
बेलायतका राजा चार्ल्सले आफ्ना कान्छा भाइ एन्ड्रयूको राजकुमारको उपाधि खोसेका छन् र उनलाई विन्डसरको घरबाट निकालेका छन् । यससँगै उनले आफ्नो विन्डसरस्थित निवास र रोयल लज पनि छाड्नुपर्ने भएको छ ।
जेफ्री एपस्टीनसँगको सम्बन्धका कारण यस्तो निर्णय गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । एन्ड्रयूमाथि लामो समयदेखि नाबालिगहरूलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो ।
६५ वर्षीया एन्ड्रयू स्वर्गीय महारानी एलिजाबेथका दोस्रो छोरा हुन् । यस महिनाको शुरूमा उनलाई योर्कको ड्यूक उपाधि प्रयोग गर्नबाट पनि प्रतिबन्ध लगाइएको थियो ।
आफ्नो व्यक्तिगत जीवनबारे बढ्दो प्रश्नहरूको सामना गर्नुपरेपछि एन्ड्रयूले यसै महिनाको शुरूमा ‘ड्यूक अफ योर्क’सहित आफ्ना अन्य शाही उपाधिहरू स्वेच्छाले त्यागेका थिए ।
एन्ड्रयूका दुई वयस्क छोरीहरू युजिनी र बियट्रिसले आफ्नो राजकुमारी उपाधि कायम राख्नेछन् । एन्ड्रयू सिंहासनको उत्तराधिकार सूचीमा आठौँ स्थानमा यथावत् छन् ।
उनकी पूर्वपत्नी सारा फग्र्युसनले पनि रोयल लज छाड्ने भएकी छन् । उनी आफ्नै बसोबासको व्यवस्था मिलाउने तयारीमा छिन् ।