
परम्परागत एसेस टेस्ट क्रिकेट शृंखलाअन्तर्गतको चौथो खेलका लागि अस्ट्रेलियाले आफ्नो टोलीको घोषणा गरेको छ । ‘बक्सिङ डे’ टेस्ट शुक्रबार मेलबर्नमा शुरू हुनेछ ।
चौथो टेस्टका लागि घोषित अस्ट्रेलियन टोलीमा कप्तान प्याट कमिन्स र प्रभावशाली स्पिनर नाथन लियोनलाई समावेश गरिएको छैन ।
ह्यामस्टिङको समस्याबाट पीडित लियोन शल्यक्रियाका कारण टोलीबाट बाहिरिएका हुन् । कप्तान कमिन्स पनि ढाडको समस्याबाट पीडित रहेको समाचारमा जनाइएको छ ।
शृंखलाको पहिलो र दोस्रो टेस्टमा पनि कमिन्स टोलीमा थिएनन् । तर, उनले तेस्रो टेस्ट भने खेलेका थिए । उनी फेरि चौथो टेस्टमा अनुपस्थित रहने छन् ।
अर्का प्रभावशाली खेलाडी स्टिभ स्मिथ भने चौथो टेस्टका लागि टोलीमा फर्किएका छन् । उनी तेस्रो टेस्टमा भने अनुपस्थित थिए । चौथो टेस्टमा उनले नै टोलीको कप्तानी गर्नेछन् । तीब्रगतिका बलर झाई रिचर्डसन र स्पिनर टोड मर्फीलाई टोलीमा फिर्ता बोलाइएको छ ।
पाँच टेस्टको परम्परागत एसेस शृंखला यसअघि नै अस्ट्रेलियाले जितिसकेको छ । घरेलु टोली अस्ट्रेलिया शृंखलामा ३–० ले अगाडि छ । पहिलो र दोस्रो टेस्टमा अस्ट्रेलियाले इङ्ल्यान्डलाई समान आठ विकेटले हराएको थियो । तेस्रो टेस्टमा पनि अस्ट्रेलिया ८२ रनले विजयी भएको थियो ।
चौथो टेस्टका लागि घोषित अस्ट्रेलियन टोलीमा स्टिभ स्मिथ (कप्तान), स्कट बोल्यान्ड, एलेक्स केरी (विकेटकिपर), ब्रेन्डन डगेट, क्यामरन ग्रिन, ट्राभिस हेड, जोस इङ्लिस, उस्मान ख्वाजा, मार्नश लाबुशेन, टोड मर्फी, माइकल नेसर, झाई रिचर्डसन, मिचेल स्टार्क, ज्याक वेदरल्ड र ब्यू वेबस्टर रहेका छन् ।