
आईसीसी महिला एकदिवसीय विश्वकपको आफ्नो पछिल्लो खेलमा श्रीलंकाले बंगलादेशमाथि सात रनको रोमाञ्चक जीत हासिल गर्यो । यो खेलमा अनुभवी बलर चामरी आथापाथुका कारण नै श्रीलंकाको जीत सम्भव भएको थियो ।
पहिले ब्याटिङ गरेको श्रीलंकाले ४८.४ ओभरमा अलआउट हुनुअघि दुई सय दुई रन बनाएको थियो । श्रीलंकाका लागि हसिनी परेराले ८५ रनको योगदान गरिन् । उनले ९९ बलको सामना गरी एक छक्का र १३ चौका पनि हिर्काइन् । उनले एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो एक हजार रन पनि पूरा गरिन् ।
कप्तानसमेत रहेकी ओपनर चामरी आथापाथुले पनि ४६ रनको योगदान गरिन् । उनले ४३ बलमा दुई छक्का र ६ चौका प्रहार गरिन् । उनले एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो चार हजार रन पनि पूरा गरिन् । बंगलादेशी टोलीका बलर बलर सोर्ना अक्तरले तीन र राबेया खानले दुई विकेट लिए ।
जवाफी ब्याटिङमा ओर्लिएको बंगलादेशले निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ९५ रनमात्र बनाउन सक्यो । जितको अत्यन्तै नजिक पुगिसकेको बंगलादेशलाई हराउन चामरी आथापाथुले गजबको प्रदर्शन गरिन् ।
बंगलादेशलाई जितसम्म पुग्न नदिन उनले अन्तिम ओभरमा लगातार चार विकेट लिएर खेलको नतिजा आफ्नो पक्षमा पारिन् । उनले अन्तिम ओभरको पहिलो बलमा बंगलादेशी ब्याटर राबेया खानलाई आउट गरिन् ।
उनले अन्तिम ओभरको दोस्रो खेलमा नाहिदा अक्तरलाई पेभेलियन फर्काइन् । त्यसलगत्तै अर्को बलमा उनले निगार सुल्तानालाई आउट गरिन् । त्यसपछि अन्तिम ओभरको चौथो बलमा उनले मारुफा अक्तरको विकेट लिइन् ।
उनको कमालको प्रदर्शनले खेलमा श्रीलंका विजयी भयो । जितसँगै श्रीलंकाले सेमिफाइनलमा पुग्ने सम्भावना पनि जिवितै राखेको छ । श्रीलंकासँग हारेपछि बंगलादेश भने उपाधि होडबाट बाहिरिने निश्चित भएको छ ।
आठ टोली सहभागी तालिकामा अस्ट्रेलिया नौ अंकसहित पहिलो, इङ्ल्यान्ड नौ अंकसहित दोस्रो र दक्षिण अफ्रिका आठ अंकसहित तेस्रो स्थानमा आसिन छन् । यी तीनवटै टोली सेमिफाइनलमा पुगिसकेका छन् । यी तीनवटै टोलीले अझ दुई–दुई खेल खेल्न बाँकी छ ।
यसैगरी, चार अंकसहित भारत चौथो, चार अंकसहित न्युजिल्यान्ड पाँचौं, चार अंकसहित श्रीलंका छैटौं, दुई अंकसहित बंगलादेश सातौं र दुई अंकसहित पाकिस्तान आठौं स्थानमा छन् ।
श्रीलंका र बंगलादेशले एक–एक तथा अन्य टोलीले दुई–दुई खेल खेल्न बाँकी छ । अब सेमिफाइनलमा पुग्ने एउटा टोलीको मात्र टुंगो लाग्न बाँकी छ । मंगलबारको खेल पाकिस्तान र दक्षिण अफ्रिकाबीच खेलिने छ । यो खेलमा पराजित भए बंगलादेशसँगै पाकिस्तान पनि उपाधि होडबाट बाहिरिने छ ।