
जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूबाट गत भदौ २४ गते गरिएको आगजनीका कारण यातायात व्यवस्था विभागमा झन्डै ३ अर्ब रूपैयाँको हाराहारीमा क्षति भएको छ ।
विभागको भवनसँगै स्टोरमा रहेका इम्बोस्ड नम्बर प्लेट, सवारी चालक अनुमति पत्र( स्मार्ट कार्ड)सहित विभिन्न भौतिक सामानहरू जलेका थिए ।
विभागका आईटी निर्देशक केशव खतिवडाका अनुसार स्टोरमा रहेका २५ हजार (स्मार्ट कार्ड) लाइसेन्समध्ये पछि खोज्दा ३ हजार जति भेटे पनि २२ हजार जलेर नष्ट भएका छन् ।
त्यसैगरी, स्मार्ट लाइसेन्स प्रिन्ट गर्नका लागि विभागसँग भएको १ थान प्रिन्टिङ मशिन पनि जलेर नष्ट भएको थियो ।
अहिले २५ लाख जति स्मार्ट कार्ड छाप्न बाँकी छ । गत कात्तिक १३ गते विभाग र सुरक्षण मुद्रण केन्द्रबीच १२ लाख लाइसेन्स छाप्ने सम्झौता भएकोमा अहिलेसम्म केन्द्रले ५ हजार जति मात्र छापेर दिएको छ ।
‘अहिले अत्यावश्यक भनेर अनलाइन आवेदन दिएकाहरूको मात्र छाप्नका लागि हामीले सुरक्षण मुद्रण केन्द्रलाई पठाएका छौं,’ खतिवडाले लोकान्तरसँग भने, ‘७ हजार त्यस्ता लाइसेन्स छाप्न हामीले सुरक्षण मुद्रण केन्द्रलाई पठाएकोमा अहिलेसम्म ५ हजार छापेर दिइसकेको छ । २ हजार छाप्न अझै बाँकी छ ।’

६ महिनामा १२ लाख लाइसेन्स छाप्ने भनेर सम्झौता भएकोमा सुरक्षण मुद्रण केन्द्रको क्षमताअनुसार अब २० हजार, २५ हजार, ५० हजारदेखि १ लाखसम्मको बल्कमा अर्डर दिने उनले बताए ।
त्यसैगरी, विभागकै निर्देशक समेत रहेका मेकानिकल इन्जिनियर श्रीकान्त यादवका अनुसार जेनजी आन्दोलनका क्रममा गरिएका आगजनीबाट १ अर्ब १२ करोड रूपैयाँको इम्बोस्ड नम्बर प्लेट समेत जलेर नष्ट भएको थियो ।
‘विभागले आपूर्तिकर्ता कम्पनी डेकाटुर टाइगर आईटीबाट बुझिसकेको ४ लाख ६० हजार इम्बोस्ड नम्बर प्लेट जलेको हो । प्रति इम्बोस्ड नम्बर प्लेट १५.५० अमेरिकन डलरका हिसाबले १ अर्ब १२ करोड रूपैयाँको त्यसमा मात्र क्षति भएको छ,’ यादवले लोकान्तरसँग भने, ‘त्यसबाहेक ह्यान्ड होल्ड डिभाइस मशिन झन्डै ८५ थान जलेको छ ।’
देशभरमा अहिलेसम्म झन्डै ८० हजारको हाराहारीमा सवारी साधनहरूमा इम्बोस्ड नम्बर प्लेट जडान भइसकेको उनले खुलाए ।
त्यसबाहेक आगजनीबाट सर्भर, विभागको भवनसहित अन्य सबै पूर्वाधारसहित झन्डै ३ अर्ब रूपैयाँको क्षति भएको उनले बताए । ३७ थान त सवारीसाधनहरू नै पूर्ण जलेर नष्ट भएको उनले खुलाए ।
यी सबै क्षति भएपनि विभाग अब विस्तारै लयमा फर्किन थालेको छ । स्मार्ट लाइसेन्ससम्बन्धी वितरणको काम समेत थालिसकिएको छ । विभागको परिसरमै अस्थायी रूपले काउन्टर सञ्चालन गरेर सेवाग्राहीलाई ती सेवा दिन थालिएको हो । त्यसबाहेक विभागको भवनको समेत मर्मत सम्भारको काम जारी नै छ । मर्मतको काम सकिएका कोठाहरूबाट सेवा दिन थालिएको छ ।

इम्बोस्ड नम्बर प्लेट छाप्ने आपूर्तिकर्ता कम्पनी डेकाटुर टाइगर आईटीले साढे १६ मिलियन अमेरिकन डलरको क्षतिपूर्ति विभागसँग दाबी गरेको छ ।
जेनजी प्रदर्शनका क्रममा भएको आगजनीबाट झन्डै १५.५० मिलियन अमेरिकन डलर (नेपाली रुपैयाँ २ अर्ब २२ करोड) जतिको क्षति भएको भन्दै क्षतिपूर्तिका लागि उक्त कम्पनीले पटक-पटक विभागलाई पत्राचार गरेको छ ।
जवाफमा विभागले 'इन्स्योरेन्स गरेकै होला, इन्स्युरेन्स कम्पनीबाट क्षतिपूर्ति लिनुस्' भनेर जवाफ फर्काएको विभाग स्रोतले बतायो ।
‘उक्त कम्पनीले अहिलेसम्म झन्डै ८ देखि ९ वटा पत्र पठाइसकेको छ । विभागको परिसरमा भएको सम्पत्तिको सुरक्षा गर्ने नेपाल सरकारकै दायित्व रहेकाले नेपाल सरकारले उक्त क्षतिपूर्ति दिनुपर्ने भनेर दाबी गर्दै आएको छ,’ स्रोतले लोकान्तरसँग भन्यो, ‘तर, विभागले त्यसरी आगजनीबाट हुने क्षतिबारे सम्झौतामा केही पनि नलेखिएको हुनाले सो दायित्व नेपाल सरकारको नहुने भन्दै जवाफ दिएको छ ।’
उक्त कम्पनीले अहिले तेस्रो पक्षसँग क्षतिको मूल्यांकन गरिरहेको छ । तेस्रो कम्पनीले गर्ने मूल्यांकनसहित कम्पनी अदालत पुग्ने र अदालतले दिने आदेशबमोजिम मात्र त्यस विषयमा केही निर्णय हुने स्रोतले खुलायो ।