
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि शेयर बजार २४६० देखि २६९० बिन्दुको बीचमा घुमिरहेको छ ।
जेनजी आन्दोलनपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक अधिकतम २६८९.६७ र न्यूनतम् २४६९.३७ को बिन्दुमा कारोबार भएको छ ।
राजनीतिक परिवर्तनले नेप्से परिसूचक १३ महिनायताकै न्यून बिन्दुसम्म पुग्यो । २०८१ असोज १३ गते परिसूचक २४६४.४० को बिन्दुमा झरेको थियो । त्यसयता करिब १४ महिनापछि गत कात्तिक ९ गते ‘इन्ट्र डे’मा २४६९ सम्म झरेको थियो ।
झन्डै साढे दुई महिनाको बीचमा प्रत्येक दुई साता बजारमा तीव्र गिरावट देखियो भने दुई सातामा वृद्धि देखिएको छ । ६ साता परिसूचक घटेको छ भने ६ साता बढेको छ ।
भदौको अन्तिम साता सेयर बजारमा १६० अंकले गिरावट आएको थियो । असोज पहिलो र दोस्रो साता सेयर बजारमा १४० र ११ अंकले वृद्धि भएको देखिन्छ ।
त्यसपछि असोज तेस्रो र चौथो साता पुन: सेयर बजारमा ८१ अंक र ९५ अंकले घटेको थियो । त्यस्तै, कात्तिक महिनामा पनि पहिलो र दोस्रो साता सेयर बजारमा सामान्य वृद्धि देखियो भने दोस्रो र तेस्रो साता सामान्य गिरावट देखियो ।
मंसिर पहिलो साता नेप्से परिसूचक १४.५६ अंकले वृद्धि भएको छ भने दोस्रो साता शेयर बजारमा ११५.७४ अंकले वृद्धि भएको छ ।
पछिल्लो राजनीतिक परिवर्तन अघिदेखि नै शेयर बजार २५०० देखि २८०० सम्मको साइडवेज मुभमेन्टमा चलिरहेको सेयर विश्लेषक सुभाष ढुंगाना बताउँछन् ।
आन्दोलनको त्रासले बजारलाई निकै तल धकेल्ने कोशिश गरेपछि नीतिगत सहजताले माथि ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उनको विश्लेषण छ ।
‘अहिले बजार २५००–२७०० को साइडवेज मुभमेन्टमा चलिरहेको हो । यसबीचमा सामान्य अंक तलमाथि खिचिएको देखिन्छ । आन्दोलनपछि बजार निकै तल गइरहेको थियो । तर, नीतिगत सहजताले बजारलाई धेरै तल झर्न दिएन र माथि ल्याउने प्रयास भयो’, उनले भने, ‘अब मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले पनि महत्त्वपूर्ण भूमिका खेल्छ । नीतिगतरूपमा पुँजी बजारका लागि सहज वातावरण बनेको देखिन्छ ।’
राजनीतिक परिवेशमा चलिरहेको शेयर बजार पछिल्लो जेनजी आन्दोलनपछि अनिश्चित बनेको विश्लेषक गोपाल भट्ट बताउँछन् । लगानीकर्ताले दीर्घकालीन सोचेर लगानी गर्ने भएकाले अत्यधिक घट्न र बढ्न नसकेको उनको भनाइ छ ।
‘हाम्रो सेयर मार्केट पोलिटिकल कुराहरूबाट गाइडेड हो । पछिल्लो मुभमेन्टपछि बजारमा लगानीकर्ताहरू वेट एन्ड सीको अवस्था देखिएका छन्’, विश्लेषक भट्टले भने, ‘लागनीकर्ताहरूले स्थिरता खोजिरहेको अवस्था छ । होइन भने अहिलेको नीतिगत सहजताले बजार ३००० भन्दा माथि जानुपर्ने हो । केवल कन्फिडेन्सको कमी छ ।’
राजनीतिक स्थिरता सुनिश्चित भएपछि मात्रै बजार पोजेटिभ हुने उनको बुझाइ छ । बजार घट्न अथवा बढ्नका लागि लगानीकर्ताहरूसँग अहिले कुनै ठोस आधार नभएको अवस्था भएको उनको भनाइ छ । राजनीतिक सुनिश्चितता भएपछि त्यसकै आधारमा बजार बढ्न सक्ने उनको बुझाइ छ ।
यस साता यस्तो रह्यो कारोबार
मंसिर पहिलो साता सामान्य अंकले बढेको शेयर बजार दोस्रो साता ११५.७४ अंकले वृद्धि भएको छ । यस साताको पहिलो दिन आइतबार ३९.९२ अंकले बढेको थियो । पहिलो कारोबारका दिन सेयर बजारमा तीव्र उतारचढावसँगै ६ अर्ब २८ करोड रुपैयाँको कारोबार भएको थियो ।
साताको दोस्रो कारोबारका दिन सोमबार परिसूचक ५०.४४ अंकले बढेर बन्द भएको थियो । दोस्रो दिन ७ अर्ब ३ करोड रुपैयाँ बढीको कारोबार भएको थियो ।
तेस्रो कारोबारका दिन मंगलवार ५.३२ अंकले नेप्से बढ्यो । यस दिन बजारमा ५ अर्ब ८२ करोड रुपैयाँ बढीको कारोबार भएको थियो ।
बुधवार ९.६१ अंकले बढेको सेयर बजारमा साताको अन्तिम कारोबार दिन १०.४३ अंकको वृद्धि भयो । बिहीबार परिसूचक १०.४३ अंकले बढेर २६७६.०३ बिन्दुमा बन्द भएको छ ।