०४ साउन २०८३, सोमबार
नेपाल प्रिमियर लिग

लुम्बिनी बन्यो दोस्रो संस्करणको च्याम्पियन, फाइनलमा फेरि निरीह बन्यो सुदूरपश्चिम

मंसिर २७, २०८२
काठमाडौं
लुम्बिनी बन्यो दोस्रो संस्करणको च्याम्पियन, फाइनलमा फेरि निरीह बन्यो सुदूरपश्चिम

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले जितेको छ । लुम्बिनीले शनिबार सम्पन्न फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो ।

सुदूरपश्चिम रोयल्स लगातार दोस्रो पटक फाइनलमा पराजित हुन पुग्यो । यसअघि पहिलो संस्करणको फाइनलमा सुदूरपश्चिमको टोली जनकपुर बोल्ट्ससँग पराजित भएको थियो ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको सुदूरपश्चिम रोयल्सले १९.१ ओभरमा अलआउट हुनुअघि ८५ रनमात्र बनाउन सकेको थियो ।

दोस्रो सिजनको एनपीएलमा पहिले ब्याटिङ गर्ने टोलीले बनाएको यो नै सबैभन्दा कम स्कोर हो । यसअघि लुम्बिनी लायन्सविरुद्ध नै पोखरा एभेन्जर्स एक सय ११ रनमै अलआउट भएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको लुम्बिनी लायन्सले नौ ओभरमै केवल चार विकेट गुमाएर विजय लक्ष्य पूरा गर्‍यो । दोस्रो सिजनको एनपीएलमा कुनै पनि टोलीले सबैभन्दा छिटो विजय लक्ष्य पूरा गरेको हो ।

लुम्बिनी लायन्सको जितमा ओपनर ब्याट्सम्यान दिनेश अधिकारीले ४२ रनको योगदान गरे । उनले प्रारम्भदेखि नै आक्रामक पाली खेल्दै केवल १३ बलमा पाँच छक्का र एक चौका हिर्काए ।

अर्का ओपनर डी’आर्ची सर्टले पनि १३ बलमा तीन चौकाको मद्दतले १४ रन बनाए ।  कप्तान रोहित पौडेलले १२ बलमा एक छक्का र दुई चौकाको मद्दतले १६ रन जोडे ।

निरोसन डिक्वेलाले अविजित ११  रन बनाए । सुदूरपश्चिमका बलर हेमन्त धामीले दुई तथा अविनाश बोहरा र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए ।

त्यसअघि, सुदूरपश्चिमका कुनै पनि ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेका थिएनन् । टोलीको कूल स्कोर ५० रन पुग्नुअघि नै सुदूरपश्चिमले ६ विकेट गुमाइसकेको थियो ।

प्रारम्भदेखि नै सुदूरपश्चिमका ब्याट्सम्यान लुम्बिनीका बलरको दबाबमा परेका थिए । टोली अप्ठ्यारो स्थितिमा रहँदा ओपनर इशान पाण्डेले ५१ बलमा एक चौकाको मद्दतले ३३ रन बनाए ।

अर्का ओपनर विनोद भण्डारी शून्य रनमै पेभेलियन फर्किए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका सिल्डन ज्याक्सन पनि एक रनभन्दा अगाडि बढ्न सकेनन् ।

अनुभवी खेलाडी आरिफ शेख पनि ६ रन बनाउँदै आउट भए । दीपक बोहरा र पुनित मेहराले त खातासम्म खोल्न सकेनन् ।

११ औं ओभरको खेलमा लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिए । रोहितले ११ औं ओभरको चौथो बलमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी (१३ रन) लाई रुवेन ट्रम्पलम्यानद्वारा क्याच गराए ।

सोही ओभरको पाँचौ बलमा रोहितले दीपक बोहरा (शून्य रन) लाई सन्दीप जोराद्वारा क्याच गराए । त्यसलगत्तै छैटौं बलमा रोहितले पुनित मेहरा (शून्य रन) लाई एलबीडब्लूको धरापमा पारे । छैटौँ विकेट गुमाउँदा सुदूरपश्चिम रोयल्सले केवल ४४ रन बनाउन सकेको थियो ।

हरमित सिंहले ११ बलमा एक छक्काको मद्दतले १० रन बनाए । स्कट कुग्गेलियनले आठ बलमा एक छक्काको मद्दतले १० रन बनाए । हेमन्त धामीले अविजित सात र अविनाश बोहराले एक रन बनाए ।

लुम्बिनी लायन्सका बलर रोहित पौडेलले ह्याट्रिकसहित तीन विकेट लिए । उनले किफायती बलिङ गर्दै केवल १२ रन खर्चिए ।

शेर मल्लले पनि तीन विकेट हात पारे । उनले पनि निकै किफायती बलिङ गर्दै चार ओभरमा केवल १८ रन खर्चिए ।

रुवेन ट्रम्पलम्यानले पनि तीन विकेट लिए । उनले २.१ ओभरमा केवल तीन रन खर्चिए । तिलक भण्डारीले पनि एक विकेट कुम्ल्याए । सुदूरपश्चिम रोयल्सले अतिरिक्त रूपमा चार रन पायो ।
 

salt training

कमेन्ट गर्नुहोस्