
संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटको फाइनलमा नेपाली टोलीले आयोजक यूएईबाट जितका लागि एक सय ४८ रनको लक्ष्य पाएको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आयोजक यूएईले निर्धारित ५० मध्ये ४५.५ ओभरमा अलआउट हुनुअघि एक सय एक सय ४७ रन बनाएको हो ।
नेपाली टोलीका बलरले प्रारम्भदेखि नै यूएईका ब्याट्सम्यानलाई दबाबमा राखेका थिए । त्यसैले टोलीको कुल स्कोर ५० रन पुग्नुअगावै यूएईले पाँच प्रभावशाली विकेट गुमाइसकेको थियो ।
तर, त्यसपछि अहमद खुदादद र नुरउल्लाह अयोबीले उत्कृष्ट साझेदारी गर्दै यूएईलाई केही राहत दिएका थिए । चौथो नम्बरमा क्रिज समाल्न आएका अहमद खुदाददले अर्धशतकीय पाली खेले ।
उनले टोलीका लागि ७१ रनको योगदान गरे । यसक्रममा उनले एक सय २६ बलको सामना गरी ६ चौका हिर्काए । उनले नुरउल्लाहसँग ५६ रनको साझेदारी गरे ।
नुरउल्लाहले पनि टोलीको खातामा २६ रन थपे । उनले ४७ बलमा दुई छक्का र दुई चौका प्रहार गरे । यसका अतिरिक्त, ओपनर आयान मिसबाह (११ रन) ले मात्र दोहोरो अंकमा रन बनाउन सके ।
नेपाली टोलीका बलर दयानन्द मण्डल एक्लैले ६ विकेट लिए । उनले ६.५ ओभरमा दुई मेडन राख्दै केवल १७ रन खर्चिए ।
अपराजित पौडेलले पनि दुई विकेट हात पारे । उनले १० ओभरमा ३९ रन खर्चिए । अशोक धामी र नितिष कुमार पटेलले पनि एक–एक विकेट लिए । यूएईले अतिरिक्त रूपमा १७ रन पायो ।

नेपाली टोली सेमिफाइनलमा मलेसियालाई नौ विकेटको फराकिलो अन्तरले हराउँदै फाइनलमा पुगेको हो । यूएईले भने सेमिफाइनलमा ओमानलाई आठ विकेटले हराएको थियो ।
यो प्रतियोगिताको फाइनलमा पुगेसँगै नेपाल र यूएई आगामी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताका लागि पनि छनोट भएका छन् ।
यो प्रतियोगिताबाट तीनवटा टोली आगामी यू–१९ एसिया कपमा छनोट हुने प्रावधान छ । अहिले मलेसिया र ओमानबीच तेस्रो स्थानका लागि खेल हुँदैछ । त्यो खेलमा विजयी हुने टोली पनि यू–१९ एसिया कपमा छनोट हुनेछ ।
नेपाल समूह ‘ए’ को र मलेसिया समूह ‘डी’ को विजेताका रुपमा सेमिफाइनलमा पुगेका थिए । समूहगत चरणमा नेपालले लगातार दुई जित हात पारेको थियो ।
नेपालले आफ्नो पहिलो खेलमा साउदी अरेबियालाई आठ विकेटले पराजित गरेको थियो । नेपाली टोलीले आफ्नो दोस्रो खेलमा हङकङलाई एक सय १९ रनको फराकिलो अन्तरले हराएको थियो ।
यो प्रतियोगितामा १४ टोलीको सहभागिता रहेको थियो । यू–१९ एसिया कपको १२औं संस्करण आगामी डिसेम्बर १२ देखि २१ तारिखसम्म यूएईमै आयोजना हुँदैछ ।
यू–१९ एसिया कपमा सहभागी हुने आठमध्ये पाँच टोलीको टुङ्गो यसअघि नै लागिसकेको थियो । भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान यसअघि नै छनोट भएका हुन् ।