०३ साउन २०८३, आइतबार
आईसीसी क्रिकेट विश्वकप लिग–२

सुधारिन नसकेको ब्याटिङ, लय गुमाएको बलिङ र अल्मलिएको फिल्डिङबीच दुई अंकको खोजी

कात्तिक १९, २०८२
काठमाडौं
सुधारिन नसकेको ब्याटिङ, लय गुमाएको बलिङ र अल्मलिएको फिल्डिङबीच दुई अंकको खोजी

संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलाको अघिल्ला तीन खेलमा बिर्सनलायक प्रदर्शन गरेको नेपाली टोलीले बुधबार आफ्नो चौथो तथा अन्तिम खेल खेल्दैछ ।

नेपाली टोलीले चौथो खेलमा आयोजक यूएईको सामना गर्नेछ । नेपाल र यूएईबीचको खेल दुबईस्थित आईसीसी एकेडेमी ग्राउन्डमा नेपाली समय अनुसार, बिहान ११:१५ बजे शुरू हुनेछ ।

नेपाल र यूएईबीचको यो खेल लिग–२ प्रतियोगिताको १५औँ शृंखलाको अन्तिम खेल पनि हो । लिग–२ प्रतियोगितामा नेपाली टोलीका लागि भने यो पाँचौँ शृंखला हो । यो शृंखलामा नेपाली टोलीको प्रदर्शन अत्यन्तै निराशाजनक देखिएको छ ।

यो शृंखला शुरू हुनुअघि नेपाली टोलीले टी–२० शृंखलामा पहिलो पटक टेस्ट राष्ट्र वेस्ट इन्डिजलाई हराएको थियो । त्यसलगत्तै नेपाली टोलीले आईसीसी टी–२० विश्वकपको छनोट प्रतियोगितामा समेत अब्बल प्रदर्शन गर्दै तेस्रोपटक विश्वकपमा स्थान बनाउन सफल भएको थियो ।

वेस्ट इन्डिजविरुद्धको शृंखला र विश्वकप छनोट प्रतियोगितामा आफ्नो टोलीको उत्कृष्ट प्रदर्शनबाट हौंसिएका नेपाली समर्थक लिग–२ प्रतियोगिताको बिर्सनलायक प्रदर्शनबाट भने निराश बनेका छन् ।

किनभने, आईसीसी एकदिवसीय विश्वकपमा स्थान बनाउन र एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन लिग–२ प्रतियोगिता निकै महत्वपूर्ण छ । यति महत्वपूर्ण प्रतियोगितामा नेपाली खेलाडीले खराब प्रदर्शन गर्दा समर्थकको मन कुँडिनु स्वाभाविक पनि हो ।

आठ टोली सहभागी लिग–२ प्रतियोगिताको अंक तालिकामा सातौँ स्थानमा रहेको नेपालले यूएईमा भ्रमणपछि आफ्नो अवस्थामा सुधार ल्याउने अनुमान गरिएको थियो । तर, नेपाली टोली जारी लिग–२ शृंखलाको अघिल्ला तीनवटै खेलमा पराजित भएको छ ।

त्यसैले आयोजक यूएईविरुद्धको अन्तिम खेलमा जित हात पार्दै कम्तिमा दुई अंक जोड्न सके पनि यसले समर्थकलाई केही राहत दिनेछ । यो शृंखलामा नेपाली खेलाडीको ब्याटिङ, बलिङ र फिल्डिङ तीनवटै पक्ष कमजोर देखिएको छ ।

नेपाली टोली अमेरिका विरुद्धको पहिलो खेलमा दुई सय ६३ रनको लक्ष्य पछ्याउन पनि असफल देखिएको थियो । त्यो खेलमा नेपाली टोलीका बलरले औसत प्रदर्शन गरेका थिए । ५० ओभरको खेलमा अमेरिकाले दिएको लक्ष्य मध्यम थियो ।

तर, नेपाली ब्याट्सम्यानको प्रदर्शन भने निराशाजनक रह्यो । नेपाली टोलीका कुनै पनि ब्याट्सम्यान ४० रनभन्दा माथि उक्लन सकेनन् । आफ्नो पालीमा नेपाली टोलीका ब्याट्सम्यान एकपछि अर्को गर्दै मैदान प्रवेश गर्ने र लगत्तै पेभेलियन फर्कनेक्रम जारी रह्यो ।

