ट टोली चयन गर्न सहयोग पुर्याउने छ,’ उनी भन्छन्, ‘नयाँ परिवेश र नयाँ प्रतिद्वन्द्वी पक्कै पनि हाम्रा युवा खेलाडीको लागि चुनौतिपूर्ण हुनेछ ।’
नेपालविरुद्धको शृंखलाका लागि घोषित वेस्ट इन्डिजको टोलीमा अकेल होसैन (कप्तान), फाबियन एलन, ज्वेल एन्ड्र्यू, एकिम अगस्टे, नविन बिडाइस, जेडियाह ब्लेड्स, केसी कार्टी, करिमा गोर, जेसन होल्डर, अमिर जांगु, काइल मेयर्स, ओबेड म्याकोय, जिशन मोटारा, रामोन सिमन्ड्स र शामर स्प्रिङ्गर छन् ।
शृंखलाको पहिलो खेल सेप्टेम्बर २७ तारिखमा खेलिने छ । त्यसको दुई दिनपछि सेप्टेम्बर २९ तारिखमा दोस्रो खेल हुनेछ । शृंखलाको तेस्रो तथा अन्तिम खेल भने सेप्टेम्बर ३० तारिखमा खेलिने छ । तीनवटै खेल सारजहामा हुनेछ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)द्वारा घोषित पछिल्लो टी–२० अन्तर्राष्ट्रिय वरीयतामा वेस्ट इन्डिज छैटौं स्थानमा आसिन छ । नेपाल भने उक्त वरीयताको १८औं स्थानमा छ । वेस्ट इन्डिज चारपटकको विश्वकप विजेता हो ।
क्यारेबियन टोलीले टी–२० विश्वकपको उपाधि दुईपटक जितेको छ । वेस्ट इन्डिजले सन् २०१२ र सन् २०१६ मा टी–२० विश्वकपको उपाधि उचालेको थियो । अर्कोतिर, नेपाली टोलीले भने हालसम्म दुईपटक टी–२० विश्वकपमा सहभागिता जनाएको छ ।
नेपालले सन् २०१४ मा पहिलो पटक टी–२० विश्वकप खेलेको थियो । त्यतिबेला समूहगत चरणमा अब्बल प्रदर्शन गरेको नेपाली टोली बंगलादेशसँग नेट रन रेटमा थोरै अन्तरले पछि पर्दै अघिल्लो चरणमा पुग्नबाट वञ्चित भएको थियो ।
समूह ‘ए’ मा रहेको नेपालले हङ्कङलाई ८० रन र अफगानिस्तानलाई नौ रनले हराएको थियो । नेपाली टोलीले सन् २०२४ मा दोस्रोपटक टी–२० विश्वकप खेलेको थियो । त्यतिबेला नेपाली टोली तीन खेलमा पराजित भएको थियो भने एक खेल अनिर्णित रुपमा सकिएको थियो ।
यसैगरी, वेस्ट इन्डिजले दुईपटक एकदिवसीय विश्वकपको उपाधि पनि जितेको छ । वेस्ट इन्डिजले सन् १९७५ मा आयोजित पहिलो र सन् १९७९ मा आयोजित दोस्रो संस्करणको उपाधि चुमेको थियो । अर्कोतिर, नेपाली टोली अहिले पनि आफूलाई एकदिवसीय विश्वकप मञ्चमा उभ्याउन संघर्षरत छ ।
यो तथ्याङ्कले पनि वेस्ट इन्डिजविरुद्धको शृंखला नेपालका लागि कति अर्थपूर्ण छ भने देखाउँछ । यो शृंखलामा अब्बल प्रदर्शन गर्न सकेमा आगामी दिनमा अन्य टेस्ट राष्ट्रहरूले पनि नेपालसँग द्विपक्षीय शृंखला खेल्न अग्रसरता देखाउने सम्भावना बढ्ने छ ।

नेपाली टोलीमा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), आसिफ शेख (विकेटकिपर), सन्दीप लामिछाने, कुशल भुर्तेल, लाकेश बम, कुशल मल्ल, मोहम्मद आदिल आलम, आरिफ शेख, सन्दीप जोरा, करण केसी, नन्दन यादव, गुलसन झा, ललित राजवंशी, सोमपाल कामी र साहब आलम रहेका छन् ।
क्रिकेटलाई अनिश्चितताको खेल भनिन्छ । त्यसैले विश्व क्रिकेटमा तुलनात्मक रुपमा कमजोर टोलीले आफूभन्दा बलिया प्रतिद्वन्द्वीलाई हराएर तहल्का मच्चाएको पर्याप्त उदाहरण छन् । यसका अतिरिक्त नेपाली टोलीमा थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा अब्बल प्रदर्शन गरिसकेका खेलाडीको कमी छैन ।
कप्तान रोहित पौडेलले ७२ एकदिवसीय अन्तर्राष्ट्रियमा एक हजार आठ सय ५१ र ६७ टी–२० अन्तर्राष्ट्रियमा एक हजार चार सय ४५ रन बनाइसकेका छन् । २३ वर्षीय रोहितले १९ अन्तर्राष्ट्रिय विकेट पनि लिइसकेका छन् ।
यसैगरी, २५ वर्षीय प्रभावशाली लेग स्पिनर सन्दीप लामिछानेले पनि ६२ एकदिवसीय अन्तर्राष्ट्रियमा एक सय २७ र ६२ टी–२० अन्तर्राष्ट्रियमा एक सय १७ विकेट लिइसकेका छन् । टोलीलाई आवश्यक पर्दा रन बनाउन पनि उनी खप्पिस छन् । यसका अतिरिक्त उनले इन्डियन प्रिमियर लिग, बिग बास लिगजस्ता थुप्रै फ्रेन्चाइज प्रतियोगिताको अनुभव पनि बटुलिसकेका छन् ।
नेपाली टोलीमा दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, सोपपाल कामी, कुशल मल्ल, आसिफ शेख, आरिफ शेखजस्ता अन्तर्राष्ट्रिय प्रतियोगितामा अब्बल प्रदर्शन गर्ने खेलाडीहरू पनि छन् । मोहम्मद आदिल आलमको आगमनले पनि टोलीको हौसला निकै बढाएको छ । क्रिकेट अनिश्चितताको खेल हो, के थाहा यूएईबाट नेपाली टोली नयाँ इतिहास कोरेर पो फर्कन्छ कि !