
बाराको सिमरामा जेनजी समूहले राजमार्ग बन्द गर्दा अवस्था तनावपूर्ण बनेपछि वार्तामा बोलाइएको छ ।
बिहीबार सडक खुलाउन गएका प्रहरीसँग जेनजी समूहको झडप भएपछि अवस्था तनावपूर्ण बनेको थियो । प्रहरीका अहिले पनि राजमार्ग अवरुद्ध छ ।
एक प्रहरी अधिकारीका अनुसार प्रदर्शनरत जेनजी समूहलाई जिल्ला सुरक्षा समितिले वार्तामा बोलाएको हो ।
‘उहाँहरूले सडक अवरोध कायमै राख्नुभएको छ । जिल्ला सुरक्षा समितिले उहाँहरूलाई वार्तामा बोलाएको छ । जेनजी प्रतिनिधिहरू वार्तामा आउँदै हुनुहुन्छ’, ती प्रहरी अधिकारीले भने ।
आज पनि जेनजी समूह र प्रहरीबीच झडपको स्थिति आएको बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए । उनका अनुसार जेनजीका समूहले राजमार्ग बन्द गरेपछि खुलाउन गएका प्रहरीसँग झडप भएको थियो ।
स्थिति तनावग्रस्त भएपछि सिमरामा फेरि कर्फ्यू आदेश जारी गरिएको छ । स्थिति थप बिग्रिन नदिन सीमित क्षेत्रमा कर्फ्यू लगाइएको प्रमुख जिल्ला अधिकारी मिश्रले बताए । तर, बुधबारको तुलनामा कर्फ्यू सीमित क्षेत्रमा मात्रै कर्फ्यू आदेश जारी गरेको उनको भनाइ छ ।
बुधबार एमाले बाराले आयोजना गरेको मधेश प्रदेशस्तरीय जनजागरण सभालाई सम्बोधन गर्न जाने क्रममा पार्टी महासचिव शंकर पोखरेल र नेता महेश बस्नेतलगायतलाई रोक्न भन्दै जेनजी समूहले विरोध गरेपछि स्थित बिग्रिएको थियो । विरोधका कारण पोखरेल र बस्नेत सिमरा जानै नपाई त्रिभुवन विमानस्थलबाटै फर्किएका थिए ।
स्थिति तनावग्रस्त भएपछि बुधबार पनि विमानस्थल आसपासका क्षेत्रमा कर्फ्यू लगाइएको थियो ।
एमाले कार्यकर्ताहरू आएर कुटपिट गर्न थालेपछि अवस्था बिग्रिएको बाराका जेनजी प्रतिनिधिहरूले बताएका छन् ।