परिणाम स्वरूप सिङ्गो नेपाली टोली ३९.१ ओभरमा केवल एक सय ५६ रन बनाउँदै अलआउट भयो । समग्रमा उक्त खेलमा ब्याट्सम्यानहरूको कमजोर प्रदर्शन नै नेपाली टोलीको हारको कारण बन्न पुगेको थियो ।

विडम्बना, आफ्नो दोस्रो खेलमा नेपाली टोली आयोजक यूएईसँग पनि पाँच विकेटले पराजित हुन पुग्यो । यो खेलमा नेपाली नेपाली टोलीको ब्याटिङमै समस्या देखियो । पहिले ब्याटिङ गरेको नेपाली टोलीले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर दुई सय ३३ रनमात्र बनाउन सक्यो ।

माथिल्लो क्रमका ब्याट्सम्यान एकपछि अर्को गर्दै पेभेलियन फर्कनेक्रम जारी रह्यो । माथिल्ला तीनमध्ये दुई ब्याट्सम्यानले त दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । धन्न, चौथो नम्बरमा क्रिज समाल्न आएका कप्तान रोहित पौडेलले शतकीय पाली खेलेर नेपाली टोलीलाई केही राहत दिए ।

उक्त खेलमा नेपाली टोलीका ६ ब्याट्सम्यानले त दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । रोहितबाहेक कुनै पनि ब्याट्सम्यान ३५ रनभन्दा अगाडि बढ्न सकेनन् । नेपाली ब्याट्सम्यानले ‘पावर प्ले’ मा पनि रन बनाउन सकेनन् भने एकपछि अर्को गर्दै विकेट पनि गुमाइरहे ।

समर्थकका लागि यो अर्को विश्वासिलो क्षण थियो । जवाफी ब्याटिङमा ओर्लिएको यूएईका ब्याट्सम्यानले पनि उत्कृष्ट प्रदर्शन गरे । दुवै ओपनरले ‘पावर प्ले’को भरपुर फाइदा उठाउँदै ६३ रनको साझेदारी गरे ।

८.२ ओभरमा पहिलो विकेट गुमाउनुअघि नै यूएईले सातभन्दा पनि माथिको रन रेटमा ६३ रन बनाउँदै आफ्नो अवस्थालाई मजबुत पारिसकेको थियो । ओपनरद्वय आर्यान्श शर्मा (९८ रन) र एलिसन सराफु (४५ रन)ले आक्रामक पाली खेल्दै यूएईको जितको आधार तयार पारेका थिए ।

टोली जितबाट टाढिँदै गएको अवस्थामा नेपाली बलरले पुनरागमनको झिनो प्रयास गरे पनि उनीहरू त्यसमा सफल भएनन् । नेपालले यूएईलाई दिएको लक्ष्य नै कम थियो । अन्तत: यूएईले ४३.३ ओभरमा पाँच विकेट गुमाएर विजयलक्ष्य पूरा गरेको थियो ।

अमेरिकाविरुद्धको तेस्रो खेलमा नेपाली टोलीका ब्याट्सम्यानले केही निखारिएको प्रदर्शन गरे पनि बलरहरूको प्रदर्शन भने कमजोर देखियो । त्यो खेलमा नेपाली टोलीले फिल्डिङमा पनि निकै कमजोर प्रदर्शन गरेको थियो ।

उक्त खेलमा पहिले ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा अलआउट हुनुअघि दुई सय ७१ रन बनाएको थियो । समग्रमा नेपाली ब्याट्सम्यानको प्रदर्शन सन्तोषजनक नै थियो । दीपेन्द्रसिंह ऐरीले ७५ रन बनाएका थिए भने ओपनर कुशल भुर्तेलले ४७ र भीम सार्कीले ४३ रन जोडेका थिए ।

