०२ साउन २०८३, शनिबार
एमाले प्रतिनिधि छनोट विवाद

धनकुटामा ईश्वर पोखरेल पक्ष पेलियो, मोरङमा ओली समूहका नेतालाई धकेलियो !

मंसिर १३, २०८२
विराटनगर
धनकुटामा ईश्वर पोखरेल पक्ष पेलियो, मोरङमा ओली समूहका नेतालाई धकेलियो !
पर्शुराम बस्नेत ।

नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट प्रक्रिया कोशी प्रदेशमा शक्ति संघर्षको मैदान बनेको छ।  

धनकुटामा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल निकट समूहलाई पाखा लगाइएको  छ भने मोरङमा अध्यक्ष केपी शर्मा ओली समूहको नेतामाथि अभद्र व्यवहार गरिएको छ ।

धनकुटामा पोखरेल निकट मानिने इन्द्रमणी पराजुली नेतृत्वको समूहलाई रणनीतिक रूपमा पाखा लगाइएको छ । ओली समूहका नेता राजेन्द्र राईमाथि सहमति गर्ने बहानामा विपक्षीका उम्मेदवारी फिर्ता गराएर अन्तिम समयमा धोका दिएको आरोप लागेको छ ।

असन्तुष्ट पक्षका नेता पराजुलीले आज पत्रकार सम्मेलन गर्दै निर्वाचन प्रक्रियालाई पूर्ण रूपमा अस्वीकार गरेका छन् । उनका अनुसार राति ११ बजेसम्म दुवै पक्षबीच सहमति भएको थियो । ‘हामीलाई ४ जना प्रतिनिधि दिने सहमति गरेपछि हामीले अन्य उम्मेदवारी फिर्ता गरेका थियौँ,’ पराजुलीले भने, ‘यो सहमति राति १२ बजे भएको हो । तर, बिहान ४ बजेतिर राजेन्द्र राईले तपाईंहरूलाई २ जना मात्रै दिने भयौं भन्नुभयो । केही समयपछि त्यो पनि दिन नसक्ने बताउनुभयो ।’

पोखरेल पक्षले पहिले सहमति गरे पछि सल्लाह नै नगरी चुनाव गरेको बताएको छ । आफूहरूलाई पेल्ने र जिल्लाबाट पत्तासाफ गर्ने सुनियोजित षड्यन्त्रका साथ यस्तो हर्कत गरिएको पोखरेल पक्षको भनाइ छ ।

विरोधस्वरूप महालक्ष्मी नगरपालिका–१, ३, ४, सहिद भूमिका–४ र धनकुटा नगरपालिका–६ मा एक भोट पनि नखसेको पराजुलीले दाबी गरेका छन् ।

यद्यपि, निर्वाचन समितिका संयोजक नहकुल राईले भने जिल्ला कमिटीको निर्देशनअनुसार नै चुनाव गराएको दाबी गरेका छन् । 

तर, कोशी प्रदेश प्रहरी कार्यालयले भने धनकुटाका सबै क्षेत्रमा मतदान नभएको पुष्टि गरेको छ । धनकुटामा असन्तुष्ट पक्षले मतपत्र समेत च्यातेका थिए । 

यता, मोरङको विराटनगरमा पनि प्रतिनिधि छनोटका क्रममा अध्यक्ष ओली पक्षधर नेताहरूको सक्रियता र वर्चस्वको लडाइँले उग्र रूप लिएको छ । 

विराटनगरको पाञ्चालीस्थित एमाले पार्टी कार्यालयमा मतदानका क्रममा धकेलाधकेल भएको छ । 

एमालेका  नेता पर्शुराम बस्नेतलाई स्थानीय नेताले धकेलेका थिए । एमाले स्रोतका अनुसार वडा नम्बर १२ का वडाध्यक्ष भानुभक्त पाठकले एकै व्यक्तिलाई अशक्त र अपाङ्गता भएकाहरूको वारिस बनाएर पटक–पटक भोट हाल्न लैजाँदा बस्नेत आक्रोशित भएका थिए ।

सार्वजनिक भिडियोमा बस्नेतले भिडमा चिच्याउँदै, ‘तपाईं अभिभावक होइन ? यसरी भोट हाल्न पाइन्छ ? भन्दै प्रश्न गरेको देखिन्छ। उनले रोक्न खोज्दा अर्को पक्षसँग धकेलाधकेल र झम्टाझम्टी भएको थियो । सुरक्षाकर्मी र अन्य कार्यकर्ताले बस्नेतलाई रोक्न निकै मेहनत गर्नुपरेको थियो ।

नेता बस्नेतले बाहिर चर्चा भएजस्तो र भिडियोमा देखिएजस्तो हातपात नभएको दाबी गरेका छन् । भिडियोमा बस्नेत आक्रोशित मुद्रामा अघि बढेको र धकेलाधकेल भएको देखिन्छ । तर उनले त्यसलाई अस्वीकार गरेका छन् । 

नेता बस्नेतले भीडभाडमा फर्किने क्रममा खुट्टा अल्झिएर लड्न खोज्दा हातपात गरेजस्तो देखिएको जिकिर गरे ।

salt training

कमेन्ट गर्नुहोस्