०९ साउन २०८३, शनिबार

अमेरिकी अलराउन्डर मिलिन्द कुमारले काठमान्डु गोर्खाजबाट खेल्ने

कात्तिक १३, २०८२
काठमाडौं
अमेरिकी अलराउन्डर मिलिन्द कुमारले काठमान्डु गोर्खाजबाट खेल्ने

अमेरिकाका ब्याटिङ अलराउन्डर मिलिन्द कुमारले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण काठमान्डु गोर्खाजबाट खेल्ने भएका छन् । काठमान्डु गोर्खाजले तेस्रो विदेशी खेलाडीका रूपमा ३४ वर्षीय मिलिन्दलाई अनुबन्ध गरेको हो ।

काठमाडौं स्पोर्टस डेभलपमेन्ट भेन्चर्स प्रालिको स्वामित्वमा रहेको काठमान्डु गोर्खाजले यसअघि नै इङ्ल्यान्डमा खेल्दै आएका दक्षिण अफ्रिकाका विकेटकिपर ब्याट्सम्यान रिकार्डो भास्कोनेसेलोस र नामिबियाका कप्तान जेरहार्ड इरस्मसलाई भित्र्याइसकेको छ ।

पछिल्लो समय मिलिन्द उत्कृष्ट लयमा छन् । हाल दुबईमा जारी नेपाल सम्मिलित विश्वकप लिग–२ क्रिकेटमा उनले नेपालविरुद्ध ५० बलमा ७० र यूएईविरुद्ध ८१ बलमा ७१ रन बनाएका थिए ।

‘मिलिन्दले अमेरिकी टोलीका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्,’ काठमान्डु गोर्खाजका प्रशिक्षक मोन्टी देसाईंले भनेका छन्, ‘फरक परिस्थिति र दबाबमा पनि खेल्न सक्ने उनको क्षमता उत्कृष्ट छ । उनलाई काठमान्डु गोर्खाज परिवारको हिस्साको रूपमा भित्र्याउन पाउँदा हामी निकै उत्साहित छौं ।’

उनले दिल्लीबाट सन् २०११ मा रणजी ट्रफीमा ‘डेब्यू’ गरेका थिए । त्यसपछि उनले सिक्किम, त्रिपुराबाट भारतको घरेलु क्रिकेटमा खेलेका थिए । मिलिन्द दुई पटक इन्डियन प्रिमियर लिगको टोलीमा समावेश थिए ।

सन् २०१४ मा दिल्ली डेयरडेभिल्सले १० लाख र सन् २०१९ मा रोयल च्यालेन्जर्स बेङ्लोरले बेस प्राइस २० लाखमा उनलाई लिएको थियो । तर, उनले आईपीएलमा खेल्ने अवसर भने पाएका थिएनन् ।

उनले पछिल्लो तीन सिजन अमेरिकाको मेजर लिग क्रिकेटमा टेक्सास सुपर किङ्सबाट खेल्दै आएका छन् । नेदरल्यान्ड्सको द हेगमा क्यानडाविरुद्ध खेल्दै उनले अमेरिकाबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेका थिए ।

सन् २०२५ को सेप्टेम्बरमा मिलिन्दले नामिबियाको विन्डहकमा नामिबियाविरुद्ध अविजित ७४ र यूएईविरुद्ध अविजित एक सय ५५ रन बनाएका थिए । यसै वर्षको मे महिनामा उनले क्यानडाविरुद्ध अविजित एक सय १५ र ओमानविरुद्ध ६८ रन बनाएका थिए । त्यसपछि उनी आईसीसीको महिनाको उत्कृष्ट खेलाडीको मनोनयनमा पनि परेका थिए ।

हाल चलिरहेको विश्वपक लिग–२ मा उनी सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा तेस्रो स्थानमा छन् । उनले २० खेलमा ५८ माथिको औसत र एक सयभन्दा माथिको स्ट्राइक रेटमा कूल आठ सय २३ रन बनाइसकेका छन् । 

यसक्रममा उनले दुई शतक र ६ अर्धशतक पनि प्रहार गरिसकेका छन् । उनको नाममा २७ विकेट पनि रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्