कप्तान रोहित पौडेलले पनि ३६ रन बटुलेका थिए । तर, यो खेलमा महत्वपूर्ण तल्लो क्रमका ब्याट्सम्यान करण केसीले खेले । उनले आक्रामक ब्याटिङ गर्दै ३१ ब्लमा तीन छक्का र दुई चौकाको मद्दतले ४९ रन बनाएपछि नेपाली टोलीको स्कोर सम्मानजनक अवस्थामा पुगेको थियो ।

अघिल्ला खेलमा जस्तै अमेरिकाविरुद्धको यो खेलमा पनि ओपनिङ जोडीले भने नेपाललाई गतिलो शुरूआत दिन सकेको थिएन । यो खेलमा खराब फिल्डिङ नेपाली टोलीको हारको कारण बन्न पुग्यो । नेपाली फिल्डरले महत्वपूर्ण क्षणमा केही क्याच छुटाउनु नै हारको प्रमुख कारण थियो ।

यद्दपि, बलरहरूको प्रदर्शन पनि सोचेजस्तो रहेन । तर, यो खेलमा विजयलक्ष्य पूरा गर्न अमेरिकाले ठुलै संघर्ष गर्नु परेको थियो । अमेरिकी टोलीले ४९ ओभरमा ६ विकेट गुमाएर विजयलक्ष्य पूरा गरेको थियो ।

अझ रमाइलो पक्ष त के हो भने, लिग–२ शृंखला शुरू हुनुभन्दा ठिकअघि नेपालले आईसीसी टी–२० विश्वकपको अन्तिम चरणको छनोट प्रतियोगितामा यूएईको यही टोलीलाई हराएको थियो ।

२० ओभरको त्यो खेलमा नेपालले ६ विकेट गुमाएर एक सय ४० रन बनाएको थियो । तर, यूएईलाई एक सय ३९ रनमै रोक्दै एक विकेटको रोमाञ्चक जित हासिल गरेका थियो । एसिया–प्रशान्त क्षेत्रको उक्त छनोट प्रतियोगितामा नेपाल लगातार ६ खेल जित्दै च्याम्पियन बनेको थियो ।

तर, एकदिवसीय ढाँचाको प्रतियोगितामा भने नेपाली खेलाडीले सोही अनुरूपको प्रदर्शन गर्न सकेको पाइँदैन । त्यसको प्रमुख कारण नेपाली खेलाडीहरू छोटो ढाँचाको क्रिकेट (खासगरी फ्रेन्चाइज प्रतियोगिता)मा अभ्यस्त हुनु र घरेलु क्रिकेटमा लामो ढाँचाको प्रतियोगिताको अभाव हुन हो ।

त्यसैको असर लिग–२ जस्ता ५० ओभरमा महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा झल्कन्छ । त्यसैले आगामी दिनमा देशभित्र बढीभन्दा बढी लामो ढाँचाको (अझ सम्भव भएसम्म तीन दिवसीय) प्रतियोगिताहरू आयोजना गर्नेतर्फ सम्बन्धित निकायको ध्यान जानु आवश्यक देखिन्छ ।

एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका लागि यूएई पूर्वपरिचित प्रतिद्वन्द्वी हो । नेपाल र यूएईबीच हालसम्म १६ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेलिएको छ । यो तथ्याङ्कलाई हेर्दा यूएईभन्दा नेपाल बलियो देखिन्छ । नेपालले नौ खेलमा यूएईलाई हराएको छ ।

यूएईले भने सात खेलमा नेपाललाई पराजित गरेको छ । घरेलु मैदानमा यी दुवै टोलीले पाँच–पाँच खेल जितेका छन् । नेपालले तीन खेलमा यूएईलाई उसैको घरेलु मैदानमा हराएको छ । यूएईले भने नेपालको घरेलु मैदानमा एक खेलमात्र जित्न सकेको छ । ‘न्यूट्रल भेन्यू’ मा नेपाल र यूएईले एक–एक खेल जितेका छन् ।

नेपाल र यूएईबीच पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय सन् २०१८ को अगस्त ३० तारिखमा खेलिएको थियो । क्वालालम्पुरमा खेलिएको उक्त खेलमा यूएईले नेपाललाई ७८ रनले हराएको थियो । यी दुई टोलीबीच खेलिएको पछिल्ला पाँच एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालले चार र यूएईले एक खेल जितेका छन् ।

