०५ साउन २०८३, मंगलबार
एमाले महाधिवेशन

अध्यक्ष ओलीको गृहप्रदेशका 'बलिया तीन नेता' केन्द्रीय सचिवका दाबेदार

मंसिर ३, २०८२
विराटनगर
अध्यक्ष ओलीको गृहप्रदेशका 'बलिया तीन नेता' केन्द्रीय सचिवका दाबेदार

नेकपा (एमाले)को एघारौं महाधिवेशनको सरगर्मी विस्तारै बढ्न थालेको छ । मंसिर २७ देखि काठमाडौंमा शुरू हुने महाधिवेशनको मिति नजिकिएसँगै विभिन्न पदका आकांक्षी नेताहरू आफ्नो पक्षमा माहोल बनाउन दौडधूपमा लागेका हुन् । 

कोशी प्रदेशका तीन नेता केन्द्रीय सचिव पदको दौडमा देखिएका छन् । कोशीका मुख्यमन्त्रीसमेत रहेका नेता हिक्मत कार्की, पूर्वमुख्यमन्त्री शेरधन राई र नेता विनोद ढकाल सचिव पदका दाबेदार देखिएका हुन् । कोशी एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह प्रदेश पनि हो ।

यसबाहेक कोशी प्रदेशबाटै ८ नेता पदाधिकारीका आकांक्षी छन् । उपाध्यक्ष गुरु बराल, सचिव योगेश भट्टराई, राजेन्द्र गौतम, भानुभक्त ढकाल, अग्नि खरेललगायतका नेताहरू पदाधिकारीका दाबेदार रहेको एमाले नेताहरू बताउँछन् । 

मुख्यमन्त्री कार्की पछिल्लो समय पूर्वका पहाडी जिल्लामा आफ्नो गतिविधि बढाउँदै छन् । कार्की आफ्नो दाबेदारी बलियो बनाउन इलाम र धनकुटामा पार्टीका कार्यक्रममा व्यस्त छन् ।  

केन्द्रीय सदस्य उषाकला राईलगायत नेताहरूले कार्कीलाई पहिचान पक्षधरसँग सम्बन्ध सुधार्न जिल्ला जान सुझाएको एमालेकै नेताहरू बताउँछन् ।

केही दिनअघि मात्रै आफूनिकट पत्रकारहरूलाई एक होटलमा बोलाएर कार्कीले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेको स्रोत बताउँछ । यद्यपि, कुन पदमा भन्ने पक्का नभए पनि स्थायी कमिटी सदस्य भइसकेको व्यक्तिले माथिल्लो पदमा दाबी गर्नु स्वाभाविक भएको उनका राजनीतिक सल्लाहकार रवि खनालले बताए । ‘अहिलेसम्म उहाँले औपचारिक घोषणा त गर्नुभएको छैन, तर अहिलेको पदभन्दा माथि जान स्वाभाविक रूपमा बल लाग्छ,’ खनालले भने । 

सचिव पदका लागि कार्कीका प्रतिस्पर्धीका रूपमा कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा पार्टीका प्रदेश इन्चार्ज शेरधन राई पनि देखिएका छन् । उनले पदाधिकारीमा आफ्नो उम्मेदवारी रहने निश्चित भएको बताए । ‘मैले नेतृत्वसँग कुरा गरेको छैन, काठमाडौं फर्केर छलफल गर्छु,’ राईले भने, ‘कुन पद भन्ने टुङ्गो छैन, तर पदाधिकारीमा मेरो उम्मेदवारी हुन्छ ।’ 

राई र कार्की दुवै अध्यक्ष ओलीनिकट मानिन्छन् । १५ सदस्यीय पदाधिकारीमा दुवैलाई समेट्न ओलीलाई सकस पर्ने नेताहरू बताउँछन् । तर, पदाधिकारी संख्या बढाएर १८ पुर्‍याउने गरी छलफल चलिरहेकाले दुवै जना अट्न सक्ने सम्भावना पनि रहेको एक केन्द्रीय सदस्यले बताए । 

यसैबीच, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीनिकट मानिने नेता विनोद ढकाल पनि सचिव पदका दाबेदार देखिएका छन् । कुनै समय अध्यक्ष ओलीका विश्वासपात्र रहेका ढकाल, नेकपा विभाजनका बेला पार्टी नफुटाउन सुझाव दिएपछि ओलीसँग टाढिएका थिए । 

एमाले प्रदेश कमिटीको अध्यक्षको चुनावमा शेरधन राई र हिक्मत कार्की मिलेरै ढकाललाई हराएका थिए । त्यतिबेला मुख्यमन्त्री कार्कीले ढकालनिकटका सांसदलाई मन्त्री बनाउने आश्वासन दिए पनि पूरा नगर्दा उनीसँग असन्तुष्टि बढेको थियो ।

उक्त पराजयको बदला ढकालले मोरङ जिल्ला अधिवेशनमा संस्थापन पक्षविरुद्ध अप्रत्याशित नतिजा निकालेका थिए । 

केन्द्रीय सदस्य युवराज बास्कोटाले सचिव पदका लागि ढकालको नाम पहिलो नम्बरमा आउने दाबी गरे । ‘विनोदजीको नाम सचिवमा पहिलो नम्बरमा रहन्छ, उहाँको पनि पार्टीमा ठूलो योगदान छ,’ भण्डारीनिकट नेता बास्कोटाले भने ।

भण्डारी पक्षका नेताहरूले ढकाललाई पूर्वको मियो भनेर चर्चा गर्ने गरेका छन् । ‘हामी सिपाहीले कमान्डर बचाउने हो । हामी उहाँलाई यो पद, मर्यादा र हैसियतमा उभ्याउन लागेका छौं,’ बास्कोटाले भने ।

salt training

कमेन्ट गर्नुहोस्