
मजदुरको हकहितका लागि अग्रमोर्चामा खटिएर आफ्नो जीवन समर्पण गरेका नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का उपाध्यक्ष कमल गौतमको अप्रत्याशित र अकल्पनीय निधन भएको छ ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका–३ निवासी ६४ वर्षीय गौतम श्रमिकका लागि न्याय माग्दामाग्दै बिहीबार अस्ताउन पुगे । साहसी, इमानदार, संघर्षशील र सादगी नेताको छबि बनाएका उनी अस्ताउनुअघि पनि न्यायकै पक्षमा सम्बोधन गरिरहेका थिए ।
गुल्मीको जुभुङमा जन्मिएर बसाइसराइँ गरी बुटवल झरेका गौतमको निधनसँगै लुम्बिनी प्रदेशले कुशल संगठन र मजदुरको वास्तविक अभिभावक गुमाएको जिफन्टका नेताहरू बताउँछन् ।
नेपाल विद्युत् प्राधिकरणले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ बापतको बक्यौता महसुल नतिरेको भन्दै विद्युत आपूर्ति बन्द गरेपछि रुपन्देहीका उद्योगी, व्यवसायी र श्रमिकले झरीको प्रवाह नगरी बिहीबार प्रदर्शन गरेका थिए । सोही प्रदर्शनलाई सम्बोधन गर्न गौतम कार्यक्रमस्थल पुगेका थिए ।
बुटवल-भैरहवा औद्योगिक करिडोरका १३ उद्योगको लाइन काटिदिएपछि २५ हजार मजदुरको रोजीरोटी गुमेपछि आन्दोलनमा उत्रिएका उनीहरूको पक्षमा ऐक्यबद्धता जनाएर भाषण गर्दागर्दै गौतमको अन्तिम बोली बन्न पुग्यो । इमानदार, प्रस्ट र मजदुरका धरोहर मानिने गौतम २०५३ सालदेखि जिफन्टमा आबद्ध भएका थिए । हाल उनी नेकपा एमालेको केन्द्रीय सदस्य समेत थिए ।
जिफन्टका केन्द्रीय सचिव हरि कार्कीले कुशल ‘मास लिडर’ र संगठक गौतमको निधनले मजदुर क्षेत्रको भरोसा गुमेको बताए । ‘उहाँ गौतम रिक्सा युनियनबाट जिफन्टमा अबद्ध हुनुभएको थियो’, कार्कीले लोकान्तरसँग भने, ‘उहाँले संगठन निर्माणमा देशव्यापी रूपमा सबै क्षेत्रमा पुगेर काम गर्नुभएको हो । मजदुरको हक अधिकारका लागि बोल्दाबोल्दै अस्ताउनुभयो । गौतमको निधनले जिफन्ट र एमालेमा ठूलो क्षति पुगेको छ ।’
प्रस्ट वक्तासमेत रहेका गौतम मजदुर हक अधिकारका मुद्दामा आफ्नो योजना बनाउँथे । सामाजिक सुरक्षा कोषमा मजदुरहरूलाई आबद्ध गराउन उनी कटिबद्ध भएर लागिरहेका थिए । विशेषगरी उनले सरकारले ल्याएको सामाजिक सुरक्षा कोषमा अनौपचारिक र असंगठित क्षेत्रका मजदुरलाई पनि कसरी जोड्न सकिन्छ भनेर चासो र चिन्ता सधैँ लिन्थेँ ।
नेपाल ट्रेड युनियन, कांग्रेस लुम्बिनी प्रदेशका अध्यक्ष काजीमान श्रेष्ठले नेता गौतम साढे तीन दशकदेखि मजदुर क्षेत्रमा लागेका लगनशील, इमान र श्रमिक पक्षीय मुद्दामा अडान लिने नेता रहेको बताउँछन् ।
‘हामी दुई जना २०४७ सालदेखि एउटै क्षेत्रमा काम गर्दै आएका थियौं’, अध्यक्ष श्रेष्ठले लोकान्तरसँग भने, ‘उहाँ लगनशील, संगठित र इमानदार नेता हो । जिफन्टको नाम लिँदा पहिलो नाम उहाँकै आउँथ्यो । मजदुरको तल्लो क्षेत्रबाट आएकाले गौतम सबैसँग परिचित हुनुहुन्थ्यो । उहाँको निधनले मजदुर क्षेत्रले वास्तविक अभिभावक गुमाएको छ ।’
गौतम २०३८ मा अनेरास्ववियु प्रारम्भिक कमिटीमा जोडिएर राजनीतिमा लागेका थिए । २०४३ मा अनेरास्ववियु रूपन्देहीको अध्यक्ष, सोही साल नेपाल राष्ट्रिय शिक्षक संगठनमा आबद्ध, २०४० मा संयुक्त वाम मोर्चामा आबद्ध, २०४६ मा नेकपा (माले), २०४८ मा एमाले बुटवल नगर कमिटी सचिव, २०५३ मा जिफन्ट, रिक्सा युनियन अध्यक्ष, २०५६ मा एमाले लुम्बिनी अञ्चल सदस्य, दुई कार्यकाल जिफन्ट अध्यक्ष र २०७८ मा एमालेको केन्द्रीय सदस्य चयन भएका थिए ।
एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेले मजदुरको क्षेत्रमा दृढ समर्पित भएर लाग्ने नेता पार्टीले गुमाउन पुगेको बताए । ‘विद्यार्थी संगठन हुँदै पार्टी र विशेषगरी उहाँ मजदुरको क्षेत्रमा लामो अनुभव र काम गरेको नेता हो । उहाँको निधनले पार्टी र सिंगो मजदुर क्षेत्रमा ठूलो क्षति पुगेको छ’, गैरेले लोकान्तरसँग भने ।
गौतमका दुई छोरा र श्रीमती छन् ।