
नेपाली कांग्रेसमा महाधिवेशन विवाद अन्त्य गर्न मध्यमार्गी समाधानको विकल्पमा छलफल अगाडि बढेको छ ।
पुस मसान्तभित्रै नियमित महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउने विषयमा दुवै पक्षबीच छलफल अगाडि बढेको हो ।
कुनै पनि हालतमा चुनावअघि महाधिवेशन गर्न नहुने अडानमा रहेको संस्थापन पक्ष केही लचिलो बनेको छ भने पुसकै लागि महाधिवेशनको कार्यतालिका आउँदा इतर पक्ष पनि तयार हुने देखिएको छ ।
सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काकै सहमतिमा रमेश लेखकले मध्यमार्गी प्रस्तावको विकल्पमा काम गरेका थिए । लेखकले पुस मसान्तभित्रै महाधिवेशन गर्ने गरी प्रस्तावित कार्यतालिका समेत तयार पारेको स्रोतको दाबी छ ।
'विशेष महाधिवेशनमा नजाऔं भन्ने हाम्रो कुरा हो,' संस्थापन पक्षकै एक प्रभावशाली नेताले लोकान्तरसँग भने, 'बरु पुस मसान्तभित्रै आवधिक महाधिवेशन गरौं भन्ने विकल्पमा छलफल भइरहेको छ ।'
संस्थापन पक्षबाट मध्यमार्गी प्रस्तावमा रमेश लेखक र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले काम गरेको उनले बताए ।
'सभापति र कार्यवाहक सभापति दुवैको कसरी हुन्छ, मिलाउनुपर्छ भन्ने कुरा छ,' ती नेताले भने, 'सभापतिकै सहमतिमा लेखकले मध्यमार्गी प्रस्तावमा काम गर्नुभएको हो ।'
पुसको तेस्रो वा अन्तिम सातामा नियमित महाधिवेशन गर्ने गरी कार्यतालिका आउन सक्ने उनको दाबी छ ।
विशेष महाधिवेशन पक्षधर एक नेताले पनि सहमतिका लागि भइरहेको प्रयास सकारात्मक दिशामा अघि बढेको लोकान्तरलाई जानकारी दिए ।
ती नेताका अनुसार मंसिर अन्तिमसम्ममा क्रियाशील सदस्यताको काम सक्ने र पुस मसान्तसम्म नियमित महाधिवेशन गर्ने गरी तालिका ल्याउने विषय सहमतिउन्मुख भएको हो ।
यद्यपि, विशेष महाधिवेशन माग्दै गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने संस्थापन पक्षको अडानमा भने के गर्ने भनेर विशेष पक्षधरले निर्णय दिन सकेको छैन ।
‘तालिका ल्याउँछौ तर, हस्ताक्षर फिर्ता लिनुपर्छ भन्ने अडान उहाँहरूको छ । हामी त्यसका लागि तयार छैनौं,’ ती नेताले भने, ‘ललिपपमात्र देखाउने गरी कार्यतालिका आउने डर पनि हामीलाई छ।’
तर, 'पार्टी विभाजन हुन्छ, कांग्रेस सकिन्छ' भन्ने भाष्य बाहिर बन्न थालेपछि सहमतिको आवश्यकता आफूहरूले पनि महसुस गरेको उनले बताए ।
‘सबैलाई तनाव छ । यहाँ पार्टी विभाजन गर्न खोजेको भन्ने आरोप पनि लागिरहेकै छ,’ उनले भने, ‘सहमतिको बैठकमा महामन्त्रीद्वयले अधिवेशन सुरू भएपश्चात् हस्ताक्षर स्वतः निष्क्रिय हुने बताइसक्नुभएको छ ।’
गगन थापा र विश्वप्रकाश शर्माको समेत पहलमा कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग्दै कार्यवाहक सभापतिलाई हस्ताक्षर बुझाएका छन् ।
यसरी हस्ताक्षर बुझाएको ३ महिनाभित्र विशेष महाधिवेशन गर्नुपर्ने बाध्यात्मक व्यवस्था विधानमा छ ।
शुरूमा संस्थापन पक्षले आगामी वैशाखमा मात्र महाधिवेशन गर्न सकिने बताउँदै आएको थियो ।
तर, महामन्त्रीद्वय पुस मसान्तभित्रै नियमित वा विशेष महाधिवेशन गर्नुपर्ने अडानमा कायम रहेपछि संस्थापन पक्ष केही लचक बनेको हो ।
दबाब बढाउँदै सात भाइ
सभापति देउवा र कार्यवाहक सभापति खड्का पुसभित्रै महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउन लचक बनेपछि पूर्व पदाधिकारीहरू भने असन्तुष्ट बनेका छन् ।
कुनै पनि हालतमा चुनावअघि महाधिवेशन गर्न नहुने अडान राख्दै आएको 'सात भाइ' समूहका नेताहरूले बिहीबार पनि सभापति देउवालाई भेट्ने तयारी गरेका छन् ।
प्रकाशमान सिंह, विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, विजय गच्छदार, कृष्ण सिटौला, शशांक कोइराला र प्रकाशशरण महतलाई कांग्रेसमा सात भाइ समूह भनेर चिन्ने गरिन्छ ।
पछिल्लो समय गच्छदार महाधिवेशनका सन्दर्भमा मझधारमा देखिन खोजे पनि अन्य छ नेताले चुनावअघि महाधिवेशन गर्न नदिन निरन्तर दबाब सिर्जना गर्दै आएका छन् ।