लिग–२ को यो शृंखलामात्र होइन, यसअघिका शृंखलामा पनि नेपाली टोलीको प्रदर्शन खासै सन्तोषजनक देखिँदैन । त्यसैको प्रतिफल हो, आठ टोली सहभागी लिग–२ तालिकामा नेपाली टोली सातौँ स्थानमा आसिन छ ।

लिग–२ प्रतियोगिताको दोस्रो संस्करणमा १९ खेल खेलेको नेपालले पाँच खेलमात्र जित्न सकेको छ । १२ खेलमा पराजित भएको नेपाली टोलीको दुई खेल भने अनिर्णित रुपमा सकिएको छ । नेपालले हालसम्म १२ अंकमात्र बटुल्न सकेको छ ।

यूएई भने १९ खेलबाट आठ अंक जोड्दै तालिकाको आठौँ स्थानमा छ । यूएईले चार जीत र १५ हारको नतिजा निकालेको छ । यूएई भ्रमणका क्रममा चारवटै खेल जित्दै आठ अंक जोडेको अमेरिका तालिकाको पहिलो स्थानमा छ ।

अमेरिकाले २४ खेलबाट ३६ अंक जोडेको छ । अमेरिकाले हालसमम १८ जित र ६ हारको नतिजा निकालेको छ । २४ खेलबाट ३० अंक बटुलेको स्कटल्यान्ड दोस्रो र समान खेलबाट २८ अंक जोडेको नेदरल्यान्ड्स तेस्रो स्थानमा छन् ।

यसैगरी, २० खेलबाट २४ अंक हात पारेको ओमान चौथो, २४ खेलबाट २१ अंक बटुलेको क्यानडा पाँचौँ र २४ खेलबाट १९ अंक कमाएको नामिबिया छैटौँ स्थानमा आसिन छन् ।

सहभागी टोलीहरूका लागि आईसीसी क्रिकेट विश्व कप लिग–२ प्रतियोगिता निकै महत्त्वपूर्ण छ । यो प्रतियोगिता सन् २०२७ मा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकपका लागि छनोटको आधारका रुपमा पनि रहेको छ ।

सन् २०२७ को एकदिवसीय विश्वकप दक्षिण अफ्रिका, जिम्बावे र नामिबियामा संयुक्त रुपमा आयोजना हुँदैछ । लिग–२ प्रतियोगिताको समाप्तिपछि अंक तालिकाको माथिल्लो चार स्थानमा रहने राष्ट्र सिधै उक्त एकदिवसीय विश्वकपको अन्तिम चरणको छनोटमा प्रवेश गर्नेछन् ।

लिग–२ तालिकाको अन्तिम चार स्थानमा रहने राष्ट्रले भने विश्वकप क्वालिफायरका लागि प्ले–अफ चरण खेल्नु पर्नेछ । यसका अतिरिक्त, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)बाट सन् २०१८ मा प्राप्त एकदिवसीय मान्यता जोगाउन पनि यो प्रतियोगिताको महत्त्वपूर्ण भूमिका रहन्छ ।

हाल आईसीसीबाट अस्थायी रूपमा एकदिवसीय मान्यता पाएका नेपालसहितका एसोसिएट्स सदस्य राष्ट्रको उक्त मान्यता सन् २०२६ को विश्वकप छनोटसम्म कायम रहने छ । यो सूचीमा स्कटल्यान्ड, यूएई, नेदरल्यान्ड्स, नामिबिया, ओमान, अमेरिका र क्यानडा पनि रहेका छन् ।

लिग–२ प्रतियोगिताको दोस्रो संस्करणमा सहभागी आठवटै राष्ट्रले ३६–३६ खेल खेल्नेछन् । प्रत्येक राष्ट्रले घरेलु मैदानमा तीनवटा शृंखला खेल्नेछन् भने ६ वटा शृंखला अन्य राष्ट्रको मैदानमा खेल्नेछन् । नेपालले अर्को शृंखला सन् २०२६ को मार्चमा खेल्नेछ । उक्त शृंखलामा नेपालका अतिरिक्त ओमान र यूएईको सहभागिता रहनेछ ।

salt training

कमेन्ट गर्नुहोस्