
बझाङको खप्तडछान्ना गाउँपालिकामा रहेको जिम्वाल युवा क्लबले ७५ हजार राशिको भलिबल प्रतियोगिता गर्ने भएको छ ।
दशैँ तथा तिहारको अवसरमा क्लबले खप्तडछान्ना गाउँपालिका-४ मा वडास्तरीय भलिबल प्रतियोगिता गर्न लागेको हो ।
क्लबले पुरुषतर्फ र महिलातर्फ गरी छुट्टाछुट्टै भलिबल प्रतियोगिता सञ्चालन गर्ने क्लबका सचिव शेखर रोकायाले बताए ।
पुरुषतर्फको प्रतियोगिताका विजेतालाई ७५ हजार ४४४ रूपैयाँ र महिलातर्फको विजेतलाई २१ हजार ४४४ रूपैयाँ नगद पुरस्कार प्रदान गरिने सचिव रोकायाको भनाइ छ ।
रोकायाका अनुसार भलिबल प्रतियोगिता कार्तिक २ गतेदेखि सञ्चालन हुनेछ । प्रतियोगितामा सहभागी हुन चाहने टिमले कार्तिक १ गतेभित्र टिम दर्ता गराइसक्नुपर्ने छ ।
पुरुषतर्फको टिम दर्ता शुल्क ५ हजार ५५० तोकिएको छ भने महिलातर्फको टिम दर्ताका लागि २ हजार रूपैयाँ दर्ता शुल्क तोकिएको छ ।
पुरुषतर्फ दोस्रो स्थान हासिल गर्ने टिमलाई ४० हजार ४४४ रूपैयाँ नगद प्रदान गरिने छ भने, तेस्रो स्थान हासिल गर्ने टिमलाई २५ हजार ४४४ रूपैयाँ नगद पुरस्कार प्रदान गरिने जनाइएको छ ।
यस्तै, महिलातर्फ दोस्रो स्थान हासिल गर्ने टिमलाई १२ हजार ४४४ रूपैयाँ र तेस्रो स्थान हासिल गर्नेलाई ७ हजार ४४ रूपैयाँ पुरस्कार प्रदान गरिने रोकायाले बताए ।